बिलिङ ठेक्का खरिद प्रकरणमा निर्दोष ठहरिएपछि जिम्मेवारीमा फर्किइन् टेलिकमकी एमडी
असार २९, २०८३ १९:०
काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्वहाल भएकी छन् । टेलिकमको बिलिङ ठेक्का खरिद प्रकरणमा विशेष अदालतबाट सफाइ पाएपछि सरकारले उनलाई पुनः प्रबन्ध निर्देशकको जिम्मेवारीमा फर्काएको हो ।
सूचना तथा सञ्चार मन्त्रालयले २६ असारमा मन्त्रीस्तरीय निर्णय गर्दै पहाडीको निलम्बन फुकुवा गरेको थियो । यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साढे ३३ करोड रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेपछि उनी निलम्बनमा परेकी थिइन् ।
विशेष अदालतले गत बिहीबार अख्तियारको दाबी नपुग्ने ठहर गर्दै पहाडीसहित सबै १८ जना प्रतिवादीलाई निर्दोष सावित गरेको थियो ।
विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले चिनियाँ कम्पनी ‘एसिया इन्फो’ सँग गरिएको सम्झौताबाट टेलिकमलाई कुनै हानि नोक्सानी नभएको फैसला गरेको छ । अख्तियारले मूल सम्झौतामा भएको ५ प्रतिशत छुट पछिल्लो सम्झौतामा नलिएर भ्रष्टाचार गरिएको दाबी गरे तापनि अदालतले त्यसको सट्टा कम्पनीले १३ वटा नयाँ हार्डवेयर मोड्युल र सफ्टवेयरहरू निःशुल्क उपलब्ध गराएको र त्यसको मूल्य छुट पाउने रकमभन्दा बढी देखिएकाले कम्पनीलाई उल्टै लाभ भएको ठहर गरेको छ ।
साथै, अदालतले टेलिकमका पदाधिकारीहरूले व्यक्तिगत लाभ लिने बदनियत नराखी कम्पनीको हितमा काम गरेको र नयाँ बिलिङ प्रणाली खरिदमा ढिलाइ भइरहेको अवस्थामा सेवा सुचारु राख्न सो सम्झौता गर्नु बाध्यात्मक विकल्प रहेको समेत स्पष्ट पारेको छ ।
पदबहालीपछि कर्मचारीहरूलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक अर्यालले संस्था र देशको हितमा निष्ठापूर्वक काम गर्न डराउनु नपर्ने बताइन् । विगतमा कर्मचारीहरूमाथि लागेका आरोप र भ्रमका बादल हटेर अन्ततः सत्य स्थापित भएको उनले उल्लेख गरिन् । आफ्नो अनुपस्थितिमा संस्थालाई सफल नेतृत्व र सहयोग गर्ने सम्पूर्ण टिमलाई उनले धन्यवाद समेत दिइन् ।
टेलिकमको बिलिङ ठेक्का खरिद प्रकरणमा प्रबन्ध निर्देशक अर्यालसँगै पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेल र अन्य १६ जना उच्च अधिकारीहरूले पनि सफाइ पाएका छन् ।
पछिल्लो अध्यावधिक: असार २९, २०८३ १९:०
