इन्डस्ट्रीकै नेतृत्वमा आईटी कोर्स तयार हुँदै, पहिलो वर्षदेखि नै काम गर्दै सिक्न पाइने
जेठ ८, २०८३ १४:५६
काठमाडौँ । नेपालको सूचना प्रविधि (आईटी) क्षेत्रमा रहेको दक्ष जनशक्तिको अभाव र स्किल ग्यापलाई सम्बोधन गर्न नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनिज् (नास-आईटी) ले स्नातक तहको नयाँ आईटी पाठ्यक्रम निर्माण सुरु गरेको छ । एकेडेमिया र इन्डस्ट्रीबिचको दूरी घटाउने लक्ष्यका साथ संस्थाले पाठ्यक्रम विकासको काम थालेको हो ।
नेपालमा वार्षिक करिब १० हजार आईटी जनशक्ति स्नातक उत्तीर्ण हुने भए पनि उनीहरूमा उद्योगले खोजेको व्यावहारिक सीपको अभाव देखिने गरेको छ । डिग्री प्राप्त गरेपछि पनि धेरै युवाले कार्यस्थलमा प्रवेश गर्नुअघि पुनः तालिम लिनुपर्ने विद्यमान बाध्यतालाई हटाउन यो पहल चालिएको हो ।
नास-आईटीले इन्डस्ट्रीको प्रत्यक्ष आवश्यकतालाई केन्द्रमा राखेर पाठ्यक्रम डिजाइन भइरहेको जनाएको छ । यो परियोजना स्विस एजेन्सी फर डेभलपमेन्ट एण्ड कोअपरेसन (एसडीसी) र स्विस कन्ट्याक्टको वित्तीय तथा प्राविधिक सहयोगमा अगाडि बढेको हो ।
नास-आईटीका अध्यक्ष गौरव पाण्डेका अनुसार इन्डस्ट्री आफैँले नेतृत्व लिएर उच्च शिक्षाको पाठ्यक्रम तयार पार्न लागेको यो नेपालको सम्भवतः पहिलो प्रयास हो । पाण्डे भन्छन्, “हामी बजारको मागअनुसारको पाठ्यक्रम निर्माण गर्दैछौँ, जसले विद्यार्थीलाई उद्योगका लागि काम गर्नसक्ने गरी तयार (Industry Ready) पार्नेछ ।”
नयाँ पाठ्यक्रम परम्परागत कोडिङमा मात्र सीमित नभई आधुनिक प्रविधिमा आधारित हुने बताइएको छ । यसमा विशेषगरी: आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तथा डेटाको बुझाइ, डेटा साइन्स, ब्लकचेन तथा क्लाउड कम्प्युटिङ, साइबर सुरक्षा र क्रिटिकल थिङ्किङ र समस्या समाधान गर्ने क्षमता जस्ता विषय समावेश हुनेछन् ।
यो पाठ्यक्रम नेसनल क्वालिफिकेसन फ्रेमवर्क (एनक्यूएफ) अनुसार तयार पारिनेछ । जसमा आईटी विज्ञ, शिक्षाविद् र सरोकारवालाहरू सक्रिय रूपमा संलग्न छन् ।
यो शैक्षिक कार्यक्रम सञ्चालनका लागि नेपाल खुला विश्वविद्यालयसँग सहकार्य गरिएको छ । यस चार वर्षे कोर्सको सबैभन्दा मौलिक विशेषता भनेकै 'वर्क-इन्टिग्रेटेड लर्निङ' रहनेछ ।
यस मोडेलअन्तर्गत विद्यार्थीहरूले अध्ययन सुरु गरेकै दिनदेखि आईटी उद्योगमा प्रत्यक्ष काम गर्दै सिक्ने अवसर प्राप्त गर्नेछन् । विश्वविद्यालयका स्कुल अफ आईटी प्रमुख डा भोजराज घिमिरेका अनुसार, डिग्री पूरा गर्दा विद्यार्थीसँग शैक्षिक प्रमाणपत्र मात्र नभई चार वर्षको वास्तविक कार्य अनुभव र इन्डस्ट्रीले खोजेको सीप समेत हुनेछ ।
पछिल्लो अध्यावधिक: जेठ ८, २०८३ १५:२
