काठमाडौँ । शुक्रबार दिउँसोदेखि अवरुद्ध सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) सम्बन्धी सम्पूर्ण सेवा पाँच घण्टापछि पुनः सञ्चालनमा आएका छन् । यातायात व्यवस्था विभागले शुक्रबार साँझ एक सूचना जारी गर्दै प्रणालीमा देखिएको समस्या समाधान भई सेवा नियमित भएको जानकारी दिएको हो ।
विभागले शुक्रबार दिउँसो करिब १ बजे प्रणालीमा समस्या देखिएको भन्दै अनिश्चित कालका लागि सेवा बन्द भएको सूचना निकालेको थियो । तर, प्राविधिक टोलीको प्रयासपछि साँझ सवा ५ बजे नै प्रणालीलाई पुनः सञ्चालनमा ल्याइएको विभागले जनाएको छ ।
“आज मिति २०८१ असार २० गते शुक्रबार विभागमा रहेको सवारी चालक अनुमतिपत्र प्रणालीमा केही समय समस्या देखिई सेवा बन्द भएकोमा उक्त समस्या समाधान भई सबै सेवाहरू (ईडीएल प्रणाली, अनलाइन आवेदन प्रणाली तथा अत्यावश्यक लाइसेन्स प्रिन्ट प्रणाली) पुनः सुचारु भएको ब्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ,” विभागले जारी गरेको सूचनामा भनिएको छ ।
प्रणाली पुनः सञ्चालनमा आएसँगै लाइसेन्सको अनलाइन आवेदन, नवीकरण, राजस्व भुक्तानी तथा अत्यावश्यक लाइसेन्स छपाइ लगायतका काम पुनः सुरु भएका छन् ।
पछिल्लो अध्यावधिक: साउन ३, २०८२ १९:५
