काठमाडौँ । नेपाल प्रहरीले राजधानीमा निःशुल्क बस सेवा सुरु गरेको छ । राइड शेयरिङ सेवाको विरोधमा सार्वजनिक यातायात व्यवसायीले हड्ताल गरेपछि यात्रुको सहजताका लागि निःशुल्क बस सेवा सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ ।
प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले सोमबारका लागि निःशुल्क बस सञ्चालनमा ल्याएको जानकारी दिए । “सर्वसाधारणलाई गन्तव्यमा पुग्नै समस्या भएपछि हामीले निःशुल्क बस सेवा सञ्चालनमा ल्याएका छौं,” प्रहरी वरिष्ठ उपरीक्षक थापाले टेकपानासँग भने, “हामीसँग भएका दुई ओटै बस सञ्चालन गर्दैछौं । भोलि (मंगलबार) के हुन्छ भन्ने विषयमा भोलि नै निर्णय हुन्छ ।”
उनका अनुसार हाललाई दुई ओटा रुटमा बस सञ्चालन गरिएको छ ।
रुट नं. १ मा चल्ने बस नयाँ बसपार्कबाट बालाजु, स्वयम्भू, कलङ्की, बल्खु, सातदाेबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक, जयनेपाल, नक्साल, बालुवाटार, टिचिङ, चक्रपथ हुँदै नयाँ बसपार्कसम्म चल्नेछन् ।
यस्तै रुट नं. २ मा चल्ने बसहरू गौशालाबाट एयरपोर्ट, कोटेश्वर, ठिमी, सूर्यविनायकसम्म बस पुग्नेछन् । सोही रुट हुँदै फर्कने बसले चाबहिल, सुकेधारा, महाराजगञ्ज, टिचिङ, बालुवाटार, रातोपुल, हुँदै पुनः गौशालासम्म सेवा दिनेछन् ।
निःशुल्क बस सेवाले हड्तालका कारण समस्यामा परेका यात्रुलाई राहत दिने प्रहरीको विश्वास छ । प्रहरीले यो सेवालाई अझै प्रभावकारी बनाउन थप रुट र बस व्यवस्थापन गर्ने योजना बनाइरहेको जानकारी दिएको छ ।