काठमाडौँ । डिजिटल वित्तीय साक्षरतामा युवा पुस्तालाई संलग्न गराउने उद्देश्यसहित फोनपेले ‘स्टुडेन्ट एम्बेसडर कार्यक्रम २०२५’ सार्वजनिक गरेको छ । कम्पनीले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै देशभरका विश्वविद्यालयका १५० विद्यार्थीलाई प्रतियोगितामार्फत छनोट गरिएको जानकारी दिएको हो ।
१७ जेठदेखि सुरु भइ आगामी ८ हप्तासम्म चल्ने यस कार्यक्रम अन्तर्गत विद्यार्थीहरूले डिजिटल भुक्तानी प्रवर्द्धन, नेतृत्व विकास, कन्टेन्ट क्रियसन लगायतका क्षेत्रमा प्रशिक्षण पाउनेछन् । सहभागी विद्यार्थीहरूले आफ्ना कलेज तथा समुदायमा फोनपे सेवाबारे सचेतना फैलाउने, अभिभावक तथा वृद्ध पुस्तालाई डिजिटल वित्तीय उपकरण प्रयोग गर्न सिकाउने लगायतका अभियान सञ्चालन गर्ने विज्ञप्तिमा उल्लेख छ ।
कम्पनीका अनुसार यस वर्ष देशभरबाट १७० भन्दा बढी टिमले आवेदन दिएका थिए, जसमध्ये प्रतिस्पर्धात्मक छनोटपछि ७५ टिम (१५० विद्यार्थी) छनोट भएका हुन् ।
फोनपेकी मार्केटिङ प्रमुख सलिना नकर्मीले युवा पुस्ताको नेतृत्व क्षमतामा विश्वास राख्दै यो कार्यक्रम डिजिटल समावेशीता र सामाजिक प्रभावमा योगदान पुर्याउने लक्ष्यले सुरु गरेको बताइन् ।
कार्यक्रमको विशेष पक्ष “Time to Teach Back” नामक पहल पनि छ, जसअनुसार विद्यार्थीहरूलाई अभिभावक र वृद्ध पुस्तालाई डिजिटल प्रयोग सम्बन्धि सिकाउन लगाइने कम्पनीले जनाएको छ ।
विद्यार्थीहरूले मार्केटिङ, डिजाइन थिङ्किङ, डिजिटल फाइनान्स लगायतका विषयमा समेत प्रशिक्षण लिने बताइएको छ । साथै, सहभागीमध्ये उत्कृष्ट टिमहरूले म्याकबुक एयर जस्ता पुरस्कार जित्ने मौका पाउने कम्पनीले जनाएको छ । केही विद्यार्थीलाई एफवान सफ्ट ग्रुपमा इन्टर्नशिपको अवसर पनि दिइनेछ ।