नेपालको आईटी र दूरसञ्चार क्षेत्रमा अमेरिकाको चासो, उपविदेशमन्त्रीले जाहेर गरिन् सहकार्यको इच्छा
जेठ १८, २०८३ २०:५८
काठमाडौँ । अमेरिकाले नेपालको सूचना प्रविधि (आईटी), डिजिटल पूर्वाधार र दूरसञ्चार क्षेत्रमा चासो व्यक्त गरेको छ । सोमबार सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँगको भेटमा संयुक्त राज्य अमेरिकाकी सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी रोजर्सले यस क्षेत्रमा सहकार्य गर्न आफूहरू इच्छुक रहेको बताएकी हुन् ।
मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै शिष्टाचार भेटवार्ताका क्रममा विभिन्न विषयमा द्विपक्षीय छलफल भएको जनाएको छ । त्यस क्रममा नेपाल र अमेरिकाबिचको द्विपक्षीय सम्बन्ध, आईटी, दूरसञ्चार, डिजिटल सुरक्षा तथा लगानी विस्तारका विविध आयामहरूमा छलफल भएको बताइएको छ ।
भेटका क्रममा अमेरिकी उपविदेशमन्त्री रोजर्सले नेपाल र अमेरिकाबिचको सम्बन्ध मैत्रीपूर्ण र सहयोगात्मक रहेको चर्चा गरेकी थिइन् । त्यस क्रममा उनले सूचना प्रविधि र दूरसञ्चारको विकासमा नेपालसँग सहकार्य गर्न अमेरिका इच्छुक रहेको बताएकी हुन् ।
उनले नेपालको सूचना प्रविधि र दूरसञ्चार क्षेत्रमा लगानीमैत्री वातावरण थप सुदृढ हुन सकेमा अमेरिकी निजी क्षेत्रको लगानी आकर्षित हुन सक्ने धारणा समेत व्यक्त गरिन् । लगानी विस्तारका लागि नीतिगत स्थिरता र आवश्यक सहजीकरणको अपेक्षा गर्दै उनले डिजिटल पूर्वाधार निर्माणमा अमेरिकाले सहयोग गर्ने प्रतिबद्धता समेत जनाएकी थिइन् ।
उपविदेशमन्त्री रोजर्सले इन्टरनेट स्वतन्त्रताको संरक्षणमा जोड दिँदै डिजिटल माध्यमबाट सिर्जित चुनौतीहरूको व्यवस्थापनमा सहकार्य गर्नुपर्ने आवश्यकता औँल्याएकी थिइन् । विशेषगरी अनलाइन ठगी, अश्लील सामग्रीको प्रसार र बालमैत्री संवेदनशील सामग्रीको नियन्त्रण जस्ता क्षेत्रमा दुवै देश मिलेर काम गर्न सक्ने उनको भनाइ थियो ।
सञ्चारमन्त्री तिमिल्सिनाले नेपाल र अमेरिकाबिचको सम्बन्ध सुदृढ र सहकार्यमा आधारित रहेको उल्लेख गर्दै नेपालले विपद्का समयमा अमेरिकाबाट प्राप्त गरेको सहयोग र विकास सहायताप्रति कृतज्ञता व्यक्त गरे । उनले नेपाल हाल सूचना प्रविधिमार्फत आर्थिक र प्रशासनिक रूपान्तरणको मार्गमा अघि बढिरहेको जानकारी गराएका थिए ।
नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउनु सरकारको प्राथमिकतामा रहेको स्पष्ट पार्दै मन्त्री तिमिल्सिनाले डिजिटल पूर्वाधार र दूरसञ्चार क्षेत्रमा लगानी आकर्षित गर्न नीतिगत सुधार भइरहेको अवगत गराएका थिए । साथै, उनले नेपालमा राजनीतिक स्थिरता कायम भएको र सरकार सुशासन, पारदर्शिता एवं संस्थागत सुधारप्रति प्रतिबद्ध रहेको बताए ।
भेटका क्रममा सञ्चारमन्त्री तिमिल्सिनाले सरकार सामाजिक सञ्जाल नियन्त्रण गर्ने पक्षमा नरहेको स्पष्ट पारेका थिए । तर, इन्टरनेट स्वतन्त्रताको संरक्षण गर्दै एउटा जिम्मेवार र उत्तरदायी डिजिटल वातावरण निर्माणका लागि आवश्यक नियामकीय प्रबन्ध गर्न सरकारले गृहकार्य गरिरहेको उनको भनाइ थियो ।
भेटघाटका अवसरमा सूचना तथा सञ्चार मन्त्रालयका सचिव, परराष्ट्र मन्त्रालयका प्रतिनिधि र अमेरिकी नियोगका उच्च अधिकारीहरूको समेत सहभागिता रहेको थियो ।
पछिल्लो अध्यावधिक: जेठ १८, २०८३ २१:८
