close

टिकटकको सिको गर्ने नाममा छाडा बन्दै फेसबुक, एल्गोरिदम हाबी हुँदा खोजेका सामग्री भेट्नै मुस्किल

टेकपाना टेकपाना

साउन २७, २०८२ १६:३८

टिकटकको सिको गर्ने नाममा छाडा बन्दै फेसबुक, एल्गोरिदम हाबी हुँदा खोजेका सामग्री भेट्नै मुस्किल

काठमाडौँ । एक समय सामाजिक सञ्जालको पर्याय बनेको फेसबुक अहिले प्रयोगकर्ताहरूका लागि असान्दर्भिक बन्दै गएको छ । प्रयोगकर्ताहरूले आफ्नो न्युज फिडमा साथीभाइ र आफूले फलो गरेका पेजका पोस्टहरूभन्दा अनावश्यक र विज्ञापनजन्य सामग्रीको बाढी आउन थालेको गुनासो गर्न थालेका छन् ।

द माउन्टेन ३ (TheMountainIII) नाम गरेका एक रेडिट प्रयोगकर्ताका अनुसार उनको फिड ७५ देखि ८० प्रतिशतसम्म फलो नगरिएका सामग्रीले भरिने गरेको छ । अर्का फिलिङसुपरसोनिक (feelingsupersonic) नाम गरेका अर्का रेडिट प्रयोगकर्ताले त झन् ९० प्रतिशत सामग्री 'सजेस्टेड फर यु' ले भरिएको स्क्रिन रेकर्डसहित असन्तुष्टि पोखेका छन् ।

धेरैजसो प्रयोगकर्ता आफूले फलो गरेका व्यक्ति र पेजका पोस्टहरू मुस्किलले देख्न पाउँछन् । यसको सट्टा, उनीहरूले कहिल्यै नचाहेका वा नखोजेका सामग्रीहरू, जस्तै; गाडी दुर्घटना, छाडा कमेडी वा एआईबाट बनाइएका तस्बिरहरू देख्ने गरेका छन् । धेरैलाई फेसबुकको एल्गोरिदम बिग्रिएको वा छाडा भएको जस्तो लाग्न थालेको छ । केही प्रयोगकर्ताले त फेसबुकलाई ‘मृत’ जस्तै बन्दै गएको टिप्पणी गरेका छन् ।

केही दिनअघि हामीले फेसबुक पोस्टमार्फत प्रयोगकर्तालाई फेसबुकको बदलिएको स्वरूप बारे सोधेका थियौँ । उक्त पोस्टमा मदन भण्डारी नामक प्रयोगकर्ताले लेखेका छन्, "यो पक्कै पनि राम्रो होइन, किन कि अनावश्यक पोस्टहरू आएर हैरान बनाउँछन् ।"

गीता चिमोरियाले यो आफ्ना लागि फेसबुकको हालसम्मकै मन नपरेको फिचर भएको बताएकी छिन् । केही प्रयोगकर्ताले भने फेसबुकका नयाँ 'फर यु' कन्टेन्ट आफूलाई रमाइलो लाग्ने गरेको अनुभव समेत बाँडेका छन् ।

प्रयोगकर्ताहरूले फेसबुक अब ‘सामाजिक’ सञ्जाल नरहेको र यसमा ‘सामाजिक’ अंश हराएको महसुस गरेका छन् । इन्स्टाग्राम पनि टिकटक जस्तै अर्गानिक सामग्रीको सट्टा बग्रेल्ती रिल, विज्ञापनहरू र इन्फ्लुयन्सरहरूका सिफारिस गरिएका पेजहरूले भरिएको गुनासो छ । फेसबुकका रिलहरू पनि दोहोरिने र बेस्वादका हुन थालेका छन् ।

फेसबुकमा अनावश्यक सामग्रीको बढ्दो उपस्थितिले धेरै प्रयोगकर्ताहरूलाई यसबाट टाढा धकेलिरहेको छ । जसले गर्दा उनीहरूले फेसबुकमा बिताउने समय क्रमशः घटाउँदै लगिरहेका छन् । कतिपयले त फेसबुक अकाउन्ट निष्क्रिय पार्ने वा पूर्ण रूपमा डिलिट गर्नेसम्मका निर्णय समेत लिएका छन् । उनीहरूका लागि फेसबुक अब समयको बर्बादी, बोरिङ, खाली, अनावश्यक र फोहोर बनेको छ ।

धेरै प्रयोगकर्ताहरूले फेसबुकलाई छोड्नु वा यसको प्रयोग घटाउनुले उत्पादकत्व वृद्धि भएको, तनाव भएको र वास्तविक जीवनमा साथीहरूसँग अन्तरक्रिया बढाउन गर्न मद्दत पुगेको अनुभव शेयर गरेका छन् ।

पछिल्लो अध्यावधिक: साउन २७, २०८२ १६:३८