शार्क ट्याङ्क नेपालका अधिकांश एपिसोड हिमालय टिभीको युट्युब च्यानलमा फिर्ता
भदौ २, २०८२ १४:१६
काठमाडौँ । हिमालय टेलिभिजनमा प्रसारण भइरहेको बिजनेस रियालिटी शो ‘शार्क ट्याङ्क नेपाल’ को अधिकांश एपिसोडहरू युट्युब च्यानलमा फिर्ता भएको छ । हालसम्म शार्क ट्याङ्क नेपालका १४ एपिसोड प्रसारण भएकामध्ये अधिकांश हिमालय टिभीको युट्युब च्यानलमा पुन: उपलब्ध भएका छन् ।
अहिले उक्त युट्युब च्यानलमा रहेको ‘शार्क ट्याङ्क नेपाल सिजन १’ प्ले लिस्टमा पुराना एपिसोडहरू देखिन थालेका हुन् । उक्त प्ले लिस्टमा ३७ एपिसोड रहेकामध्ये १३ ओटा प्राइभेट छन् । शार्क ट्याङ्कको एपिसोड २ बाहेकका सबै एपिसोड त्यहाँ उपलब्ध छन् ।
१८ असारबाट हिमालय टेलिभिजन तथा युट्युब च्यानलमा प्रसारण भएको शार्क ट्याङ्क नेपालको पुराना सबै एपिसोड गत बुधबार रातिदेखि प्राइभेट गरिएको थियो ।
आयोजकले प्राविधिक समस्या बताउँदै टिकटकमार्फत एपिसोड १३ र १४ लाइभ गरेको थियो । तर, सामाजिक सञ्जालमा उपलब्ध नहुँदा दर्शकहरू असुविधामा परेको भन्दै आइतबार भारतको सोनी टेलिभिजनको ‘शार्क ट्याङ्क इन्डिया' को च्यानलबाट पछिल्ला दुई एपिसोड राखेको थियो ।
हाल भने हिमालय टिभी र शार्क ट्याङ्क इन्डिया दुवैमा शार्क ट्याङ्क नेपालको एपिसोड १४ उपलब्ध छन् । पुराना तथा आगामी एपिसोडहरू पनि दुवै च्यानलमा उपलब्ध हुने जनाइएको छ ।
शार्क ट्याङ्क नेपाल सम्बन्धी टेकपानाले तयार पारेका भिडिओ सामग्रीहरू हेर्न यहाँ क्लिक गर्नुहोस् ।
पछिल्लो अध्यावधिक: भदौ २, २०८२ १४:४७
