close

चितवनमा लोडसेडिङले मोबाइल सेवामा पर्दै असर, एनसेलले एसएमएस पठाउँदै भन्यो - 'बिजुली नहुँदा सेवा प्रभावित हुन सक्छ'

टेकपाना टेकपाना

साउन ११, २०८२ १२:०

चितवनमा लोडसेडिङले मोबाइल सेवामा पर्दै असर,  एनसेलले एसएमएस पठाउँदै भन्यो - 'बिजुली नहुँदा सेवा प्रभावित हुन सक्छ'

काठमाडौँ । चितवनमा लोडसेडिङ हुने भएपछि त्यसको असर दूरसञ्चार सेवामा पनि पर्न थालेको छ ।

नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले पूर्वी चितवनमा आइतबारदेखि दैनिक दुईपटक लोडसेडिङ गर्ने तालिका निकालेपछि टेलिकम अपरेटरहरुले सेवा प्रभावित हुन सक्ने भन्दै ग्राहकहरुलाई एसएमएस पठाउन थालेका हुन् ।

एनसेलले बिजुली नहुँदा मोबाइल टावर सञ्चालनमा असर परेर सेवा प्रभावित हुन सक्ने भन्दै एसएमएसमार्फत अग्रिम जानकारी प्रभावित क्षेत्रका प्रयोगकर्ताहरुलाई गराउन थालेको छ ।

'नेपाल विद्युत प्राधिकरणको विद्युत आपूर्ति प्रभावित भई मोबाइल टावरहरु सञ्चालनमा समेत असर पर्न सक्ने भएकाले हाम्रा दूरसञ्चार सेवाहरु प्रभावित हुन सक्ने अग्रिम जानकारी गराउन चाहन्छौं । यसबाट ग्राहकवर्गमा पर्न जाने सम्भावित असुविधा प्रति हामी क्षमाप्रार्थी छौं," एनसेलले पठाएको एसएमएसमा भनिएको छ ।

देशका धेरै स्थानहरुमा मोबाइल सेवा प्रदायकहरुले जडान गरेका बीटीएस टावर प्राधिकरणको ग्रिडमा निर्भर छन् । सहरी क्षेत्र तथा ग्राहक संख्या बढी भएका स्थानहरुमा अपरेटरहरुले ब्याकअप राख्ने गरेका छन् । तर, ग्रामीण भेग तथा कम ग्राहक संख्या भएको क्षेत्रमा जडित बीटीएस टावरहरुमा ऊर्जाका लागि पर्याप्त ब्याकअप राखिएको हुँदैन । जसका कारण प्राधिकरणले प्रवाह गर्ने बिजुली नहुँदा त्यस क्षेत्रको बीटीएस टावरले काम गर्न सक्दैन । त्यसपछि मोबाइल सेवाको गुणस्तर ज्यादै कमजोर बन्छ ।

नजिक रहेको बीटीएस टावरसँग सम्पर्क स्थापित हुँदा मोबाइल सेवाको युजर एक्सपेरियन्स राम्रो हुन्छ । त्यो टावरमा बिजुली नभए त्योभन्दा टाढाको टावरसँग मोबाइलको सम्पर्क हुन्छ, जसका कारण भ्वाइस, डेटा र एसएमएस सेवाको गुणस्तर खस्किन्छ ।

यसका साथै, धेरै नेपालीका घरमा फिक्स्ड लाइनबाट ब्रोडब्यान्ड इन्टरनेट पुगेको छ । बिजुली नहुँदा राउटर निभेर ब्रोडब्यान्ड इन्टरनेट चल्दैन । घरमा ब्याकअप राखेकाहरुलाई समस्या नपरेपनि अरुकोमा फिक्स्ड इन्टरनेट चल्दैन । त्यसपछि अधिकांश व्यक्ति मोबाइल डेटामा निर्भर हुन्छन् । यसले पनि मोबाइल अपरेटरको नेटवर्कमा एक्कासी चाप बढाइदिएर गुणस्तरमा धक्का पुग्छ ।

अत्यधिक गर्मी र रोपाइँको समयमा आकाशे पानी नपरेपछि सिँचाइका लागि बिजुलीको माग बढेकोले लोडसेडिङ गर्नु परेको प्राधिकरणले जनाएको छ ।

चितवनको चनौली वितरण केन्द्रका अनुसार भरतपुर १३२/३३ केभी सबस्टेसनबाट आउने ३३ केभी डग कन्डक्टर तारको क्षमता ३०० एम्पियर मात्र भए पनि हाल ४५० एम्पियरसम्म विद्युत् प्रवाह हुँदा लोड धान्न नसकेको हो ।

प्राधिकरणले नारायणी-माडी, मेघौली-विजयनगर-शुक्रनगर र जगतपुर-रामपुर फिडरबाट आपूर्ति हुने स्थानहरूमा लोडसेडिङ हुने जनाएको छ ।

पछिल्लो अध्यावधिक: साउन ११, २०८२ १२:२४