close

फ्याक्टचेक: प्रेग्नेन्सी किटले बच्चाको बुबाको अनुहार देखाउने भन्दै नेपालमा फैलिएको दाबी झुटो

शिव बस्नेत शिव बस्नेत

साउन १०, २०८२ १५:३९

फ्याक्टचेक: प्रेग्नेन्सी किटले बच्चाको बुबाको अनुहार देखाउने भन्दै नेपालमा फैलिएको दाबी झुटो

काठमाडौँ । टिकटकमा यतिबेला एउटा भिडिओ पोस्ट भाइरल छ । ‘विशेष खबर एचडी’ नामको आईडीबाट अपलोड भएको भिडिओमा भनिएको छ, “जापानमा विकसित नयाँ प्रेग्नेन्सी किटले अब गर्भमा रहेको बच्चाको बाबु को हो भनेर फोटोसहित देखाउनेछ ।” अझ रोचक कुरा, महिलाको पिसाबबाटै भ्रूणको डीएनए विश्लेषण गरेर बाबुको अनुहार देखाइदिने दाबी गरिएको छ । खबर पहिलो पटक सुन्दा तपाईँलाई अचम्म लाग्यो होला । पूरै ‘समाचार’ सुनिन्जेल विज्ञानले असम्भवलाई सम्भव तुल्याएछ भन्ने निचोडमा पुग्नुभयो होला ।

उक्त टिकटक भिडिओको भ्युज, लाइक र कमेन्ट नियाल्दा लाखौं व्यक्तिसामु यो सूचना फैलिरहेको बुझ्न सकिन्छ । टेकपानाले यो भाइरल दाबीको तथ्यजाँच गर्दा भने ‍पूर्ण रूपमा भ्रामक रहेको भेटियो । भ्युज बटुली मानिसहरूलाई ‘उल्लु’ बनाउन यस्तो सामग्री तयार पारिएको हो ।

दाबी

२१ जुलाई, २०२५ मा ‘Bises Khabar HD’ ले ‘प्रेग्नेन्सी किटले नै देखाउनेछ बुबा को हो’ क्याप्सनसहित भिडिओ पोस्ट गर्‍यो ।  भिडिओमा समाचारवाचिका भन्छिन्, “प्रेग्नेन्सी किटले बच्चाको बुबाको अनुहार पनि देखाउने भएको छ । जापानका वैज्ञानिकहरूले हालै विकास गरेको उक्त किटले अब तपाईँको प्रेग्नेन्सी स्ट्रिपमा केवल पोजेटिभ वा नेगेटिभ मात्र नभई बच्चाको बुबाको तस्बिर समेत देख्न सकिने भएको हो । प्रेग्नेन्सी चेक गर्दा गर्भमा रहेको भ्रूणको डीएनए विश्लेषण मार्फत बच्चाको पिता को हुन् भन्ने कुरा किटले नै फोटोसहित देखाउने यस्तो टेक्नोलोजीको विकास भएको जनाइएको छ । उक्त अद्भुत प्रविधिको जसले अब गर्भ भए नभएको मात्र होइन, बच्चाको बुबाको अनुहार समेत देख्न पाइने भएपछि सबैलाई अचम्मित पारेको छ । उक्त प्रविधि मानिसका जीवनका रहस्यहरू खोल्ने क्रान्ति भएको दाबी गरिएको छ । महिलाको पिसाबबाट रहेको डीएनएबाट भ्रूणको प्रारम्भिक आनुवंशिक संरचना छुट्याएर त्यससँग मिल्दोजुल्दो आनुवंशिक डाटा प्रयोग गरी सम्भावित पिताको अनुहार स्क्रिनमा देखाउने बताइएको हो । यो किटले पितृत्वको शंका हटाउने र न्यायिक छानबिनमा सहायता पुर्याउनुका साथै समाजमा लुकेका यथार्थहरूमा पारदर्शिता ल्याउने विश्वास गरिएको छ । अब विज्ञान केवल जीवन बचाउने यन्त्र मात्र नभई जीवनका छायाँहरू उजागर गर्ने माध्यम बन्न थालेको बताइएको छ ।”

यो सामग्री तयार पार्दासम्म उक्त टिकटक भिडिओले एक लाख ३०० बढी लाइक, तीन हजार ६७६ कमेन्ट र एक लाख १४ हजारभन्दा बढी शेयर पाएको छ । हेर्नुहोस् भिडिओको ओरिजिनल लिङ्कआर्काइभ लिङ्क । 

सोही भिडिओ विशेष खबरको फेसबुक पेजमा पनि राखिएको छ, हेर्नुहोस् ओरिजिनल लिङ्कआर्काइभ लिङ्क

अनुसन्धान

सामाजिक सञ्जालमा यो दाबी फैलिएपछि टेकपाना फ्याक्टचेकले यसको मूल स्रोत र वैज्ञानिक आधार खोजी गर्न थाल्यो । नयाँ प्रेग्नेन्सी किटले गर्भमा रहेको बच्चाको बाबु को हो भनेर फोटोसमेत देखाउने खबर पक्कै विश्वभरका मिडियाले प्रकाशित गर्नुपर्ने हो । यसकारण new pregnancy test shows father's face, can pregnancy kit show baby father picture, urine based paternity DNA test, प्रेग्नेन्सी किटले बाबुको फोटो देखाउने, पिसाबबाट बाबुको अनुहार देखाउने किट, जापान प्रेग्नेन्सी किट लगायतका किवर्ड प्रयोग गरेर गुगल, बिङ, डकडकगो सर्च इन्जिनहरूका साथै टिकटक, फेसबुक, इन्स्टाग्राम, एक्स लगायतका सामाजिक सञ्जालमा खोजी गरियो । यसक्रममा विभिन्न सामग्री फेला परे ।

‘विशेष खबर एचडी’ को भिडिओ सामग्री जस्तै फेसबुकमा ‘Janaboli TV HD’ नामको आईडीबाट २२ जुलाईमा ‘अब ग`र्भव`ती जाँ`च्ने कि`टमै देखिनेछ बुबाको फोटो, बाबु चिन्न धेरै स`जिलो’ क्याप्सनमा भिडिओ पोस्ट भएको पाइयो । भिडिओमा प्रस्तोता भन्छन्, “अब गर्भवती जाँच गर्ने किटले बच्चाको बुवाकै तस्बिर छर्लङ्गै देखाइदिने भएको छ । अब गर्भवती भए नभएको जाँच गर्दा त्यही वीर्य दिने बाबुकै तस्बिर झलझली देखाइदिने भएको हो । यदि तपाईं पनि लुकीछिपी कसैसँग सम्पर्क गरिरहनुभएको छ र ती महिलाले जाँच गरिन् भने यसैगरी यी बाबुको अनुहार पनि छर्लङ्गै त्यही किटमा देखाइदिने भएको छ । अब परेन त बित्यास ?...”

यो सामग्री तयार पार्दासम्म जनबोली टिभी एचडीको फेसबुक पोस्टमा उक्त भिडिओले करिब ६ लाख ४४ हजार भ्युज पाएको छ भने करिब १२ हजार रियाक्सन र करिब ८५० कमेन्ट आएका छन् । त्यस्तै दुई हजार बढीले शेयर गरेका छन् । हेर्नुहोस् ओरिजिनल लिङ्कआर्काइभ लिङ्क । 

जनबोली टिभी एचडीको भिडिओ टिकटक लगायतका अन्य सामाजिक सञ्जालमा पनि व्यापक रूपमा शेयर भइरहेको पाइयो ।

त्यस्तै, फेसबुक प्रयोगकर्ता ‘क्षेत्री राकेश रोमन’ ले राखेको पोस्टमा ‘न्यानो-जिनेटिक डिटेक्सन टेक्नोलोजी’ जस्ता काल्पनिक प्राविधिक शब्द प्रयोग गर्दै यो प्रविधिले पितृत्वको शंका हटाउने र समाजमा पारदर्शिता ल्याउने क्रान्ति गर्ने दाबी गरिएको छ । हेर्नुहोस् ओरिजिनल लिङ्कआर्काइभ लिङ्क

यस्ता पोस्टहरू सामाजिक सञ्जालका विभिन्न माध्यममा शेयर भइरहेका छन् । हेराैँ केही पोस्टका स्क्रिनशट:

 

प्रेग्नेन्सी किटमा बच्चाको बुबाको फोटो समेत स्पष्ट देखिने भन्दै दर्जनाैँ पोस्ट शेयर भएको पाइयो । तर विश्वसनीय मिडिया स्रोतले कतैपनि यसबारे तथ्यपरक समाचार राखेको भेटिएन । जापानी वैज्ञानिकले आविष्कार गरेको प्रविधि भनिए पनि जापानको आधिकारिक स्रोत कसैले उल्लेख गरेका छैनन् । बरु यस्तो अफबाह वर्षौंदेखि विभिन्न देशमा फैलिँदै आएको भेटियो ।

हाम्रै छिमेकी देश भारतमा पनि दुई वर्ष पहिले यस्तै दाबी व्यापक रूपमा भाइरल भएपछि फ्याक्टचेकर ‘फ्याक्ट्ली’ (Factly)ले यो भ्रामक पुष्टि गरेको थाहा भयो । फ्याक्ट्लीले गरेको अनुसन्धान अनुसार भाइरल तस्बिरमध्ये एउटा सन् २०१२ मा ‘डिपोजिट फोटोज’ (depositphotos.com) नामक स्टक फोटो वेबसाइटमा प्रकाशित पुरानो तस्बिरलाई एडिट (morph) गरेर बनाइएको हो । प्रेग्नेन्सी किटमा देखिएका पुरुषका तस्बिरहरू सम्पादित भएको/जोडिएको निष्कर्ष निकालिएको छ । हेर्नुहोस् फ्याक्ट्लीको फ्याक्टचेक

उसो भए के यो वैज्ञानिक रूपमा सम्भव नै छैन त ? अहिलेसम्मको विज्ञानले त्यही भन्छ ।

अध्ययनअनुसार, घरमै प्रयोग गर्न मिल्ने पहिलो प्रेग्नेन्सी टेस्ट किट सन् १९७६ मा बजारमा आएको हो । हालका किटहरूले गर्भको पहिचान गर्न Human Chorionic Gonadotropin (hCG) नामक हर्मोन पत्ता लगाउँछन् । यो हर्मोन प्रारम्भिक गर्भावस्थामा तीव्र रूपमा बढ्ने भएकाले यसको परीक्षण गरेर गर्भ भएको/नभएको थाहा पाइन्छ ।

तर, बच्चाको बुबा को हो भन्ने पत्ता लगाउन बिल्कुलै फरक प्रकारको परीक्षण चाहिन्छ । त्यो हो- DNA paternity test ( डीएनए पितृत्व परीक्षण) । यो परीक्षणले सम्भावित बुबा र बच्चाको जिनको मिलान गरेर पितृत्व पुष्टि गर्छ । यस्तो परीक्षण गर्भावस्थाको बेला वा बच्चा जन्मिएपछि गर्न सकिन्छ ।

क्लिभल्यान्ड क्लिनिकका अनुसार DNA Paternity Test ले केवल डीएनए मिल्यो कि मिलेन भनेर ०% वा ९९.९% को नतिजा दिन्छ । डीएनए परीक्षणको काम बच्चाको जैविक बुबा को हुन् भन्ने कुरा वैज्ञानिक रूपमा पुष्टि गर्नु मात्र हो, त्यो पनि डीएनए (gene) को मिलान हेरेर । यो परीक्षणले अनुहार, फोटो, आकृति वा व्यक्तित्व देखाउँदैन । यसको अर्थ फोटो देखाउने कुनै प्रविधि अहिलेसम्म छैन, न त विज्ञानले त्यसको सम्भावना देखेको छ ।

स्रोत: क्लिभल्यान्ड क्लिनिक

अमेरिकन प्रेग्नेन्सी डट ओआरजीले गर्भावस्थाको साताैँ हप्तादेखि नै गरिने Non-Invasive Prenatal Paternity Test (नन-इनभेसिभ प्रीनेटल पितृत्व परीक्षण) मार्फत डीएनए मिलाएर बुबा को हुन् भन्ने कुरा पत्ता लगाउन सकिने तथ्य प्रस्तुत गरेको छ । यो विधि अन्तर्गत गर्भवती महिलाको रगतको नमुना (जसबाट बच्चाको डीएनए छुट्याइन्छ) र सम्भावित पिताको मुखको र्‍याल (Cheek Swab) को नमुना आवश्यक पर्छ । यो प्रक्रिया प्रयोगशालामा गरिन्छ । अनि यो परीक्षणले पनि बच्चाको बुबाको फोटो देखाउने कुरा कतै उल्लेख गरेको छैन ।

अमेरिकन प्रेग्नेन्सी डट ओआरजी

यसबाट स्पष्ट हुन्छ कि गर्भ परीक्षण र डीएनए परीक्षण दुई विल्कुलै फरक प्रक्रिया हुन् । जसलाई एउटै किटले, त्यो पनि पिसाबको भरमा तत्कालै गर्न हालको प्रविधिमा सम्भव छैन । डीएनएलाई छिटो विश्लेषण गर्न सकिए पनि डीएनएको आधारमा व्यक्ति (बच्चाको बुबा) को वास्तविक फोटो बनाउने प्रविधि अहिलेसम्म विकास भएको छैन । 

यस्तो क्रान्तिकारी वैज्ञानिक प्रगति हासिल गरेको भए जापानका मात्रै नभई विश्वभरका विश्वसनीय वैज्ञानिक जर्नलहरू र प्रमुख समाचार संस्थाहरूमा व्यापक रूपमा प्रकाशन/प्रसारण गर्ने थिए । तर यसबारे तथ्यपरक समाचार कतै फेला पार्न सकिएन । बरु फ्याक्ट्ली लगायतका तथ्य-जाँच गर्ने संस्थाले यस्ता दाबी भ्रामक हुन् भनेर पुष्टि गरेको भेटियो । 

दाबी

जापानमा विकसित नयाँ प्रेग्नेन्सी किटले गर्भ रहेको/नरहेको मात्र होइन, बाबुको तस्बिर पनि देखाउँछ । उक्त किटले महिलाको पिसाबबाट भ्रूणको डीएनए विश्लेषण गरी सम्भावित बुबाको अनुहार प्रेग्नेन्सी स्ट्रिपमै देखाउनेछ ।

दाबीकर्ता

टिकटक/फेसबुक पेज ‘विशेष खबर एचडी’, जनबोली टिभी एचएडी लगायत सामाजिक सञ्जाल प्रयोगकर्ता

तथ्य

हालसम्म कुनै पनि वैज्ञानिक वा मेडिकल रूपमा प्रमाणित प्रेग्नेन्सी किट (जसले पिसाब परीक्षण गर्छ) ले गर्भमा रहेको बच्चाको बाबुको हो भन्ने कुरा बताउन सक्दैन । तस्बिर देखाउन त झनै सम्भव छैन । पछिल्लो समय उपलब्ध ‘Non-Invasive Prenatal Paternity​ (NIPP) Test’ एक प्रकारको डीएनए परीक्षण हो, जुन गर्भावस्थाको सातौं हप्तादेखि गर्न सकिन्छ । यस परीक्षणमा गर्भवती महिलाको रगत र सम्भावित बाबुको डीएनए मिलाएर परीक्षण गरिन्छ । प्रयोगशालामा गरिने परीक्षणमा समेत भ्रूण वा बच्चाको बुबाको अनुहार देखाउने प्रणाली छैन । यसबाट केवल डीएनए मिल्दोजुल्दो आधारित रिपोर्ट आउँछ ।

निष्कर्ष

‘जापानमा विकसित नयाँ प्रेग्नेन्सी किटले अब गर्भमा रहेको बच्चाको बाबु को हो भनेर फोटोसहित देखाउने’ भन्दै सामाजिक सञ्जालमा फैलिएका पोस्ट पूर्णतः गलत र भ्रामक हुन् । किटमा देखिने पुरुषका फोटोहरू सक्कली नभएर सम्पादन गरिएका (morphed) वा एआई-निर्मित हुन् । प्रेग्नेन्सी किटले ‘hCG’ हर्मोन पत्ता लगाउँछ, डीएनए होइन । वास्तविक पितृत्व परीक्षण प्रयोगशालामा रगत र र्‍यालको नमुनाबाट गरिन्छ र त्यसले तस्बिर नभई सम्भावनाको प्रतिशत देखाउँछ । यसर्थ, जापानमा यस्तो प्रविधि बनेको दाबीमा कुनै सत्यता छैन । यो वर्षौंदेखि चल्दै आएको एउटा अन्तर्राष्ट्रिय हल्ला मात्र हो । यही हल्लालाई थप तोडमोड गरी भ्युज पाउन र भ्रम छर्न नेपालका केही फेसबुक/टिकटक पेज तथा प्रयोगकर्ताले सामग्री तयार पारेका हुन् ।

प्रतिक्रिया

तपाईंले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु होला ।

पछिल्लो अध्यावधिक: भदौ १४, २०८२ १८:४८