close

वैदेशिक रोजगारीको बेला समस्या परे अनलाइनबाटै नेपाल सरकारलाई यसरी गर्न मिल्छ उद्धारको अनुरोध

टेकपाना टेकपाना

साउन १३, २०८२ १८:४१

एआईको सहयोगमा तयार पारिएको तस्बिर एआईको सहयोगमा तयार पारिएको तस्बिर

काठमाडौँ । हालै मात्र सरकारले श्रम सम्बन्धी सम्पूर्ण सेवा एकै स्थानबाट उपलब्ध गराउने उद्देश्य सहित श्रम संसार पोर्टल सञ्चालनमा ल्याएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ल्याएको यो पोर्टलबाट वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका श्रमिकले आपत्कालीन उद्दारका लागि नेपाल सरकारलाई अनुरोध गर्न सक्ने सुविधा पनि छ । 

श्रम संसार पोर्टलमार्फत आकस्मिक उद्दारका लागि कसरी अनुरोध गर्ने भन्ने तरिका यहाँ बताउँदै छौँ । श्रम संसार वेबसाइट र एप दुबै प्लेटफर्ममा उपलब्ध छ । सबैभन्दा पहिला श्रम संसारको पोर्टलमा जान वेबसाइटका लागि यहाँ क्लिक गर्नुहोस् । एपका लागि एन्ड्रोइडको हकमा यहाँ क्लिक गर्नुहोस् वा आईओएस तथा आईफोनका लागि यहाँ क्लिक गरेर एप डाउनलोड गर्नुहोस् । 

अब वेबसाइटमा सबैभन्दा तल पुछारमा जानुहोस् अथवा एपको बायाँतर्फ तीन ओटा धर्सा भएको ठाउँमा क्लिक गर्नुहोस् र आपत्कालीन उद्दार भएको ठाउँमा थिच्नुहोस् ।


 

 

त्यहाँ क्लिक गर्ने बित्तिकै डिभाइसको लोकेसन एक्सेसको अनुमति माग्छ । उक्त अनुमति दिएमा सम्बन्धित व्यक्ति रहेको लोकेसन पोर्टलले लिन्छ । 

व्यक्तिको गोपनियतालाई ध्यानमा राख्दै एक पटकको मात्र लोकेसन लिने र जतिबेला पनि ट्र्याक भने नगर्ने मन्त्रालयले जनाएको छ । त्यसपछि त्यहाँ भनिएका विवरण, चोटपटक लागेको फोटो, पासपोर्ट आदि राख्न सकिन्छ । 

त्यसपछि उपचार सेवा, आकस्मिक उद्दार वा नेपाल फर्किन चाहिएको विकल्प रोज्न सकिन्छ । 

श्रमिकले भरेको फारामको जानकारी सम्बन्धित राजदूतावास र परराष्ट्र मन्त्रालयमा पुग्छ । त्यसपछि तत्काल आवश्यकता अनुसार उनीहरूको लोकेसनको आधारमा उद्धार कार्य अघि बढाइन्छ ।

पछिल्लो अध्यावधिक: साउन १३, २०८२ १८:४२