close

सूचना प्रविधि विधेयकका नागरिक स्वतन्त्रता कुण्ठित गर्ने प्रावधान स्वीकार्य छैनन्: वर्षमान पुन

टेकपाना टेकपाना

साउन २९, २०८२ ११:३५

सूचना प्रविधि विधेयकका नागरिक स्वतन्त्रता कुण्ठित गर्ने प्रावधान स्वीकार्य छैनन्: वर्षमान पुन

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद वर्षमान पुनले सरकारले सदनमा प्रस्तुत गरेको सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयकमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने प्रावधान राखिएकोमा आपत्ति जनाएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङद्वारा प्रस्तुत ‘विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्तावमा धारणा राख्दै पुनले आफ्नो दल संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने प्रयासको विपक्षमा रहेको बताए ।

विधेयकका कतिपय प्रावधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण गर्न खोजेको उनको टिप्पणी थियो । “हामीले संविधानमा ‘लिबरल’ व्यवस्था गरेका छौँ । विधेयकमार्फत नागरिकका स्वतन्त्रता हनन हुने खालका काम गर्न मिल्दैन,” पूर्वअर्थमन्त्री समेत रहेका पुनले भने, “अभिव्यक्ति स्वतन्त्रताका कुरा छन्, प्रेस स्वतन्त्रताका कुरा छन् । नागरिकका गोपनीयताका हकका कुरा छन् । यसमा कहीँ पनि बाधा पुग्नु हुँदैन ।”

विश्वभर साइबर सुरक्षा राष्ट्रिय सुरक्षाको चुनौतीका रूपमा रहेको भन्दै पुनले विगतमा पनि पटकपटक नागरिक स्वतन्त्रतामा सङ्कुचन हुने गरी ल्याइएका विधेयक विवादित भएर सरकार पछि हटेको प्रसङ्ग उल्लेख गरे । पुनले सङ्कुचनकारी प्रावधानलाई संशोधनको प्रक्रियामार्फत सच्याएर विधेयक पारित हुनुपर्नेमा जोड दिए । उनले कानुन निर्माण गर्दा विश्व समुदायलाई पनि आश्वस्त पारिनुपर्ने बताए । “हामीले कानुन बनाउँदा ‘स्ट्यान्डर्ड मेन्टेन’ गर्नुपर्छ, दुनियाँलाई विश्वास दिलाउनुपर्ने हुन्छ,” उनले भने ।

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लगायतका सूचना प्रविधि क्षेत्रका पछिल्ला विकासले नयाँ-नयाँ अवसर र चुनौती सँगै ल्याएको भन्दै पुनले त्यो क्षेत्रलाई प्रवर्द्धन र नियमन सँगसँगै गर्नुपर्नेमा सरकार र सदनको ध्यान जानुपर्ने स्पष्ट पारे । पूर्वअर्थमन्त्रीसमेत रहेका पुनले गत आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत सूचना प्रविधि क्षेत्रको विकासमा जोड दिएको स्मरण गरे । “गत वर्षको बजेटमा हामीले आईसीटी सेक्टरलाई समृद्धिको क्षेत्र बनाउने घोषणा गरेका थियौँ । सम्माननीय प्रधानमन्त्रीज्यूले आज (बुधबार)कै सम्बोधनमा पनि ४.२ प्रतिशतको आर्थिक वृद्धि गर्‍यौँ भनिराख्दा गत वर्षको नीति, कार्यक्रम र बजेटले नै आजको प्रगति देखाएको हो भन्ने कुरा यहाँ बिर्सन मिल्दैन,” पुनले भने, “हामीले आईटी दशक नै घोषणा गरेका थियौँ, जसबाट १० वर्षमा ५ लाख प्रत्यक्ष र १० लाख अप्रत्यक्ष गरी १५ लाखलाई रोजगारी सिर्जना गर्ने र ३० खर्बको आईटी सेवा निर्यात गर्ने कुरा गरेका थियौँ ।”

 

पछिल्लो अध्यावधिक: साउन २९, २०८२ ११:३५