पुल्चोकका विद्यार्थीले बनाए एयर प्युरिफायर, फिल्टर नफेरी पानीले धोएर पुन: प्रयोग गर्न सकिने
असार १४, २०८३ २१:५४
काठमाडौं । पुल्चोक क्याम्पसमा इलेक्ट्रिकल इन्जिनियरिङ अध्ययनरत विद्यार्थीहरूले फिल्टर नफेरी, पानीले धोएरै पुनः प्रयोग गर्न सकिने एयर प्युरिफायर तयार पारेका छन् । तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको स्टिम परियोजनामा सहभागी भएर विद्यार्थीहरूले कम खर्चमा सञ्चालन गर्न सकिने उक्त एयर प्युरिफायरको नमुना (प्रोटोटाइप) तयार पारेका हुन् ।
‘एरो क्लिन’ नाम दिइएको उक्त प्रोटोटाइप सातौं सेमेस्टरमा अध्ययनरत रिया झा र ज्ञानदीप तिमिल्सिनाले तयार पारेका हुन् । यस परियोजनाका लागि उनीहरूलाई सह-प्राध्यापक जितेन्द्र चौधरीले मेन्टरिङ गरेका थिए ।
यो एयर प्युरिफायरमा इलेक्ट्रोस्ट्याटिक प्रिसिपिटेटर (ईएसपी) र हनिकम्ब (माहुरीको चाका जस्तो) संरचना प्रयोग गरिएको छ । ईएसपीले उच्च भोल्टेजको प्रयोगमार्फत हावामा भएका कणहरूलाई आयनाइज गरी सिल्भर फोइलमा जम्मा गर्छ । त्यसपछि दोस्रो चरणमा बाँकी रहेका सूक्ष्म कणहरूलाई हनिकम्ब स्ट्रक्चरले जम्मा गरेर हावा शुद्ध गर्छ । यो प्रणाली सञ्चालनका लागि १२ भोल्टको ब्रसलेस डीसी फ्यान प्रयोग गरिएको छ ।
यस प्रणालीले एकै पटकमा पीएम (पार्टिकुलेट म्याटर) २.५ देखि पीएम १० सम्मका कणहरूलाई ६५ प्रतिशतभन्दा बढी घटाउन सकेको विद्यार्थीहरूले बताएका छन् । त्यसैले स्वास्थ्यका लागि खतरनाक मानिने हावामा रहेका सूक्ष्म कणहरूलाई पनि प्रभावकारी रूपमा हटाउन यो प्रणाली सक्षम रहेको बताइएको छ ।
टोली सदस्य रिया झाका अनुसार हाल बजारमा हेपा (हाई इफिसिएन्सी पार्टिकुलेट एयर) फिल्टरहरू प्रयोगमा छन् । घरभित्रको हावा शुद्धीकरणका लागि यो फिल्टरलाई प्रभावकारी मानिन्छ । तर, यस्ता फिल्टर समय-समयमा फेर्नुपर्ने भएकाले खर्चिलो हुने उनले बताइन् ।
यता ‘एरो क्लिन’मा प्रयोग गरिएको फिल्टर भने फेर्नु नपर्ने उनको भनाइ छ । उनले भनिन्, “यसमा फिल्टर फेरिराख्नु नै पर्दैन । पानीले धोएर पुनः प्रयोग गर्न सकिन्छ । त्यसैले पनि यो कम खर्चिलो छ ।”
यस एयर प्युरिफायरको बनावट माहुरीको चाका र हेलिकल प्रणालीबाट प्रेरित भएर बेलनाकार बनाइएको छ । घरका कोठा, कक्षाकोठा वा कार्यालयहरूमा यसको सहज प्रयोग गर्न सकिन्छ ।
उनले थपिन्, “यसमा रियल टाइम ‘एक्युआई (एयर क्वालिटी इन्डेक्स) मनिटरिङको सुविधा उपलब्ध छ । जसले कोठाको हावाको अवस्थाबारे जानकारी दिन्छ । यो जानकारी हेरेर आवश्यक परेको बेला मात्र प्युरिफायर चलाउन सकिने भएकाले यसले विद्युत् खपत झनै कम गराउँछ ।”

नमुना परीक्षणका क्रममा कोठामा धुवाँ भरेर ५०० देखि ६०० एक्युआईसम्म पुर्याइएको थियो । प्युरिफायरले त्यसलाई घटाएर ४० देखि ५० को स्तरमा झारेको थियो । विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार सो मात्राको एक्युआई सन्तोषजनक मानिन्छ ।
'माइक्रो-भोर्टेक्स स्ट्रक्चर' सम्बन्धी विभिन्न अनुसन्धान पत्रहरूको अध्ययन गरी एरो क्लिनको विकास गरिएको हो । हाल यो प्रोटोटाइपलाई लामो समयसम्म सञ्चालन गर्न भने केही चुनौती देखिएको विद्यार्थीहरूले बताएका छन् । प्रोटोटाइपको भोल्टेज जेनेरेटरमा केही समस्या देखिएकाले यसको विकल्प खोज्ने काम भइरहेको उनीहरूको भनाइ छ ।
विद्यार्थीहरूका अनुसार यो नमुना तयार पार्न करिब ५० हजार रुपैयाँ खर्च भएको छ । विभिन्न डिजाइनहरू बनाएर थ्रीडी प्रिन्ट गर्दा लागत केही बढी पर्न गएको हो । तर, यसलाई व्यावसायिक रूपमा ठूलो परिमाणमा उत्पादन गर्न सके १० देखि १२ हजार रुपैयाँमै तयार पारेर बिक्री गर्न सकिने उनीहरूको दाबी छ ।
हाल बजारमा उपलब्ध हेपा प्युरिफायरको मूल्य २० देखि ३० हजार रुपैयाँसम्म पर्छ र तिनमा समय समयमा फिल्टर फेरिरहनुपर्ने झन्झट हुन्छ । तर, एरो क्लिनलाई पानीले सफा गरेर कम विद्युत् खपतमा चलाउन सकिने भएकाले प्रयोगकर्ताहरूले यसलाई रुचाउने विद्यार्थीहरूको विश्वास छ ।
पछिल्लो अध्यावधिक: असार १४, २०८३ २१:५५
