४० करोड सब्सक्राइबर पार गरेपछि मिस्टर बिस्टले युट्युबबाट पाए ‘बाघ’ लोगो सहितको प्ले-बटन
साउन १४, २०८२ १२:३०
काठमाडौँ । सर्वाधिक सब्स्क्राइबर हुने युट्युबर जिम्मी डोनाल्डसन ऊर्फ मिस्टर बिस्टले युट्युबमा फेरि नयाँ इतिहास रचेका छन् । हालै ४० करोड बढी सब्स्क्राइबरको आँकडा पूरा गरेका युट्युबर बिस्टले युट्युबबाट आफ्नै लोगो भएको विशेष प्ले बटन पाएर अर्को इतिहास रचेका हुन् ।
हाल मिस्टर बिस्टको मुख्य च्यानलमा ४१ करोड ७० लाख बढी सब्स्क्राइबर रहेका छन् । दोस्रोमा रहेको भारतीय म्युजिक कम्पनी टी-सिरिज साढे १० करोड सब्स्क्राइबरले पछि छ । अर्थात् अहिलेसम्म मिस्टर बिस्ट ३० करोड र ४० करोड सब्स्क्राइबर हुने एक मात्र युट्युबर हुन् ।
युट्युबमा यो कीर्तिमानी कायम गरेसँगै उनलाई सम्मान गर्न युट्युबका सीईओ नील मोहनले मिस्टर बिस्टको प्रसिद्ध बाघको लोगो आकारको विशेष प्ले बटन दिएर सम्मान गरेका छन् । मिस्टर बिस्टले १ जुन २०२५ मा आधिकारिक रूपमा ४० करोड सब्सक्राइबरको कोशेढुङ्गा पार गरेपछि यो विशेष पुरस्कार प्रदान गरिएको हो । उनको च्यानलको वृद्धिदर तीव्र गतिमा जारी छ ।
400,000,000 Subscriber Play Button! Thank you YouTube ❤️ pic.twitter.com/PNcGRPgTRy
— MrBeast (@MrBeast) July 29, 2025
यो नयाँ प्ले बटनले प्रमुख सब्सक्राइबर कोशेढुङ्गामा विशेष पुरस्कार दिने परम्परालाई निरन्तरता दिएको छ । यसअघि मिस्टरबिस्टले २० करोड सब्सक्राइबर पुग्दा ‘एम्बर प्ले बटन’ र ३० करोडमा ‘एमराल्ड प्ले बटन’ पाएका थिए । युट्युबले ४० करोड सब्सक्राइबरको पुरस्कारलाई आधिकारिक नाम नदिए पनि फ्यानले यसलाई ‘बिस्ट बटन’ भन्न थालिसकेका छन् ।
यो खबरसँगै सामाजिक सञ्जालमा प्रशंसाको बाढी आएको छ । एक्स र इन्स्टाग्राममा प्रयोगकर्ताले यस क्षणलाई ‘इन्टरनेटको इतिहास’ र ‘एक आन्दोलन’ भनी चर्चा गरेका छन् । बिस्टका समर्थकले उनको रचनात्मकता, परोपकारी काम र युट्युब प्लेटफर्ममा के सम्भव छ भनेर पुनर्परिभाषित गर्ने क्षमताको खुलेर प्रशंसा गरेका छन् ।
यद्यपि केही आलोचकले उनको महँगो र उच्च जोखिमयुक्त कन्टेन्टको दिगोपनमाथि चिन्ता व्यक्त गरेका छन् । केहीले भने मिस्टर बिस्टले गरेको परोपकारी कामलाई ‘पोभर्टी पोर्न’को संज्ञा दिंदै आलोचना गर्ने गरेका छन् । लोकप्रियता र आलोचनालाई सन्तुलन राख्दै बिस्टले निरन्तर आफ्नो कामलाई अगाडि बढाउँदै आएका छन् । हाल उनका भिडिओ २३ ओटा भाषामा डब गरिएका छन् । नेपाली भाषाका सन्दर्भमा भने लामो भिडिओमा डबिङ उपलब्ध छैन । तर, मिस्टर बिस्टका अधिकांश शर्ट्स भने नेपाली भाषामा पनि सुन्न सकिन्छ । केही भिडिओमा नेपाली सबटाइटल पनि राख्न थालिएको छ । यसरी बिस्ट आफ्ना भिडिओलाई विश्वव्यापी रूपमा बिस्तार गरिरहेका छन् ।
डोनाल्डसनले यस उपलब्धिबारे कुनै विशेष भिडिओ बनाउने योजना सार्वजनिक गरेका छैनन् । तर उनले एक पोस्टमार्फत समर्थक र युट्युबलाई धन्यवाद दिएका छन् । “४०,००,००,००० (४० करोड) सब्सक्राइबर । धन्यवाद युट्युब,” बिस्टले लेखेका छन् ।
पछिल्लो अध्यावधिक: साउन १४, २०८२ १२:४८
