काठमाडौँ । घरजग्गा कारोबारमा विद्युतीय भुक्तानी प्रणालीको प्रयोग अनिवार्य हुने भएको छ । भूमि व्यवस्था तथा अभिलेख विभागले गत जेठ १३ गते ‘सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन २०८२’ जारी गर्दै यस्तो व्यवस्था लागु गरेको हो ।
निर्देशनअनुसार अबदेखि घरजग्गा कारोबार गर्दा सूचक संस्थाले क्रेता र बिक्रेता दुवैको केवाईसी फाराम अनिवार्य रूपमा भर्नुपर्नेछ । उक्त फाराम भू-सेवा केन्द्र रहेको स्थानमा केन्द्रले र नभएको स्थानमा सम्बन्धित कार्यालयको सर्भिस डेस्कले भर्न लगाई प्रणालीमा अपलोड गर्नुपर्नेछ ।
त्यस्तै, दश लाख रूपैयाँदेखि पचास लाख रूपैयाँसम्मको कारोबार बैङ्किङ प्रणाली वा विद्युतीय माध्यमबाट गर्नुपर्नेछ । पचास लाख रूपैयाँभन्दा माथिको कारोबार भने विद्युतीय भुक्तानी प्रणाली वा ‘गुड फर पेमेन्ट’ चेकमार्फत मात्र गर्न पाइनेछ । गुड फर पेमेन्ट चेक अनिवार्य रूपमा बिक्रेताको नाममा तयार गरिएको हुनुपर्नेछ ।
साथै, घरजग्गा कारोबारको क्रममा खरिदकर्ताको बैँक खाताबाट बिक्रेताको खातामा सो रकम जम्मा भएको प्रमाणका रूपमा बैँक स्टेटमेन्ट पनि अनिवार्य रूपमा संलग्न गर्न निर्देशन दिइएको छ ।