close

पोखरा विश्वविद्यालयको ‘स्टुडेन्ट पोर्टल’ सञ्चालनमा, परीक्षा आवेदनदेखि ट्रान्सक्रिप्टसम्म अनलाइनबाटै

टेकपाना टेकपाना

जेठ २, २०८३ १४:६

पोखरा विश्वविद्यालयको ‘स्टुडेन्ट पोर्टल’ सञ्चालनमा, परीक्षा आवेदनदेखि ट्रान्सक्रिप्टसम्म अनलाइनबाटै

काठमाडौँ । पोखरा विश्वविद्यालयले विद्यार्थीहरूलाई लक्षित गर्दै आधिकारिक ‘स्टुडेन्ट पोर्टल’ सञ्चालनमा ल्याएको छ । परीक्षा नियन्त्रण कार्यालयद्वारा प्रदान गरिने सेवाहरूलाई प्रभावकारी, छिटोछरितो र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ ‘पोखरा विश्वविद्यालय स्टुडेन्ट पोर्टल’ (पीयूएसपी) सुरु गरिएको हो ।

यस पोर्टलमा विश्वविद्यालयमा हाल अध्ययनरत, परीक्षाको नतिजा पर्खिरहेका वा उत्तीर्ण भइसकेका सबै विद्यार्थीले विभिन्न शैक्षिक सेवा अनलाइन माध्यमबाटै सहज रूपमा प्राप्त गर्न सक्नेछन् ।

अब विद्यार्थीहरूले परीक्षा आवेदन फारम भर्ने, नतिजा तथा ग्रेड शिट हेर्ने र ट्रान्सक्रिप्ट, माइग्रेसन एवं प्रोभिजनल सर्टिफिकेटका लागि अनलाइनबाटै आवेदन दिन सक्नेछन् ।

यसका साथै, दीक्षान्त समारोह र डिग्री प्रमाणपत्रका लागि समेत पोर्टलबाटै आवेदन दिन सकिने सुविधा छ ।

विश्वविद्यालयले सम्पूर्ण विद्यार्थीहरूलाई पोर्टलमा दर्ता (साइन अप) गरी आ–आफ्नो अकाउन्ट खोल्न सूचित गरेको छ । साथै, विश्वविद्यालय अन्तर्गतका कलेजहरूलाई आफ्ना विद्यार्थीहरूको विवरण रुजु गरी ‘स्टुडेन्ट युजर’ भेरिफाई गर्न समेत आग्रह गरिएको छ ।

विद्यार्थीले विश्वविद्यालयबाट प्राप्त गर्ने ट्रान्सक्रिप्ट नागरिक एपमार्फत समेत हेर्न सक्ने व्यवस्था मिलाइएको छ । वैदेशिक अध्ययन स्वीकृति पत्र (एनओसी) का लागि आवश्यक प्रक्रिया सहज बनाउन यो पोर्टललाई नागरिक एपसँग अन्तर–आबद्धता (इन्टिग्रेट) गरिसकिएको विश्वविद्यालयले जनाएको छ ।

पोर्टलमा विवरण समावेश नभएका विद्यार्थीहरूले एनओसी वा नागरिक एपको सुविधाका लागि पोर्टलमै गएर आवश्यक ‘रिक्वेस्ट/कन्सेन्ट एप्लिकेसन’ भरेर प्रक्रिया अगाडि बढाउन सक्नेछन् ।

पछिल्लो अध्यावधिक: जेठ २, २०८३ १४:५३