close

काठमाडौँमा हुँदै डेभलपर, उद्यमी, विद्यार्थी र प्रविधिप्रेमी लक्षित गुगल आई/ओ एक्स्टेन्डेड

टेकपाना टेकपाना

भदौ ६, २०८२ ९:४८

काठमाडौँमा हुँदै डेभलपर, उद्यमी, विद्यार्थी र प्रविधिप्रेमी लक्षित गुगल आई/ओ एक्स्टेन्डेड

काठमाडौँ । काठमाडौँमा नेपाली प्रविधि समुदायको जमघटको रूपमा गुगल आई/ओ एक्स्टेन्डेड लाइट काठमाडौँ २०२५ आयोजना गर्ने भएको छ । विश्वव्यापी गुगल आई/ओ (Google I/O) कै उत्साहलाई यो इभेन्टमार्फत नेपाल ल्याउन लागिएको हो । 

कार्यक्रम आगामी २३ अगस्ट, २०२५ मा काठमाडौँको नक्साल स्थित आईआईएमएस कलेजमा दिउँसो १:०० बजदेखि ५:०० बजेसम्म आयोजना हुँदैछ। यो वर्षको संस्करणलाई लाइट (Lite) भनेर चिनाइएको छ । यदि तपाईँ प्रविधि–प्रेमी हुनुहुन्छ, आफ्नो करिअर यस क्षेत्रमा बनाउन चाहनुहुन्छ वा नयाँ साथीहरूसँग अनुभव आदान-प्रदान गर्न खोज्दै हुनुहुन्छ भने यो कार्यक्रम तपाईँका लागि विशेष अवसर बन्न सक्छ । 

यो कार्यक्रमलाई सिकाइ, कनेक्सन र प्रेरणा पाउने मौकाको रूपमा हेरिएको छ । जसले नेपालको प्रविधि समुदायलाई अझ मजबुत बनाउन योगदान पुर्‍याउनेछ ।

कार्यक्रम डेभलपर, उद्यमी, विद्यार्थी र प्रविधिप्रेमीहरूका लागि विशेष रूपमा तयार गरिएको हो, जसमा टेक टक, वर्कशप र नेटवर्किङको अवसर रहनेछ । एआई, मसिन लर्निङ, गुगल क्लाउड जस्ता अत्याधुनिक प्रविधिबारे विशेषज्ञहरूसँग प्रत्यक्ष सिक्न सकिनेछ । वर्कशप मार्फत व्यावहारिक अनुभव र गुगल क्लाउड स्किल बुस्टको पहुँच पनि पाउन सकिनेछ ।

यसपटक कार्यक्रममा गुगल डेभलपर एक्सपर्ट (GDEs) र अग्रणी उद्योग विशेषज्ञहरू (senior industry experts) को आकर्षक लाइनअप छ । जसमा नेक्स्टएआईका संस्थापक क्षितिज रिमालले ‘एजेन्ट्स अफ चेन्जः हाउ जेनएआई इज रिराइटिङ नेपाल्स फ्युचर’ विषयमा प्रस्तुति दिनेछन् ।

यसमा ईसेवाका एआई इन्जिनियर मिलन पौड्यालको ‘फ्रम रिट्राइभल टु एक्सनः एजेन्टिक एआई विद जेमनाई एन्ड एसडीके’ टेडेक्स स्पिकर तथा प्रोडक्ट म्यानेजमेन्ट एक्सपर्ट अमेय नेरकरको ‘फ्रम फ्रड प्रिभेन्सन टु पर्सनलाइज्ड एक्सपिरियन्सः एआई इम्प्याक्ट अन पेमेन्ट’ र यूएक्स इनोभेटर एन्ड प्रडक्ट स्पसलिस्ट नम्रता मोरको यूएक्स इनोभेसन इन पेमेन्ट्स विषय समेत समावेश छन् । 

यसबाहेक रिडप्टिभ इंकका सफ्टवेयर इन्जिनियर सिमरप्रित सिंहले ‘सुपरचार्ज योर डेभलपमेन्ट विद फायरबेस स्टुडियो’ विषयमा आफ्नो प्रस्तुति दिनेछन् । गुगल डेभलपर एक्सपर्ट फर एआई तथा एआई डट एमएलका सहसंस्थापक निखिलेश तायलबाट बिल्डिङ एआई एजेन्ट्स विद सेल्फ-म्यानेजिङ मेमोरी र  आईटी सेक्युरिटी तथा क्लाउड एक्सपर्ट रोशन खतिवडा वर्कशपको मेन्टरको रूपमा रहनेछन् । उनको वर्कशपको एजेन्ड जीसीपी फाउन्डेस रहेको छ । हरेक सेसनलाई सहभागीहरूले प्रत्यक्ष उपयोगी ज्ञान लिएर फर्किन सकून् भन्ने हिसाबले तयार पारिएको आयोजकले जनाएको छ ।

 

कसरी हुने सहभागी ? 

यो कार्यक्रममा सहभागी हुन निश्चित शुल्क सहित रजिस्ट्रेसन गराउनु पर्ने हुन्छ । विद्यार्थीका लागि ६०० रुपैयाँ र प्रोफेसनलका लागि ८०० रुपैयाँको टिकेट शुल्क राखिएको छ । कार्यक्रमको रजिस्ट्रेसनका लागि यहाँ क्लिक गर्नुहोस् । तर सिट भने सीमित रहेको बताइएको छ । 

 

पछिल्लो अध्यावधिक: भदौ ६, २०८२ १०:३