काठमाडौँ । कमेडी शो ‘कमेडी नाइट विद च्याम्पियन्स’का निर्देशक विशाल भण्डारीले आफूलाई प्रधानमन्त्री कार्यालयले बोलाएको भनी फैलिएको समाचारको खण्डन गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीप्रति व्यङ्ग्य गरेपछि सिंहदरबार बोलावट भएको समाचार फैलिएपछि उनले कार्यक्रमको विषयलाई लिएर आधिकारिक रूपमा नबोलाइएको स्पष्ट पारेका हुन् ।
शुक्रबार राति फेसबुकमा एक स्टाटस लेख्दै भण्डारीले आफ्नो एउटा इन्स्टाग्राम स्टोरी र कार्यक्रमको अंशलाई जोडेर अनुमानका भरमा समाचार अतिरञ्जित बनाइएकोमा आपत्ति जनाए ।
‘बाघ कराउनु र बाख्रा हराउनु’ जस्तो संयोगलाई आधार मानेर समाचार बनाइएको भन्दै उनले लेखेका छन्, "बिक्छ भन्दैमा गफ गाफ नबेचौं । Miss Information ले समाजलाई सही दिशा कदापि दिँदैन ।”
यसअघि रातोपाटीले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति व्यङ्ग्य गरिएको विषयलाई लिएर प्रधानमन्त्रीका स्वकीय सचिवले सिंहदरबार बोलाएको खबर प्रकाशित गरेको थियो । उक्त भेटमा भण्डारीलाई प्रधानमन्त्रीप्रति व्यङ्ग्य गर्दा गम्भीर हुन सचेत गराइएको आशयको समाचार रातोपाटीले लेखेको थियो । यसपछि अन्य केही मिडिया र सामाजिक सञ्जालमा रातोपाटीको समाचारलाई आधार मान्दै सामग्री प्रसार भइरहेका छन् ।
भण्डारीले भने आफू बिहीबार नभई बुधबार एक मित्रसँगको व्यक्तिगत भेटघाटका लागि मात्र सिंहदरबार गएको र त्यसलाई आधिकारिक बोलावट भनी प्रचार गरिनु गलत भएको उल्लेख गरेका छन् । “मलाई आधिकारिक भेटघाटको लागि बोलाइएकै हैन,” उनले लेखेका छन् ।
साथै उनले समाचार लेख्दा सम्बन्धित व्यक्तिसँग सोधेर तथ्यपरक र जिम्मेवार बन्न सञ्चारमाध्यमलाई आग्रह गरे ।