काठमाडौँ । डिजिटल बोर्ड ह्याक गरेको आरोपमा १६ वर्षीय एक किशोर पक्राउ परेका छन् । प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले ती किशोरलाई बुधबार काठमाडौँबाट नियन्त्रणमा लिएको हो।
"राष्ट्रपति भवन पछाडि रहेको रोटरी क्लबको डिजिटल बोर्ड ह्याक गरेर प्रधानमन्त्रीविरुद्धको नारा लेखिएको थियो। सोही बोर्डको प्रविधिमार्फत रिभर्स इन्जिनियरिङ गरी परीक्षण गर्दा किशोरको विवरण पत्ता लगायौं र त्यसपछि नियन्त्रणमा लियौं," अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले टेकपानालाई भने ।
प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरीले ती किशोरलाई यस्तो कार्य किन गरियो भनेर सोधपुछ गरेको थियो। किशोरले "प्रधानमन्त्रीविरुद्ध बोल्ने लहर चलेको बेला आफूले पनि डिजिटल बोर्ड ह्याक गरेको" बताएका छन्। हालसम्म उनी कुनै समूहबाट परिचालित भएको पुष्टि नभएको प्रहरी अधिकारीले जनाएका छन्।
यसरी चर्चा पाउने वा कुनै संस्थालाई बदनाम गर्ने उद्देश्यले अरूको लहैलहैमा लागी डिजिटल बोर्डमा अनधिकृत पहुँच लिनु कानुनी रूपमा आपराधिक हो । साइबर ब्युरोका प्रहरी उपरीक्षक दीपकराज अवस्थीका अनुसार, यस्ता कार्यले विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४५ अनुसार कारबाही हुन सक्छ ।
उक्त दफामा भनिएको छ, "कुनै व्यक्तिले कुनै कम्प्युटरमा रहेको कार्यक्रम, सूचना वा तथ्याङ्कमा पहुँच प्राप्त गर्ने उद्देश्यले अनुमति नलिई पहुँच गरेमा वा अनुमति लिएको भए तापनि त्यसको सीमाभन्दा बाहिर गएर कुनै कार्य गरेमा, त्यस व्यक्तिलाई कसुरको गम्भीरता हेरी दुई लाख रुपैयाँसम्म जरिवाना, तीन वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।"
हालको समयमा डिजिटल बोर्ड ह्याक गरेर अश्लील शब्द, प्रेमसम्बन्धी सन्देश तथा राजनीतिज्ञहरूलाई गालीगलौज गर्ने प्रवृत्ति बढ्दो छ । सामान्य मोबाइल एपमार्फत पनि डिजिटल बोर्डको पहुँच लिन सकिने भएकाले यस्ता गतिविधिहरू बढेका छन् ।