टेलिफोन, इन्टरनेट, सञ्चार, मौसम पूर्वानुमान र विद्युत् लगायतका क्षेत्रमा बन्द-हडताल निषेध
जेठ २६, २०८३ १६:१२
काठमाडौँ । सरकारले नागरिकको दैनिक जीवन र सूचना प्रविधिसँग जोडिएका अति आवश्यक क्षेत्रहरूमा हड्ताल गर्न पूर्ण रूपमा निषेध गरेको छ । सोमबार नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले इन्टरनेट, टेलिफोन, सञ्चार, मौसम पूर्वानुमान र विद्युत् जस्ता महत्त्वपूर्ण सेवाहरूमा कुनै पनि बहानामा हड्ताल वा बन्द गर्न नपाइने व्यवस्था गरेको हो ।
गृह मन्त्रालयले ‘आवश्यक सेवा सञ्चालन ऐन, २०१४’ को दफा ३ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गर्दै विभिन्न २५ वटा क्षेत्रलाई आवश्यक सेवाको सूचीमा राखेर हड्ताल गर्न रोक लगाएको छ । विशेषगरी प्रविधि तथा सञ्चार क्षेत्रलाई प्राथमिकता दिँदै सरकारले इन्टरनेट सेवा, डाँक, तार वा टेलिफोन सेवा र समग्र सञ्चार सेवालाई यस सूचीमा समावेश गरेको छ ।
यसको अर्थ अब सूचना प्रविधिका पूर्वाधारहरूमा अवरोध पुर्याउने वा इन्टरनेट र टेलिफोन सेवा ठप्प पार्ने गरी कुनै पनि आन्दोलन वा हड्ताल गर्न कानुनी रूपमा बन्देज लगाइएको छ । यसैगरी, प्रविधिमा आधारित मौसम पूर्वानुमान, बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवालाई पनि अत्यावश्यक सेवा मानेर हड्ताल निषेध गरिएको छ । सञ्चार र प्रविधि उपकरण सञ्चालनको मुख्य आधार रहेको विद्युत् सेवामा पनि हड्ताल गर्न पाइने छैन ।
प्रविधि र सञ्चार बाहेक सरकारले अन्य दैनिक उपभोग्य तथा नभई नहुने सेवाहरूलाई पनि यो सूचीमा समेटेरको छ । जसमा निम्नअनुसारका सेवाहरू रहेका छन् ।
-
जल, स्थल वा हवाई यातायात तथा विमानस्थलको रेखदेख ।
-
अस्पताल, स्वास्थ्य केन्द्र (एम्बुलेन्ससहित) र औषधि निर्माण तथा बिक्री वितरण ।
-
खानेपानी सञ्चालन तथा वितरण
-
बैंकिङ र बीमा सेवा
-
फोहोरमैला व्यवस्थापन, सङ्कलन र ढुवानी
-
पेट्रोलियम पदार्थ (एलपी ग्याँससमेत) को पैठारी, ढुवानी र वितरण
-
दैनिक उपभोग्य वस्तुहरू (खाद्यान्न, दाल, चामल, नुन, तेल)
-
मास्क र ह्यान्ड सेनिटाइजर सम्बन्धी सेवा
-
राहदानी विभाग र कन्सुलर सेवा विभागबाट प्रदान हुने सेवा
-
प्रिन्ट वा सरकारी छापाखाना
-
आन्तरिक सुरक्षा र हातहतियार सम्बन्धी सेवा
-
पर्यटन आवास, मोटेल, होटेल र रिसोर्ट
-
भेटेरिनरी सेवा
पछिल्लो अध्यावधिक: जेठ २६, २०८३ १६:४८
