close

अकाउन्ट सस्पेन्सन चेतावनीसहित अलर्ट मेसेजको नाममा खल्ती प्रयोगकर्तामाथि स्क्यामरको निशाना !

टेकपाना टेकपाना

चैत २७, २०८१ १७:२१

अकाउन्ट सस्पेन्सन चेतावनीसहित अलर्ट मेसेजको नाममा खल्ती प्रयोगकर्तामाथि स्क्यामरको निशाना !

काठमाडौँ । डिजिटल वालेट खल्तीले आफ्नो नाम दुरुपयोग गरी फिशिङ आक्रमण भइरहेको भन्दै प्रयोगकर्तालाई सजग रहन आग्रह गरेको छ । सामाजिक सञ्जालमा एक सूचना जारी गर्दै कम्पनीले यस्तो स्क्यामबाट जोगिन सावधानी अपनाउन अनुरोध गरेको हो । 

पछिल्लो समय ‘THE_Alert’ नामबाट भ्रामक मेसेजहरू पठाई व्यक्तिगत विवरण माग्ने र शंकास्पद लिङ्कमा क्लिक गर्न लगाउने प्रयास भइरहेको छ । इसेवाले पनि मंगलबार एक सूचना जारी गर्दै यस्तो स्क्यामबाट बच्न अपिल गरेको थियो ।

खल्तीको नाममा पठाइएको नक्कली मेसेजमा अकाउन्ट सस्पेन्ड भएको र इन्फर्मेसन कन्फर्म अनुरोध गरिएको छ । कम्पनीले यस्ता मेसेज खल्तीबाट नपठाएको स्पष्ट पार्दै प्रयोगकर्तालाई यस्ता भ्रामक मेसेजको पछि नलाग्न, कुनै पनि शंकास्पद लिङ्कमा क्लिक नगर्न र आफ्नो व्यक्तिगत वा वित्तीय विवरण कसैलाई पनि प्रदान नगर्न अनुरोध गरेको छ ।

“...THE_Alert नामबाट ‘Account suspension भयो, तपाईँको खातामा समस्या आयो’ भन्दै तपाईँको व्यक्तिगत विवरण मागिएको Phishing / Fraud / Scam message बाट सचेत रहनुहोस् । सो लिंक क्लिक गरी आफ्ना विवरणहरू शेयर नगर्नुहोस्,” खल्तीले सूचनामा भनेको छ । 

यस्ता नक्कली मेसेजहरूबाट प्रयोगकर्तालाई झुक्याएर उनीहरूको गोप्य जानकारी (जस्तै पासवर्ड, एमपिन, ओटिपी) हासिल गरी वालेट दुरुपयोग गर्ने उद्देश्य स्क्यामरहरूको रहेको देखिन्छ ।  साथै यस्ता मेसेज आए खल्तीको ह्वाट्सएप नम्बर ९८०११६५५६१, फेसबुक पेज (@khalti.official) र ईमेल ​​([email protected]) मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

फिशिङ स्क्याम कसरी हुन्छ ?

इसेवामा देखिएको घटनाजस्तै स्क्याम मेसेजमा क्लिक गर्दा प्रयोगकर्ता खल्तीको जस्तो देखिने नक्कली वेबसाइटमा पुग्छन् । त्यहाँ प्रयोगकर्ताले मोबाइल नम्बर, पासवर्ड वा एमपिन हाल्नुपर्छ ।

त्यसपछि स्क्यामरहरूले ती विवरण प्रयोग गरेर वास्तविक खल्ती खातामा लगइन गर्न खोज्छन् । लगइनका लागि पठाइएको ओटिपी पनि मागिन्छ । प्रयोगकर्ताले ओटिपी हाल्नेबित्तिकै स्क्यामरहरूले खातामा पहुँच पाउँछन् र रकमसँगै खाता दुरुपयोग गर्न सक्छन् ।

कसरी बच्ने ?

१. शंकास्पद मेसेज डिलिट गर्नुहोस्: ‘THE_Alert’ वा अन्य अपरिचित स्रोतबाट आएका खातासम्बन्धी समस्या र अकाउन्ट सस्पेन्ड सम्बन्धी मेसेजहरू नखोल्नुहोस् ।
२. लिङ्कमा क्लिक नगर्नुहोस्: अपरिचित वा अविश्वसनीय स्रोतबाट आएका लिङ्कहरूमा कहिल्यै पनि क्लिक नगर्नुहोस् ।
३. गोप्य विवरण शेयर नगर्नुहोस्: खल्ती वा कुनैपनि वित्तीय सेवा प्रदायकले पासवर्ड, एमपिन वा ओटिपी माग्दैनन् ।
४. खल्तीको आधिकारिक एप वा वेबसाइट मात्र प्रयोग गर्नुहोस्: कारोबार तथा खाताको अवस्था हेर्न khalti.com वा खल्ती एपमात्र प्रयोग गर्नुहोस् ।
५. सन्देह लागेमा आधिकारिक माध्यममा सम्पर्क गर्नुहोस्: कुनै समस्या परेमा स्क्याम मेसेजमा दिइएको नम्बर वा लिंक प्रयोग नगरी खल्तीको आधिकारिक सेवा केन्द्रमा सम्पर्क गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: चैत २७, २०८१ २१:३२