close

नेपालमा ५० बढी विश्वविद्यालयका उपकुलपतिहरूको उपस्थितिमा ‘एचयूसी स्टेकहोल्डर्स रिट्रिट’ आयोजना हुँदै

टेकपाना टेकपाना

चैत ३, २०८२ १४:२३

नेपालमा ५० बढी विश्वविद्यालयका उपकुलपतिहरूको उपस्थितिमा ‘एचयूसी स्टेकहोल्डर्स रिट्रिट’ आयोजना हुँदै

काठमाडौँ । हिन्दु कुश हिमालय क्षेत्रको विकासका लागि समन्वय, सञ्चार र सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौं विश्वविद्यालयस्थित हिमालयन युनिभर्सिटी कन्सोर्टियमको सचिवालयले यही ४-५ चैतमा ‘एचयूसी स्टेकहोल्डर्स रिट्रिट’ आयोजना गर्ने भएको छ ।

गत २४ मंसिरमा एक कार्यक्रमका बीच अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले एचयूसी सचिवालयको जिम्मेवारी काठमाडौँ विश्वविद्यालयलाई हस्तान्तरण गरेको थियो । सोही जिम्मेवारीअन्तर्गत आयोजना हुन लागेको यस रिट्रिटमा ५० भन्दा बढी विश्वविद्यालयका उपकुलपतिहरू, विभिन्न देशका राजदूतहरू र प्राज्ञिक संस्थाका निर्देशक लगायतका उच्च पदाधिकारीहरूको सहभागिता रहनेछ ।

कार्यक्रमबारे जानकारी दिँदै काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा. डा. अच्यूत वाग्लेले यो रिट्रिट विश्वव्यापी र बहुपक्षीय पद्धति अवलम्बन गरी कन्सोर्टियमको कार्ययोजना र वित्तीय दिगोपना सुनिश्चित गर्न केन्द्रित हुने बताए । साथै, यति ठुलो संख्यामा उपकुलपतिहरूको उल्लेखनीय सहभागिता रहने यस्तो प्रकारको रिट्रिट नेपालमा पहिलो पटक आयोजना हुन लागेको पनि उनले जानकारी दिए ।

यस कन्सोर्टियमले खाद्य-ऊर्जा-पानी, हिउँमण्डल (क्रायोस्फेयर), विपद् जोखिम न्यूनीकरण, परम्परागत तथा आदिवासी ज्ञान प्रणाली, जलवायु परिवर्तन, कार्बन तटस्थता, हिमालयन कृषि र हरित अर्थतन्त्र लगायतका १२ वटा प्रमुख कार्यक्षेत्रहरूमा काम गर्दै आएको छ । यी कार्यक्षेत्रहरू केवल परिधीय विषयमा मात्र सीमित नरही आगामी आधा शताब्दीसम्म यस क्षेत्रको भविष्य निर्धारण गर्न निर्णायक हुने प्रा. डा. वाग्लेले उल्लेख गरे ।

इसिमोडका महानिर्देशक डा. पेमा ग्याम्सोले हिमालयन युनिभर्सिटी कन्सोर्टियमले विश्वव्यापी ज्ञान साझेदारीमा विशिष्ट स्थान बनाएको बताए । उनले यस कन्सोर्टियमका सदस्य विश्वविद्यालयहरूलाई १९ राष्ट्रमा मात्र सीमित नराखी रणनीतिक पद्धति र बौद्धिक विविधताका आधारमा एचयूसीको अभिन्न अङ्गका रूपमा विस्तार गर्दै लैजानुपर्नेमा जोड दिए ।

सचिवालय सम्बन्धी थप जानकारीका लागि एचयूसीको आधिकारिक वेबसाइटमा हेर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: चैत ३, २०८२ १४:४३