close

विद्यार्थीले बनाए गोलभेंडा टिप्ने रोबटदेखि भीआर काउन्सलरसम्म, स्टार्टअपमा १ करोड लगानी घोषणा

Techpana Techpana

साउन ५, २०८२ १४:४६

विद्यार्थीले बनाए गोलभेंडा टिप्ने रोबटदेखि भीआर काउन्सलरसम्म, स्टार्टअपमा १ करोड लगानी घोषणा

काठमाडौँ । सफ्टवेरिका कलेज अफ आईटी एन्ड ईकमर्सले आयोजना गरेको प्रविधि महोत्सव ‘टेक एक्स: एलिभेट २०२५’ सम्पन्न भएको छ । प्रविधि, उद्यमशीलता र प्रेरणालाई एकै थलोमा ल्याउने उद्देश्यले ३२ असारदेखि ३ साउनसम्म आयोजित महोत्सवमा १० हजारभन्दा बढीले अवलोकन गरेको आयोजकले जनाएको छ ।

सञ्चालित महोत्सवमा विद्यार्थीहरूले विकास गरेका २० भन्दा बढी नवीन प्रविधिमूलक परियोजनाहरू प्रदर्शन गरिएका थिए । ‘करुणा’ (रोबोटिक असिस्टेन्ट), ‘मिरा’ (एजुकेसनल रोबोट) र ‘तोमात्रों’ (गोलभेंडा टिप्ने एआई-पावर्ड एग्रोबोट) जस्ता परियोजनाले अवलोकनकर्ताको ध्यान तानेका थिए ।

कार्यक्रमको प्रमुख आकर्षणका रूपमा रहेको ‘भीसी पिचिङ सेसन’मा २५ भन्दा बढी स्टार्टअप आइडियाहरू प्रस्तुत गरिएका थिए । जसमध्ये सात ओटा आइडियाले लगानीकर्ताको ध्यानाकर्षण गरेको आयोजकले जनाएको छ । सोही अवसरमा कलेजले नवप्रवर्तनलाई प्रोत्साहन गर्न प्रतिभाशाली स्टार्टअपहरूका लागि एक करोड रुपैयाँको लगानी कोष स्थापना गर्ने घोषणा गरेको छ ।

महोत्सवअन्तर्गत आयोजित ‘जब फेयर’मा ३० भन्दा बढी कम्पनीले सहभागिता जनाएका थिए । जहाँ ५०० भन्दा बढी युवा तथा विद्यार्थीले रोजगारीका अवसरबारे जानकारी लिएका थिए ।

यसैगरी, उद्यमशीलतासम्बन्धी मास्टरक्लासमा नारायण कोइराला र डा. मनिष थापाजस्ता उद्यमीहरूले अनुभव बाँडेका थिए भने नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले युवाहरूलाई प्रेरणादायी मन्तव्य दिएका थिए ।

कार्यक्रमको अर्को आकर्षण ‘आइरन क्लाश’ नामक रोबोट वार प्रतियोगिता रह्यो, जहाँ विजेता टोलीलाई तीन लाख रुपैयाँ बराबरको पुरस्कार प्रदान गरिएको थियो । साथै, सविन कार्की (बिस्ट), राहुल खड्गी र सिद्धार्थ घिमिरेसहित १५ भन्दा बढी कन्टेन्ट क्रिएटरहरूको उपस्थितिमा ‘इन्फ्लुएन्सर मिटअप’ पनि आयोजना गरिएको थियो ।

‘टेक एक्स’लाई प्रविधिको प्रदर्शनी मात्र नभई शिक्षा, नवप्रवर्तन र प्रेरणाको संगमको रूपमा विकास गरिएको सफ्टवेरिका कलेजले जनाएको छ ।

 

पछिल्लो अध्यावधिक: साउन ५, २०८२ १५:५०