किनेको पाँच वर्षभित्र गोगोरो स्कुटर फिर्ता गर्दा न्यूनतम १ लाख रूपैयाँ पाइने
साउन २२, २०८२ ९:७
काठमडौँ । नेपालका लागि गोगोरो स्कुटरको आधिकारिक साझेदार नेबुला इनर्जीले इलेक्ट्रिक दुई-पाङ्ग्रे सवारी साधनका लागि बाइ ब्याक ग्यारेन्टी योजना सुरु गरेको छ । सवारी खरिदपछि पुनः बिक्रीको सुनिश्चित मूल्य दिने यस योजनाले ग्राहकहरूको विश्वास बढाउने र नेपालको विद्युतीय यातायात क्षेत्रको दीर्घकालीन विकासमा टेवा पुर्याउने कम्पनीको दाबी छ ।
गोगोरोले सुरु गरेको यो कार्यक्रम साउन १९ गते (अगस्ट ४, २०२५) देखि लागू भइसकेको कम्पनीले जनाएको छ । यस योजनाअन्तर्गत ग्राहकले गोगोरो स्कुटर प्रयोग गरेपछि पाँच वर्ष वा ४० हजार किलोमिटर भित्र स्कुटर फिर्ता गर्दा न्यूनतम एक लाख रुपैयाँको मूल्य पाउने सुनिश्चित गरिएको छ ।
इलेक्ट्रिक सवारीधनीहरूको एक प्रमुख चिन्ता ब्याट्री डिग्रेडेसन हो, जसले गर्दा पुरानो भइसेको ईभी बिक्री गर्दा मूल्यमा फरक पर्छ । तर, गोगोरोको ब्याट्री स्वापिङ प्रविधिले यस समस्याको समाधान गरेको कम्पनीको भनाइ छ । परम्परागत ईभी जस्तो नभई गोगोरो प्रयोगकर्ताले ब्याट्री स्वामित्व लिँदैनन्, बरु कम्पनीले सञ्चालित स्मार्ट ब्याट्री नेटवर्क प्रयोग गर्छन् । यही मोडेलका कारण गोगोरोले दीर्घकालीन मूल्यको ग्यारेन्टी दिन सफल भएको कम्पनीको भनाइ छ ।
नेपालमा कम्पनीले पहिलोपटक ई-स्कुटरमा यस्तो व्यवस्था गरेको दाबी गरेको छ ।
यसका साथै बुधबारदेखि सुरु भएको नाइमा नेपाल मोबिलिटी एक्स्पोमा गोगोरो खरिद गर्ने ग्राहकले अन्य विभिन्न सुविधा पाउने पनि कम्पनीले जनाएको छ । एक्स्पो मार्फत् नै कम्पनीले दशैँ अफरको सुरुवात गरेको छ भने गोगोरोको स्टलमा लाइभ ब्याट्री स्वाप डेमो पनि हेर्न सकिनेछ । योसँगै स्टलमा अपग्रेड गरिएको गोगोरो जेगो (JEGO) स्कुटर पनि प्रदर्शनमा राखिएको छ ।
पछिल्लो अध्यावधिक: साउन २२, २०८२ ९:७
