close

नि:शुल्क प्रवेश परीक्षा तयारी कक्षा सञ्चालन गर्दै लुम्बिनी प्राविधिक विश्वविद्यालय

टेकपाना टेकपाना

साउन २९, २०८२ १६:३४

नि:शुल्क प्रवेश परीक्षा तयारी कक्षा सञ्चालन गर्दै लुम्बिनी प्राविधिक विश्वविद्यालय

काठमाडौँ । आफ्नो विश्वविद्यालयमा भर्ना हुन चाहने विद्यार्थीहरूलाई लुम्बिनी प्राविधिक विश्वविद्यालय आफैँले प्रवेश परीक्षाको तयारी गराउने भएको छ । बुधबार विश्वविद्यालयको इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थानले एक सूचना जारी गर्दै आगामी ५ भदौदेखि तयारी कक्षा सञ्चालन गर्ने जानकारी दिएको हो । 

सूचना अनुसार नेपालगञ्जस्थित केन्द्रीय क्याम्पसमा बिहान ७ देखि ९ बजेसम्म प्रवेश परीक्षाको तयारी कक्षा सञ्चालन हुनेछ । संस्थानले खुलाएका सबै विषयमा अध्ययन गर्न चाहने विद्यार्थीहरूले तयारी कक्षामा सहभागिता जनाउने सक्ने संस्थानका डिन डा. निरज केसीले जानकारी दिए । 

उनका अनुसार प्रवेश परीक्षाका लागि आवेदन दिएका तथा अन्य विद्यार्थीहरूले नि:शुल्क तयारी कक्षा लिन पाउनेछन् । फिजिक्ज, केमेस्ट्री, गणित, अङ्ग्रेजी विषयमा अध्यापन गर्ने भएकाले सोही अनुसार नै कक्षा लिइन्छ । 

“विश्वविद्यालय सञ्चालनमा भएको धेरै समय भएको छैन । हामीले गरिरहेको कामको प्रचार पनि होस् र विद्यार्थीहरू पढ्न प्रेरित हुन् भनेर नि:शुल्क कक्षा सञ्चालन गर्न लागेका हौँ,” डा. केसीले टेकपानासँग भने ।


 

लुम्बिनी प्राविधिक विश्वविद्यालयले बीटेक अन्तर्गतका कार्यक्रममा प्रवेश परीक्षाका लागि ११ साउनदेखि आवेदन खुला गरेको छ । यसअन्तर्गत सिभिल इन्जिनियरिङ, आईटी इन्जिनियरिङ, कम्प्युटर साइन्स एन्ड आर्टिफिसियल इन्टेलिजेन्स र इन्फर्मेसन टेक्नोलोजी कार्यक्रममा ४८/४८ सिट सङ्ख्यामा आवेदन माग गरिएको छ । 

४ भदौसम्म प्रवेश परीक्षाको आवेदन फारम भर्न इन्जिनियरिङका लागि दुई हजार रुपैयाँ र अन्य कार्यक्रमका लागि एक हजार ५०० रुपैयाँ तोकिएको छ । तोकिएको समयमा आवेदन दिन छुटेमा ६ भदौदेखि ९ भदौसम्म तीन हजार रुपैयाँ तिरेर इन्जिनियरिङमा र अन्य कार्यक्रममा दुई हजार ५०० रुपैयाँ तिरेर आवेदन दिन सकिनेछ ।

डा. केसीका अनुसार हालसम्म १२० बढी विद्यार्थीले प्रवेश परीक्षाका लागि आवेदन दिएका छन् ।

पछिल्लो अध्यावधिक: साउन २९, २०८२ १६:३४