काठमाडौँ । पछिल्लो समय सूचना र प्रविधि क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को तीव्र विकास भइरहेको छ । यससँगै एआईका बारे दक्ष जनशक्तिको माग पनि बढ्दो छ ।
यसैलाई मध्यनजर गर्दै नेपालका विभिन्न विश्वविद्यालय तथा कलेजले छुट्टै कोर्सको रूपमा स्नातक तथा स्नातकोत्तर तहमा एआईको अध्यापन गराउन थालिसकेका छन् । यस विषयका पाठ्यक्रम कम्प्युटर प्रोग्रामिङसहित एआईका बारेमा विस्तृतमा जानकारी दिने गरी तयार पारिएका छन् । ब्याचलर्स इन एआईमा मसिन लर्निङ, डेटा साइन्स र रोबोटिक्स जस्ता विषयहरूको बारे सिकाइन्छ ।
नेपालका विश्वविद्यालयहरूले चार वर्षे कोर्सअन्तर्गत आठ सेमेस्टरमा एआई पठाउँदै आएका छन् । विज्ञान तथा प्रविधि सङ्कायअन्तर्गत रहेको यो विषय पढ्नका लागि कक्षा १२ मा विज्ञान वा गणित विषय लिएर पढेको विद्यार्थीले स्नातक तहमा यो विषय रोज्न पाउँछन् । आज हामी नेपालमा स्नातक तहमा कुन कुन विश्वविद्यालय तथा कलेजमा एआई पढाइ हुन्छ र कति शुल्क लाग्छ भनेर बताउँदै छौँ ।
काठमाडौँ विश्वविद्यालय
काठमाडौँ विश्वविद्यालयले विगत ३ वर्षदेखि 'ब्याचलर्स इन एआई' अध्यापन गराउँदै आएको छ । एआईलाई छुट्टै कोर्सको रूपमा पढाउन सुरु गर्ने यो नेपालको पहिलो विश्वविद्यालय पनि हो । डिपार्टमेन्ट अफ एआई अन्तर्गतको यो विषय पढ्न धुलिखेलस्थित विश्वविद्यालय क्याम्पसमा नै जानुपर्ने हुन्छ ।
आठ सेमेस्टरमा पढाइ हुने यस विषयका लागि ३० जनाको कोटा तोकिएको छ । तर, विद्यार्थीहरूको रुचि बढ्दै गएकाले कोटा थप्ने तयारी समेत विश्वविद्यालयले थालेको छ । काठमाडौँ विश्वविद्यालयको डिपार्टमेन्ट अफ एआईको प्रशासन शाखाका कर्मचारी रामचन्द्र वलीका अनुसार भर्ना शुल्कदेखि चार वर्षको अध्ययन पूरा गर्न ९ लाख १५ हजार रुपैयाँ शुल्क तोकिएको छ । यस्तै विश्वविद्यालयले स्नातकोत्तर तहमा 'एमटेक इन एआई' पनि पढाउँदै आएको छ ।
पूर्वाञ्चल विश्वविद्यालय
विराटनगरमा रहेको पूर्वाञ्चल विश्वविद्यालयले गत वर्षदेखि आर्टिफिसियल इन्टेलिजेन्स विषय पढाउन सुरु गरेको हो । पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ साइन्स एन्ड टेक्नोलोजीका क्याम्पस प्रमुख नरेशकुमार शाहका अनुसार गत वर्ष ३० जनाको कोटा निर्धारण गरेर “ब्याचलर्स अफ टेक्नोलोजी इन एआई”मा विद्यार्थी भर्ना लिइएको थियो ।
उनले भने, “हामी सरकारी क्याम्पस भएकाले खासै धेरै प्रचार गर्न पाउँदैनौँ । गत वर्ष कोटाभन्दा अलि कम विद्यार्थी भर्ना भए । तर यस वर्ष भने नतिजा आउनुभन्दा पहिलेदेखि नै विद्यार्थीले यस कोर्सको बारेमा बुझ्न थालिसकेका छन् ।” आङ्गिक क्याम्पस भएकाले विद्यार्थीहरूको रुचि बढ्दै जाँदा कोटा क्षमता पनि बढाउन सकिने उनको भनाई छ ।
क्याम्पस प्रमुख शाहका अनुसार विश्वविद्यालयमा आठ सेमेस्टरमा एआईको पढाइ हुन्छ । स्नातक तह पूरा गर्दा ४ लाख रुपैयाँ शुल्क लाग्छ । यसका लागि छात्रवृत्तिको पनि व्यवस्था गरिएको छ । उनले भने, “छात्रवृत्तिको लागि परीक्षा लिइन्छ । त्यसमध्ये विभिन्न कोटामा ५ प्रतिशत र बाँकी ५ प्रतिशत गरेर १० प्रतिशत छात्रवृत्ति विश्वविद्यालयले उपलब्ध गराउँछ । त्यस बाहेक क्याम्पसले पनि छात्रवृत्ति प्रदान गर्छ ।” विश्वविद्यालयले पूर्ण रूपमा अनुसन्धानमा आधारित भएर एआई विषयको अध्यापन गराउँदै आएको उनले बताए ।
लुम्बिनी प्राविधिक विश्वविद्यालय
२०७९ सालदेखि बाँकेको नेपालगन्जमा सञ्चालनमा आएको लुम्बिनी प्राविधिक विश्वविद्यालयले २०८० देखि स्नातक तहमा एआई पढाउन थालेको हो । विश्वविद्यालय क्याम्पसमा मात्र पढाइ हुने 'बी टेक इन कम्प्युटर साइन्स एन्ड एआई' आठ सेमेस्टरमा पूरा हुन्छ ।
विश्वविद्यालयका वरिष्ठ सहायक प्राध्यापक चतुर्भुज भट्टका अनुसार विश्वविद्यालयमा एआईका लागि ३६ कोटा निर्धारण गरिएको छ ।
स्नातक तहमा पूरा गर्दा पाँच लाख रुपैयाँ खर्च लाग्छ । तर, विद्यार्थीहरूलाई पढ्न सहज होस् भनेर २५ देखि सत् प्रतिशतसम्म छात्रवृत्ति उपलब्ध गराइन्छ । यस बाहेक, नगरपालिका र गाउँपालिकाले स्थानीय छात्रवृत्ति पनि उपलब्ध गराउँछन् । त्यसैले यहाँ पढ्ने अधिकांश विद्यार्थीले आंशिक छात्रवृत्ति पाउने गरेका छन् ।
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय
मकवानपुरको चित्लाङमा रहेको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले आगामी नोभेम्बरदेखि पहिलो पटक ब्याचलर्स इन एआईमा स्नातक तहमा भर्ना खुलाउँदै छ । अनुसन्धानमा आधारित भएर अध्यापन गराउँदै आएको यस विश्वविद्यालयले स्नातकोत्तर तहमा भने दुई वर्षदेखि एआई पढाइरहेको छ । यो विश्वविद्यालयको बारेमा थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।
अब भने नोभेम्बरबाट डेटा साइन्ससहितका विषयहरू समावेश गरेर आर्टिफिसियल इन्टेलिजेन्स लगायतका विषयमा स्नातक तहमा पनि भर्ना खुलाउन लागिएको हो । यसका लागि पाठ्यक्रम विकासका काम र आवश्यक छलफल भइरहेको विश्वविद्यालयका उपप्राध्यापक एवं जनसम्पर्क संयोजक डा. राजिव सुब्बाले जानकारी दिए ।
स्नातकोत्तर तहमा डेटा साइन्स अथवा एआई विषयमा एक सेमेस्टरको ७५ हजार रुपैयाँ शुल्क लिने गरेको विश्वविद्यालयले स्नातक तहमा पनि सोही स्तरको शुल्क (पुरा स्नातक तहको ६ लाख रुपैयाँ) लिने गरी शुल्क निर्धारण गर्ने तयारी रहेको उनले बताए । यद्यपि विश्वविद्यालयले विद्यार्थीलाई २५ प्रतिशतदेखि सत् प्रतिशतसम्म छात्रवृत्ति समेत प्रदान गर्दै आएको छ ।
नेपाली विश्वविद्यालय बाहेक विदेशी विश्वविद्यालयको सम्बन्धन प्राप्त क्याम्पस तथा कलेजहरूमा पनि स्नातक तहमा एआईको अध्यापन गराइन्छ । तर यी क्याम्पसहरू भने नेपाली विश्वविद्यालयको तुलनामा महँगा छन् । कक्षा १२ मा २.४ सीजीपीए ल्याउने विद्यार्थीहरूलाई यी क्याम्पसहरूले भर्ना लिने गरेको पाइन्छ ।
इस्लिङ्टन कलेज
लन्डन मेट्रोपोलिटन युनिभर्सिटीको सम्बन्धन प्राप्त इस्लिङ्टन कलेजमा बीएससी कम्प्युटिङ विथ आर्टिफिसियल इन्टेलिजेन्स पढ्न सकिन्छ । क्याम्पसका अनुसार समयअनुसार नयाँ नयाँ पाठ्यक्रम ल्याएर पढाउने गरिन्छ भने हरेक वर्ष क्याम्पसको शुल्कमा पनि फेरबदल भइरहेको हुन्छ । क्याम्पस प्रशासनका अनुसार यस क्याम्पसमा एआईमा स्नातक पुरा गर्ने हो भने करिब १८ लाख रुपैयाँ लाग्छ । कोर्सको बारेमा यहाँबाट थप जानकारी लिन सकिन्छ ।
द ब्रिटिश कलेज
युनिभर्सिटी अफ द वेस्ट अफ इङ्ल्यान्डको सहकार्यमा द ब्रिटिश कलेजले स्नातकमा बीएससी कम्प्युटर साइन्सअन्तर्गत आर्टिफिसियल इन्टेलिजेन्स अध्यापन गराउँछ । ४ वर्षे यो कोर्स आठ सेमेस्टरमा पूरा हुन्छ । क्याम्पस प्रशासन अनुसार हरेक ब्याचमा शुल्क परिवर्तन हुने गरेपनि हाल आर्टिफिसियल इन्टेलिजेन्सको पढाइ पुरा गर्न १९ लाख ५० हजारदेखि २० लाख रुपैयाँसम्म पर्छ । द ब्रिटिश कलेजको कोर्स बुझ्न यहाँ क्लिक गर्नुहोस् ।
सफ्टवेरिका
इङल्यान्डको कोन्भेन्ट्री विश्वविद्यालयअन्तर्गत रहेको यस विश्वविद्यालयमा तीन वर्षे कोर्सअन्तर्गत ६ सेमेस्टरमा बीएससी कम्प्युटर साइन्स विथ आर्टिफिसियल इन्टेलिजेन्स पढाइन्छ । अहिलेको सन्दर्भमा यो कोर्स पूरा गर्न १३ लाख २३ हजार २०० रुपैयाँ पर्ने कलेजले जनाएको छ । यो क्याम्पसको कोर्सको बारेमा विस्तृत जानकारी लिन यहाँ क्लिक गर्नुहोस् ।
एआई पढ्ने विद्यार्थीका लागि कस्तो छ अवसर ?
यो विषयमा विद्यार्थीहरूलाई एआईका साथै मसिन लर्निङ, डेटा साइन्स र प्रोग्रामिङसँगै कम्प्युटर साइन्सका अन्य विषयहरू समेत पढाइन्छ । यो विषय पढेमा नेपालमा मात्र नभइ संसारको जुनसुकै स्थानमा पनि रोजगारी पाउन सकिने जानकारहरू बताउँछन् । एआई विषय पढेर भविष्यमा एआई सफ्टवेयर डेभलपर, डेटा साइन्टिस्ट, डेटा इन्जिनियर, एआई कन्सल्टेन्ट, मसिन लर्निङ इन्जिनियर, गेमिङ एआई डेभलपर, रोबोटिक्स इन्जिनियर आदि बन्न सकिन्छ ।