काठमाडौं । आइतबार बिहानदेखि सामाजिक सञ्जालमा एउटा भिडिओ भाइरल भइरहेको छ, जसमा गाईलाई ढुङ्गाले हान्दै नदीमा बगाइरहेको देखिन्छ । उक्त भिडिओ सार्वजनिक भएपछि धेरैले यसरी निर्ममतापूर्वक यातना दिने समूहलाई कारबाहीको माग गर्दै सामाजिक सञ्जालमा आक्रोश पोखिरहेका छन् ।
यसै विषयमा जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक (डीएसपी) दिलिपकुमार गिरीले टेकपानासँगको कुराकानीमा घटनामा संलग्न व्यक्तिको खोजी भइरहेको जानकारी दिए । “पशुलाई यसरी यातना दिनु भनेको गैर कानुनी हो, उनीहरूलाई कारबाहीको दायरामा ल्याउँछौँ,” डीएसपी गिरीले भने, “अहिले जिप्रका बाजुराले स्थानीय प्रहरीलाई ती मानिस पहिचान गरेर उपस्थित गराउन पत्राचार गरिसकेको छ ।”
यो घटना बाजुराको जगन्नाथ गाउँपालिका-६ काप्रेको भएको बताइएको छ । डीएसपी गिरीका अनुसार बाजुरामा दान गरिएको गाई खोला तराएर पारी पठाउने प्रथा लामो समयदेखि चल्दै आएको छ । हिन्दु धर्ममा मृत व्यक्तिको आत्माको शान्तिका लागि गौदान गर्ने चलन छ । पछिल्ला केही वर्षदेखि किरिया गर्ने ब्राह्मणले गाई नलिने भएपछि त्यहाँ दान गरिएका गाईहरूलाई नदी पारी पठाउने गरिएको छ । यसरी नदी वारीको गाई पारी पुगेपछि पारीका व्यक्तिले पाल्छन् र उनीहरूले पनि त्यसरी नै अन्य दान गरिएका गाई नदी तराएर वारी पठाउँछन् । “पछिल्लो समय भाइरल भिडिओमा देखिएको घटनामा मानिसहरूको खास नियत गाईलाई यातना दिने भन्ने होइन,” डीएसपी गिरीले भने, “गाईलाई बगाउने नियत पनि होइन । उनीहरूको नियत पितृको आत्माले शान्ति पाओस् भन्ने हो । त्यसका लागि गाई पारी पुर्याउन खोजेका हुन् ।”
तर, गाई डरले पारी जान नमानेपछि स्थानीय व्यक्तिले यातना दिँदै ढुङ्गा प्रहार गर्न थाले । यसरी पशुलाई यातना दिनु गलत भएकाले कारबाहीको प्रक्रिया अगाडि बढाइएको डीएसपी गिरीको भनाइ छ । “सबैले यातना दिन्छन् भन्ने हुँदैन । जुन गाई पारी जान मान्दैन, त्यसलाई पारी पुर्याउने प्रयास गर्दा केहीले यातना दिन्छन् । यसरी पशुलाई यातना दिनु गलत हो । यस्तो प्रथा रोक्न हामीले प्रयास गरिरहेका छौँ । तर, धर्मसँग जोडिएको कुप्रथा भएकाले चटक्कै हटाउन गाह्रो छ,” उनले थपे ।