‘फेसबुक मनिटाइजेसन सुविधा नहुँदा हजारौँ नेपाली क्रिएटर संकटमा परे, मेटासँग वार्ता गरौं’
भदौ ४, २०८२ १५:१०
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) की सांसद ज्ञानु बस्नेत सुवेदीले नेपालमा फेसबुक पेज मनिटाइजेसन अर्थात् आम्दानी गर्ने सुविधा उपलब्ध नहुँदा हजारौँ कन्टेन्ट क्रिएटरहरू आर्थिक रूपमा प्रभावित भएको बताएकी छन् ।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यो समस्याको समाधानका लागि फेसबुकसँग तत्काल औपचारिक वार्ता गर्न सरकारसँग माग गरिन् ।
“नेपालमा अहिले फेसबुक पेज मनिटाइजेसन सुविधा उपलब्ध नभएकाले हजारौँ कन्टेन्ट क्रिएटरहरू आर्थिक रूपमा प्रभावित भएका छन्,” उनले भनिन्, “यसले रोजगारी सिर्जना, डिजिटल उद्यमशीलता र अन्तर्राष्ट्रिय स्तरमा नेपाली सामग्रीको पहुँचमा समेत बाधा पुऱ्याइरहेको छ ।”
आफ्नो सिर्जनशीलता, समय र स्रोतको प्रयोग गरेर सामग्री तयार पार्नेहरूले त्यसबाट आम्दानी गर्न नपाउँदा डिजिटल क्षेत्रमा प्रतिभावान व्यक्तिहरू पलायन हुन सक्ने खतरा बढेको उनको भनाइ थियो । “क्रिएटरहरूले आफ्नो सिर्जनशीलता, समय र स्रोत प्रयोग गरेर तयार पारेको सामग्रीबाट आम्दानी गर्न नपाउँदा डिजिटल क्षेत्रमा प्रतिभा पलाउन कठिन भएको छ,” उनले थपिन् ।
यो समस्याको समाधानका लागि सरकारले कूटनीतिक पहल गर्नुपर्नेमा उनले जोड दिइन् । “यसलाई समाधान गर्न सरकारले फेसबुकसँग औपचारिक वार्ता गरी नेपालमा पनि मनिटाइजेसन सुविधा लागु गराउनुपर्दछ,” उनले भनिन् ।
मनिटाइजेसन सुविधा उपलब्ध भए नेपाली कन्टेन्ट क्रिएटरहरू अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सक्षम बन्ने र हजारौँ युवाहरूका लागि स्वरोजगारको अवसर सिर्जना हुने उनले विश्वास व्यक्त गरिन् ।
पछिल्लो अध्यावधिक: भदौ ४, २०८२ १६:४६
