गुगलको जेमिनाईमा आयो जुनसुकै विषयमा सिक्न सघाउने एआई फिचर 'गाइडेड लर्निङ'
साउन २२, २०८२ २१:१८
काठमाडौँ । गुगलले ओपनएआईको च्याटजीपीटीमा आएको स्टडी मोड जस्तै आफ्नो जेमनाई एआईमा नयाँ ‘गाइडेड लर्निङ’ फिचर ल्याएको छ । कम्पनीले आफ्नो आधिकारिक ब्लग मार्फत यो नयाँ सुविधाको बारेमा जानकारी दिएको हो ।
कम्पनीका अनुसार यसको सहयोगमा प्रयोगकर्ताहरूले कुनै पनि विषयमा उत्तर मात्र नभई गहिरो बुझाइ समेत हासिल गर्न सक्नेछन् । प्रविधिलाई सिकाइको एउटा शक्तिशाली उपकरण मान्ने गुगल वास्तविक बुझाइ एउटा सामान्य उत्तरभन्दा धेरै गहिरो हुने विश्वास गर्छ । यसै अवधारणामा आधारित रहेर गाइडेड लर्निङलाई व्यक्तिगत सिकाइ सहयात्रीको रूपमा डिजाइन गरिएको छ ।
गाइडेड लर्निङका मुख्य विशेषता
-
सक्रिय सहभागिता र छलफलः गाइडेड लर्निङले जाँच र ओपन-इन्डेड प्रश्नहरू मार्फत सक्रिय सहभागितालाई प्रोत्साहन गर्छ । जसले विषयवस्तुमा गहिरो छलफलको अवसर प्रदान गर्दछ । यसको उद्देश्य केवल उत्तर दिनुको सट्टा गहिरो बुझाइ निर्माण गर्न मद्दत गर्नु हो ।
-
चरण-बद्ध सिकाइ: यसले समस्याहरूलाई चरण-बद्ध रूपमा विभाजन गर्छ र प्रयोगकर्ताको आवश्यकता अनुसार व्याख्या प्रस्तुत गर्दछ ।
-
मल्टी-मोडेल प्रतिक्रिया: यसले तस्बिर, रेखाचित्र, भिडिओ र अन्तरक्रियात्मक क्विजसहितको स्तरीय मल्टी-मोडेल प्रतिक्रिया प्रदान गर्दछ । जसले उत्तरमा नभई ज्ञान निर्माण र परीक्षण प्रक्रियामा ध्यान केन्द्रित गर्न सघाउँछ ।
-
सहयोगात्मक: चाहे तपाईँ परीक्षाको तयारी गर्दै हुनुहुन्छ वा फोटोग्राफीप्रतिको आफ्नो रुचिको विषय पच्छ्याउँदै हुनुहुन्छ, गाइडेड लर्निङ एउटा सहयोगात्मक सोचाई भएको साथीको रूपमा काम गर्दछ, जसले हरेक चरणमा तपाईँलाई बुझ्न सघाउँछ ।
यो सुविधा वर्षौँको अनुसन्धान र शिक्षकहरू, शिक्षाविद् विशेषज्ञहरू र विद्यार्थीहरूसँगको साझेदारीको परिणाम भएको गुगलले जनाएको छ । गुगलले सन् २०२२ मा एआई विशेषज्ञहरू, न्युरोसाइन्टिस्टहरू र कग्नेटिभ वैज्ञानिकहरूको एक क्रश-डिसिप्लिनरी टिम स्थापना गरेको थियो । जसले केवल प्रश्न सोध्ने प्रक्रियामा सुधार गर्नु मात्र पर्याप्त नहुने निष्कर्ष निकाले । यसै आधारमा लर्नएलएम तयार भएको हो ।
लर्नएलएम भनेको सिकाइका लागि विशेष रूपमा परिष्कृत गरिएको मोडेलहरूको सङ्ग्रह हो, जुन शैक्षिक अनुसन्धानमा आधारित छ । यस वर्षको सुरुमा यो सुविधा जेमनाई २.५ मा समावेश गरिएको थियो । जसले यसलाई सिकाइका लागि विश्वकै प्रमुख मध्येको एक मोडेलको रूपमा यसलाई उभ्याएको छ ।
गाइडेड लर्निङले कुराकानीको शैलीमा जजमेन्टल-फ्रि स्पेस तयार गरेर सिकाइमा सघाउँछ । जहाँ जो कसैले आफ्नै गतिमा रमाइलो तरिकाले कुनै पनि विषयहरूमा खोज-अन्वेषण गर्न सक्छन् ।
यसले विद्यार्थीहरूलाई उत्तरहरूभन्दा माथि उठ्न र आलोचनात्मक सोचलाई बढावा दिने प्रश्नहरूबाट मार्गदर्शन गरेर उनीहरूको आफ्नै सोच विकास गर्न प्रोत्साहित गर्दछ । यो सुविधा हाल जेमनाई एपमा उपलब्ध छ । गुगलले यसलाई विश्वका सबै मानिसहरूलाई जुनसुकै कुरा पनि सिक्न मद्दत गर्ने दिशामा एक महत्त्वपूर्ण कदमको रूपमा लिएको छ ।
पछिल्लो अध्यावधिक: साउन २२, २०८२ २१:१८
