काठमाडौँ । फिनटेक क्षेत्रको विकास र अन्तर्राष्ट्रिय सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यसहित काठमाडौँ “युनियनपे नेपाल फिनटेक फेस्टिभल २०२५ पावर्ड बाई नेपाल क्लियरिङ हाउस” आयोजना हुने भएको छ । काठमाडौँ फिनटेक र फिनटेक अलायन्स नेपालको सहकार्यमा आगामी २५ वैशाखमा हुने यो कार्यक्रमलाई नेपालमा अहिलेसम्मकै ठुलो फिनटेक सम्मेलनका रूपमा प्रस्तुत गरिएको छ ।
कार्यक्रमलाई ग्लोबल फिनटेक अलायन्स, एसिया फिनटेक अलायन्स, फिनटेक कन्भर्जेन्स काउन्सिल, इन्टरनेसनल डिजिटल इकोनोमिज एसोसिएसन, इन्डियन फाइनान्सियल फोरम, पीएसपी एसोसिएसन लगायतका संस्थाले समर्थन गरेका छन् ।
कार्यक्रममा डीबीएस बैंकका पूर्व चिफ इनोभेसन अफिसर नील क्रस, कोटाक महिन्द्रा बैंकका पूर्व चिफ डिजिटल अफिसर दीपक शर्मा, द डिजिटल फिप्थका सीईओ समीर सिंह जैनी, लाइरा नेटवर्कका सीईओ राजेश देसाई लगायत चर्चित फिनटेक विशेषज्ञहरूको सम्बोधन रहनेछ ।
कार्यक्रम नेपाल राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको विशेष आतिथ्यमा सम्पन्न हुनेछ । साथै राष्ट्र बैंकका उच्च पदस्थ अधिकारी, विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रमुखहरूको पनि सहभागिता रहने बताइएको छ ।
कार्यक्रममा फिनटेक प्रविधि र समाधानको प्रदर्शनी, उत्पादन प्रस्तुतीकरण तथा फिनटेक कम्पनीहरूबिच सहकार्यका सम्झौता आदिको विशेष प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।
नियामक निकायका प्रतिनिधि, बैंकर्स, फिनटेक व्यवसायी, शैक्षिक विज्ञहरू, तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहने कार्यक्रमलाई नेपाल र दक्षिण एसियामा फिनटेक विकासको कोसेढुङ्गाका रूपमा हेरिएको छ ।