काठमाडौँ । मेटाका सीईओ मार्क जुकरबर्गले भविष्यमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) युक्त चस्मा नलगाउने मानिस पछि पर्ने दाबी गरेका छन् । मेटाको दोस्रो त्रैमासिक आम्दानी सार्वजनिक गर्ने लगानीकर्तासँग कुराकानी गर्दै उनले एआईयुक्त चस्माको चर्चा गरेका हुन् ।
उनका अनुसार अबको केही वर्षमा एआईसँग अन्तरक्रिया गर्ने मुख्य माध्यम नै चस्मा हुनेछ । “मलाई लाग्छ चस्मा एआईका लागि सबैभन्दा उपयुक्त उपकरण हो, किनभने यसले एआईलाई तपाईँले दिनभर देखेका कुराहरू हेर्न, सुनेका कुरा सुन्न र तपाईँलाई कुरा गर्न मद्दत गर्छ,” उनले भने । यस्तो चस्मामा डिस्प्ले जडान गर्दा यसको उपयोगिता झन् बढ्ने उनको भनाइ छ ।
यस्तो डिस्प्ले मेटाको अर्को पुस्ताको ‘ओरायन एआर’ चश्मामा जस्तो होलोग्राफिक वा दैनिक प्रयोग हुने सामान्य एआई चस्माको सानो डिस्प्ले जस्तो हुनेछ । उनले आफ्नो भनाइलाई थप प्रस्ट पार्दै भने, “मलाई लाग्छ भविष्यमा यदि तपाईँसँग एआई भएको चस्मा वा एआईसँग अन्तरक्रिया गर्ने कुनै माध्यम भएन भने तपाईँ अरू मानिसको तुलनामा निकै ठुलो संज्ञानात्मक बेफाइदामा पर्नु हुनेछ ।”
मेटाले रे-बान मेटा र हालसालै सार्वजनिक ओक्ले मेटा जस्ता स्मार्ट चस्मा निर्माणमा ध्यान केन्द्रित गरिरहेको छ । यी चस्माबाट प्रयोगकर्ताले सङ्गीत सुन्न, फोटो-भिडिओ खिच्न र आफूले देखेका कुराबारे मेटा एआईलाई प्रश्न सोध्न सक्छन् । चस्मा कम्पनी एसिलरलक्सोटिकाका अनुसार रे-बान मेटाको बिक्रीबाट हुने आम्दानी गत वर्षको तुलनामा तीन गुणाभन्दा धेरै बढेको छ ।
तर, जुकरबर्गको यो महत्त्वाकाङ्क्षा सस्तो भने छैन । मेटाको ‘रियालिटी ल्याब्स’ डिभिजनले लगातार घाटा बेहोरिरहेको छ । उदाहरणका लागि मेटाका अनुसार रियालिटी ल्याब्सले दोस्रो त्रैमासिकमा ४.५३ अर्ब डलरको घाटा बेहोरेको छ । सन् २०२० देखि यस इकाईले लगभग ७० अर्ब डलर गुमाइसकेको छ । त्यसैले जुकरबर्गले यसको खर्चलाई एआई र भविष्यको कम्प्युटिङमा गरिएको लगानीका रूपमा प्रस्तुत गरेर लगानीकर्तालाई आश्वस्त पार्न खोजिरहेका छन् ।
हुन त भविष्यको एआई उपकरण चस्माकै रूपमा आउँछ भन्ने निश्चित छैन । ओपनएआईले एप्पलका पूर्व कार्यकारी जोनी आइभको स्टार्टअपलाई ६.५ अर्ब डलरमा खरिद गरेर एआईसँग अन्तरक्रिया गर्न नयाँ उपकरण तयार पार्ने योजना बनाएको छ । यसअघि ह्युमनको ‘एआई पिन’ जस्ता उपकरण असफल भइसकेका छन् भने लिमिटलेस र फ्रेन्ड जस्ता कम्पनीले पेन्डेन्टको रूपमा नयाँ उपकरण ल्याउने प्रयास गरिरहेका छन् ।
अहिलेका लागि चस्मा नै सबैभन्दा व्यावहारिक विकल्प देखिन्छ । किनभने धेरै मानिसले पहिलेदेखि नै चस्मा लगाउँछन् र यो सामाजिक रूपमा पनि स्वीकार्य छ । तर, जसरी स्मार्टफोनको आवश्यकता महसुस नगरिँदै त्यसको आविष्कार भयो, त्यसैगरी अर्को एआई उपकरण हामीले कल्पना नगरेको कुनै नयाँ स्वरूपमा आउन पनि सक्छ ।
जुकरबर्ग भने चस्मा नै भविष्य हो भन्नेमा दृढ छन् । “चस्माको अर्को राम्रो पक्ष भनेको यो भौतिक र डिजिटल संसारलाई एकै ठाउँमा मिसाउने सबैभन्दा उत्तम तरिका हो,” उनले अगाडि भने, “यसले हाम्रो मेटाभर्सको दृष्टिकोणलाई पनि अगाडि बढाउनेछ र एआईले यस प्रक्रियालाई थप गति दिनेछ ।”
पछिल्लो अध्यावधिक: भदौ १, २०८२ १९:१७
