close

मोबाइलबाटै पीडीएफमा यसरी गर्नुहोस् हस्ताक्षर

टेकपाना टेकपाना

बैशाख २०, २०८२ २२:४७

मोबाइलबाटै पीडीएफमा यसरी गर्नुहोस् हस्ताक्षर

काठमाडौँ । आजको डिजिटल युगमा हस्ताक्षर आवश्यक पर्ने कागजातका पीडीएफ वा अन्य डिजिटल फाइलका रूपमा बढी आउँछन् । यस्तो फाइल प्रिन्ट गरेर हस्ताक्षर गर्ने अनि फेरि स्क्यान गरेर पठाउने काम निकै झन्झटिलो हुन्छ । डिजिटल रूपमै हस्ताक्षर गर्न सकिने भयो भने हाम्रो काम पनि छिटो हुन्छ भने प्रिन्ट र स्क्यान गर्ने झन्झट पनि गरिरहनु पर्दैन ।

तपाईं आफ्नो आईफोन वा एन्ड्रोइड फोनबाट यस्ता कागजातमा सजिलै हस्ताक्षर गर्न सक्नुहुन्छ । दुवै प्रकारका फोनबाट कागजातमा छिटो हस्ताक्षर थप्न, नयाँ कपी बनाएर सुरक्षित राख्न र पठाउनका लागि फोनमा पहिले नै विभिन्न फिचर उपलब्ध गराइएका हुन्छन् ।

यी फिचर तत्कालको आवश्यकताका लागि निकै उपयोगी छन् । तर तपाईंलाई त्यस्ता पीडीएफ वा अन्य फर्म्याटका कागजातमा धेरै हस्ताक्षर गरिरहनु पर्नेछ भने फोनका यी फिचर पर्याप्त नहोलान् । यसका लागि तपाईंले ‘DocuSign’ र ‘Microsoft365’ जस्ता टुल प्रयोग गर्नुपर्ने हुन सक्छन् ।

तपाईंको हस्ताक्षर आवश्यक पर्ने अधिकांश कागजात भने छोटा र साधारण हुन्छन् । यसले गर्दा एप्पलको मार्कअप टुल र गुगल ड्राइभ तपाईंका लागि पर्याप्त हुन सक्छन् ।

एन्ड्रोइड वा आईफोनमा गुगल ड्राइभ प्रयोग गरेर हस्ताक्षर गर्ने तरिका

गुगल ड्राइभ एप लगभग सबै एन्ड्रोइड फोनमा पहिल्यै इन्स्टल हुन्छ भने आईफोनमा पनि डाउनलोड गर्न सकिन्छ । यसमा कागजातमा हस्ताक्षर गर्न सजिलो बनाउने मार्कअप टुलहरू हुन्छन् ।

एन्ड्रोइडमा ड्राइभ एप प्रयोग गरेर कसरी हस्ताक्षर गर्ने ?

  • सबैभन्दा पहिले तपाईंले हस्ताक्षर गर्न चाहनुभएको पीडीएफ फाइल गुगल ड्राइभमा खोल्नुहोस् ।

  • फाइलको प्रकार अनुसार तपाईंले स्क्रिनमा पेन्सिल चिन्ह भएको ‘Edit’ को अप्सन वा घुमाउरो रेखा भएको पेन चिन्ह भएको ‘Annotate’ को विकल्प देख्नुहुनेछ ।
    यदि ‘Edit’ अप्सन छ भने तपाईंले ‘Form Filling’ को अप्सन छानेर आवश्यक जानकारी टाइप गर्न सक्नुहुन्छ ।
    यदि ‘Annotate’ अप्सन मात्र छ भने त्यसमा ट्याप गरेर पेन टुल खोल्नुहोस् र आफ्नो हस्ताक्षर गर्न सक्नुहुन्छ ।

नोट: गुगल ड्राइभले सधैं ‘Form Filling’ आवश्यक पर्ने पीडीएफलाई पहिचान नगर्न सक्छ । यदि तपाईंलाई धेरै टेक्स्ट थप्नु छ भने अन्य सेवा प्रयोग गर्नु राम्रो हुन सक्छ ।
आफ्नो काम सकिएपछि आफूले गरेको परिवर्तन सेभ गर्न माथि दायाँपट्टि रहेको ‘Save’ मा ट्याप गर्नुहोस् । यदि तपाईं हस्ताक्षरसहितको छुट्टै कपी बनाउन चाहनुहुन्छ भने तीन ओटा डट भएको ‘More’ बटनमा ट्याप गरेर ‘Save as’ छान्नुहोस् र सेभ गर्नुहोस् ।

आईफोनमा ड्राइभ एप प्रयोग गरेर कसरी हस्ताक्षर गर्ने ?

आईफोनमा गुगल ड्राइभ एपको हस्ताक्षर गर्ने फिचर केही सीमित छ । एपमा पीडीएफ खोलेपछि तलपट्टि ‘Fill out form’ को अप्सन देखिन्छ । यसले गुगल ड्राइभले फारम भर्न सक्छ कि सक्दैन भनेर संकेत गर्छ । यसमा एन्ड्रोइडमा जस्तो ‘Annotate’ अप्सन हुँदैन । त्यसैले आईफोन प्रयोगकर्ताका लागि एप्पलको आफ्नै मार्कअप टुल बढी उपयोगी हुन्छ ।

आईफोनमा एप्पलको मार्कअप टुल प्रयोग गर्ने तरिका

एप्पलको मार्कअप टुलले कागजात र फोटोमा टेक्स्ट, चित्र, इमोजी र हस्ताक्षर थप्न सघाउँछ । यो टुल तपाईंले आईओएसमा विभिन्न ठाउँबाट प्रयोग गर्न सक्नुहुन्छ । उदाहरणका लागि पीडीएफ हेर्दा सिधै वा एप्पलको शेयर मेनुबाट फेला पार्न सक्नुहुन्छ ।

  • सबैभन्दा पहिले तपाईंले हस्ताक्षर गर्न चाहेको पीडीएफ फाइल खोल्नुहोस् ।
  • त्यसपछि तपाईंले प्रयोग गरिरहनुभएको एप अनुसार स्क्रिनको तल दायाँ कुनामा एउटा गोलोभित्र पेनको टुप्पो भएको मार्कअप टुलको आइकन देखिन्छ ।
  • यदि देखिएन भने माथितिर फर्केको एरो भएको वर्गाकार ‘Share’ आइकनमा ट्याप गर्नुहोस् र पप-अप मेनुमा ‘Markup’ खोजेर ट्याप गर्नुहोस् ।
  • मार्कअप अन भएपछि तपाईंले विभिन्न पेन टुल प्रयोग गरेर सिधै कागजातमा कोर्न सक्नुहुन्छ तर हस्ताक्षर गर्नका लागि ती प्रयोग नगर्नुहोस् । बरु मार्कअप मेनुमा (प्रायः माथिल्लो पङ्क्तिमा) पेन्सिलसहितको ‘Signature’ आइकनमा ट्याप गर्नुहोस् ।
  • त्यसपछि स्क्रिनको तल दायाँतिर ‘+’ आइकन देखा पर्नेछ । त्यसमा ट्याप गरेपछि ‘Add Text Form Box’ वा ‘Add Signature’ मध्ये एक छान्नुहोस् । पहिलो अप्सन टेक्स्ट टाइप गर्नका लागि हो भने दोस्रो हातले हस्ताक्षर कोर्नका लागि हो ।
  • टेक्स्ट बक्स थप्दा तपाईंले पहिले टेक्स्ट बक्सलाई तानेर र आकार बदलेर मिलाउन सक्नुहुन्छ । त्यसपछि बक्सभित्र ट्याप गरेर किबोर्डमार्फत टेक्स्ट टाइप गर्नुहोस् । सकिएपछि टेक्स्ट बक्सबाहिर ट्याप गर्नुहोस् र माथि दायाँ कुनामा ‘Done’ अप्सनमा ट्याप गर्नुहोस् ।
  • हस्ताक्षर थप्दा: पप-अप मेनुमा आफ्नो औंलाले हस्ताक्षर गर्नुहोस् । यो हस्ताक्षर भविष्यमा प्रयोग गर्नका लागि त्यही सेभ गर्न सकिन्छ । हस्ताक्षर गरेपछि ‘Done’ अप्सनमा ट्याप गर्नुहोस् ।
  • अब तपाईंले हस्ताक्षरलाई कागजातमा राखेर औंलाले तानेर, सार्न र आकार बदल्न सक्नुहुन्छ । दुवै अवस्थामा (टेक्स्ट बक्स वा हस्ताक्षर) तपाईंले प्रत्येक बक्ससँगै देखिने तीनवटा डट (...) भएको अप्सन आइकनमा ट्याप गरेर ‘Cut’, ‘Copy’, ‘Duplicate’ वा ‘Delete’ गर्न सक्नुहुन्छ ।
  • सबै काम सकिएपछि ‘Done’ अप्सनमा ट्याप गर्नुहोस् वा हस्ताक्षर गरिएको कागजातलाई इमेल वा क्लाउड स्टोरेज जस्ता अन्य एपमा पठाउन ‘Share’ आइकन प्रयोग गर्नुहोस् ।

यसरी तपाईं आफ्नो स्मार्टफोन प्रयोग गरेर सजिलैसँग डिजिटल कागजातमा हस्ताक्षर गर्न सक्नुहुन्छ र आफ्नो काम छिटो पूरा गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: बैशाख २०, २०८२ २२:४७