close

फुड टेक्नोलोजिस्ट बनाउने ब्याचलर कोर्स, नेपालमा कहाँ-कहाँ हुन्छ पढाइ अनि कति लाग्छ शुल्क ?

रञ्जिता उप्रेती रञ्जिता उप्रेती

साउन २८, २०८२ १६:३०

तस्बिर स्रोतः पद्मश्री कलेज तस्बिर स्रोतः पद्मश्री कलेज

काठमाडौँ । चाडपर्वको समयमा होटल तथा पसलमा खानेकुरा गुणस्तरीय छन् कि छैनन् भनेर जाँच हुने गरेको हामीले देख्दै र सुन्दै आएका छौँ । यस्तो बेलामा कयौँ होटल तथा पसल कारबाहीमा परिरहेका हुन्छन् । यसरी खाद्यवस्तुको गुणस्तर मापन गर्ने काम खाद्य प्राविधिक अर्थात् फुड टेक्निसियनको हो । आज हामी यस्तै खाद्य प्राविधिक उत्पादनका लागि स्नातक तहमा अध्यापन हुने फुड टेक्नोलोजी विषयका बारेमा जानकारी दिँदै छौँ ।

नेपालमा सबैभन्दा पहिला खाद्य प्रविधि अर्थात् फुड टेक्नोलोजीको अध्यापन त्रिभुवन विश्वविद्यालयले सुरु गरेको हो । त्रिविको विज्ञान तथा प्रविधि सङ्कायअन्तर्गत बी.टेक. इन फुड टेक्नोलोजी कोर्स सञ्चालित छ ।

विसं २०२९ मा धरानको ‘केन्द्रीय प्रविधि क्याम्पस’ मा पहिलो पटक खाद्य प्रविधि विषयको अध्यापन सुरु भएको थियो । +२ सरहको आई.टेक. फुड टेक्नोलोजी र आई.टेक. ल्याब कोर्सबाट अध्यापन सुरु गरेको यस क्याम्पसले स्नातक तहमा फुड टेक्नोलोजी विसं २०३६ देखि सुरु गरेको हो । विसं २०५९ देखि भने त्रिविको केन्द्रीय खाद्य प्रविधि विभाग पनि सोही स्थानबाट सञ्चालित छ ।

अन्य कहाँ-कहाँ अध्यापन हुन्छ ?

यो विषय त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयमा उपलब्ध छ । त्रिविको आङ्गिक क्याम्पसमध्ये केन्द्रीय प्रविधि क्याम्पस, हात्तीसार, धरानमा मात्र बी.टेक. इन फुड टेक्नोलोजी अध्यापन हुन्छ । सह-प्राध्यापक तथा केन्द्रीय खाद्य विभागकी प्रमुख बबिता अधिकारीका अनुसार ४८ कोटामा यो विषय उपलब्ध छ ।

पहिले चार वर्षे कोर्षमा अध्यापन हुने भए पनि विश्व प्रतिस्पर्धा र उद्योगको आवश्यकतालाई मध्यनजर गर्दै पाठ्यक्रम परिमार्जन भइरहेको उनले बताइन् । अधिकारीले भनिन्, “गत वर्षदेखि सेमेस्टर प्रणालीमा आधारित भएर अध्यापन सुरु गरेका छौँ । अहिले दुई सेमेस्टरमा विद्यार्थीहरू पढिरहेका छन् । बाँकी छ सेमेस्टरको पाठ्यक्रम तयार भइरहेको छ ।”

पछिल्लो १० वर्षयता निजी क्याम्पसहरूले पनि बी.टेक. इन फुड टेक्नोलोजी अध्यापनका लागि त्रिविबाट सम्बन्धन पाएका छन् । हाल त्रिविबाट सम्बन्धन प्राप्त दशवटा निजी तथा सामुदायिक क्याम्पसले २४ कोटामा यो कार्यक्रम अध्यापन गराउँदै आएका छन् । ​

 

काठमाडौँ लैनचौरको नेसनल कलेज अफ फुड साइन्स एन्ड टेक्नोलोजी, ललितपुरको जवलाखेलस्थित ललितपुर भ्याली कलेज, तीनकुनेस्थित पद्मश्री कलेज, बत्तिसपुतलीको गोल्डेनगेट इन्टरनेसनल कलेज, कास्कीको पोखरामा रहेको पोखरा विज्ञान तथा प्रविधि क्याम्पस र धरानस्थित सुनसरी टेक्निकल कलेजमा बी.टेक. इन फुड टेक्नोलोजी अध्यापन हुन्छ ।

विराटनगरको विराट बहुमुखी क्याम्पस, धरानको धरान बहुमुखी क्याम्पस, सुनसरीको नीलगिरि कलेज र नवलपरासीको नागरिक कलेज भने त्रिभुवन विश्वविद्यालयद्वारा एक वर्षको लागि विभागीय कारबाहीमा परेका छन् । गत शैक्षिक सत्रमा प्रवेश परीक्षाविना भर्ना लिएको भन्दै यस शैक्षिक सत्र (२०८२/०८३) मा यी क्याम्पसहरूमा बी.टेक. इन फुड टेक्नोलोजी अध्यापनमा रोक लगाइएको छ । आगामी वर्षबाट भने विश्वविद्यालयका नियमअनुसार सञ्चालनको अनुमति पाउनेछन् ।

यस्तै, पूर्वाञ्चल विश्वविद्यालयले पनि विज्ञान तथा प्रविधि सङ्कायअन्तर्गत बी.टेक. इन फुड टेक्नोलोजी राखेको छ । कलेज अफ अप्लाइड फुड एन्ड डेरी टेक्नोलोजी (CAFODAT) यो विश्वविद्यालयअन्तर्गत बी.टेक. इन फुड टेक्नोलोजी पढाउने एक्लो क्याम्पस हो । सन् २००५ देखि बी.टेक. इन फुड टेक्नोलोजी अध्यापन सुरु गरेको यस क्याम्पसमा ४८ कोटा निर्धारण गरेर अध्यापन गराइन्छ ।

कसले पढ्न पाउँछन् ?

मान्यताप्राप्त शैक्षिक संस्थाबाट विज्ञान विषय वा सो सरहको योग्यता हासिल गरेका विद्यार्थीहरूले यो विषय पढ्न पाउँछन् ।

शुल्क कति लाग्छ ?

केन्द्रीय प्रविधि क्याम्पसमा २४ जना पूर्ण सशुल्क र २४ जनालाई छात्रवृत्ति उपलब्ध गराइन्छ । जसमा २४ जना विद्यार्थीले बी.टेक. इन फुड टेक्नोलोजीमा अध्ययनका लागि बढीमा चार लाख रुपैयाँ शुल्क तिर्छन् । छात्रवृत्ति पाउने २४ जना विद्यार्थीले भने ५० हजारभन्दा कम शुल्कमा अध्ययन पूरा गर्छन् । त्रिवि सम्बन्धन प्राप्त निजी तथा सामुदायिक क्याम्पसहरूले ६ देखि ८ लाख रुपैयाँसम्म शुल्क तोक्ने गरेका छन् ।

कलेज अफ अप्लाइड फुड एन्ड डेरी टेक्नोलोजीमा भने स्नातक तहमा ६ लाख ५० हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । विश्वविद्यालयको नियमअनुसार १०% छात्रवृत्तिसमेत उपलब्ध गराइन्छ । क्याम्पसका उप-प्राध्यापक डा. भक्तप्रल्हाद पाण्डेका अनुसार यसै शैक्षिक सत्रमा सबैभन्दा पहिला भर्ना हुने २० जना विद्यार्थीलाई एक लाख ५० हजार रुपैयाँ छुट दिने निर्णयसमेत क्याम्पसले गरेको छ ।

कस्ता विषयहरू बी.टेक. इन फुड टेक्नोलोजीमा अध्यापन हुन्छ ?

भौतिकशास्त्र, रसायनशास्त्र, जीवविज्ञान, मेडिकल माइक्रोबायोलोजी, इन्डस्ट्रियल माइक्रोबायोलोजी, फुड प्रोसेस इन्जिनियरिङलगायतका विषयहरू अध्यापन गराइन्छ । विद्यार्थीहरूले खाद्य पदार्थको उत्पादनदेखि उपभोगसम्मका विभिन्न चरणमा चाहिने ज्ञान र सीपहरू पनि फुड टेक्नोलोजीअन्तर्गत सिक्छन् ।

यसअन्तर्गत खेतबारीमा उब्जनी भएको खाद्यान्नलाई सही समयमा भित्र्याउनेदेखि खाद्यको गुणस्तर जाँच गर्ने, नयाँ खाद्य पदार्थहरू विकास गर्ने, लामो समयसम्म खाद्य पदार्थ भण्डारण गर्ने प्राविधिक ज्ञान, प्याकेजिङ टेक्नोलोजी र खाद्यमा पोषक तत्त्वको कमी भएमा आवश्यक तत्त्वहरू मिसाउने लगायतका विषयवस्तु पनि विद्यार्थीहरूले अध्ययन गर्छन् ।

कृषि उपज उत्पादन भइसकेपछि त्यसलाई कसरी राम्रोसँग प्रशोधन गर्ने भन्ने प्राविधिक ज्ञान यही विषयमा सिक्न सकिन्छ । गहुँ, मकै, चामलजस्ता कृषि उपजबाट बियर, रक्सी, बिस्कुट, चाउचाउ, पास्ताजस्ता नयाँ पदार्थहरू बनाउने विधि पनि खाद्य प्राविधिकले सिक्छन् । फुड टेक्नोलोजीले खाद्य पदार्थको सेल्फ लाइफ (self-life) बढाउन महत्त्वपूर्ण भूमिका खेल्छ । यसमा लामो समयसम्म खाद्य पदार्थ भण्डारण गर्ने प्रविधिहरू समावेश हुन्छन् ।

बजारमा पाइने खानेकुरा उपभोक्ताका लागि खान योग्य छ वा छैन, खाद्य पदार्थमा मिसावट वा विषादीको प्रयोग भए-नभएको जाँच गर्ने तरिका विद्यार्थीलाई सिकाइन्छ । फुड टेक्नोलोजिस्टले खाद्य पदार्थमा पोषक तत्त्वको कमी भएमा आवश्यक तत्त्वहरू मिसाउने काम पनि जानेका हुन्छन् । उदाहरणका लागि, नुनमा आयोडिन मिसाउने काम पनि खाद्य प्राविधिकको हो ।

करिअर कहाँ-कहाँ पाउन सकिन्छ ?

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको केन्द्रीय कार्यालय, हरेक जिल्ला तथा नाकामा खाद्य प्राविधिक अनिवार्य रूपमा आवश्यक पर्छ । नेपाल गुणस्तर तथा नापतौल विभागमा पनि यस विषयमा पढेका विद्यार्थीले सरकारी जागिरका लागि प्रतिस्पर्धा गर्न सक्छन् ।

खाद्य प्राविधिकले गुणस्तर जाँच नगरी कुनै पनि खाद्य पदार्थ उत्पादन गरेर बिक्री-वितरण गर्न पाइँदैन । त्यसैले नेपालका सबै खाद्य उद्योगहरूमा खाद्य प्राविधिकहरूको आवश्यकता पर्छ । नेपालमा उत्पादन भएका वा विदेशबाट आयात गरिने खाद्य पदार्थहरूको गुणस्तर अनुसन्धान र परीक्षण गर्ने ल्याबहरूमा काम गर्न सकिन्छ । सरकारी तथा निजी ल्याबहरूमा पनि खाद्य प्राविधिकका लागि अवसर उपलब्ध छन् ।

अस्पतालहरूमा डाइटिसियनको रूपमा काम गर्ने अवसर पनि रहन्छ । पोषणसम्बन्धी क्षेत्रमा पनि फुड टेक्नोलोजिस्टको भूमिका रहन्छ । जसमा खाद्य पदार्थमा पोषक तत्त्वको कमी भएमा आवश्यक तत्त्वहरू मिसाउने वा सुझाव दिने काम खाद्य प्राविधिकले गर्न सक्छन् । विभिन्न सरकारी, गैरसरकारी संस्था, संयुक्त राष्ट्र सङ्घ, विश्व स्वास्थ्य सङ्गठनमा पनि खाद्य प्राविधिकको माग उच्च छ ।

बेकरी उद्योग, पेस्ट्री उद्योग, दुग्ध प्रशोधन उद्योग, सस तथा क्यान्डीजस्ता खाद्य पदार्थ उत्पादन गरी निर्यात वा बजारमा बिक्री गर्ने लगायतका काम गरेर आफ्नै खाद्य उद्योगसमेत सञ्चालन गर्न सकिन्छ । फुड टेक्नोलोजीको कोर्स पूरा गरेपछि नेपाली विद्यार्थीहरूले अस्ट्रेलिया, क्यानडा, अमेरिकालगायत विकसित देशहरूमा पनि फुड टेक्नोलोजिस्टका रूपमा काम गरिरहेका छन् भने स्नातकोत्तर र विद्यावारिधिका लागि छात्रवृत्ति पाएर विदेशी विश्वविद्यालयमा अध्ययनसमेत गरिरहेका छन् ।

पछिल्लो अध्यावधिक: साउन २८, २०८२ १६:३०