close

रास्वपा केन्द्रीय सदस्य पाँडे विरुद्ध अदालतमा मुद्दा, यस्तो थियो उनले पीडित महिलालाई पठाएको मेसेज

टेकपाना टेकपाना

भदौ १३, २०८२ १२:४९

रास्वपा केन्द्रीय सदस्य पाँडे विरुद्ध अदालतमा मुद्दा, यस्तो थियो उनले पीडित महिलालाई पठाएको मेसेज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य अरनिकोकुमार पाँडे विरुद्ध काठमाडौँ जिल्ला अदालतमा साइबर अपराधको मुद्दा दायर भएको छ । काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयले शुक्रबार काठमाडौँ जिल्ला अदालतमा पाँडे विरुद्ध मुद्दा दर्ता गराएको हो । 

अभियोग पत्रमा पाँडेले एक महिलालाई अश्लील, अपमानजनक तथा मानसिक यातना दिने खालका सन्देशहरू ईमेल र ह्वाट्सएपमार्फत पठाएको आरोप लगाइएको छ ।

परिवर्तित नाम ‘साइबर ब्युरो १३’ ले दर्ता गरेको जाहेरी अनुसार जाहेरवालाले आफ्नो छोरालाई विज्ञान विषय अध्ययनका लागि सुझाव लिन अरनिको कुमार पाँडेसँग सम्पर्क गरेकी थिइन् । यसै क्रममा पाँडेले प्रयोग गर्ने ईमेल र ह्वाट्सएपबाट उनलाई विभिन्न अश्लील सन्देशहरू पठाई मानसिक यातना दिएको, अपमान गरेको र दुःख हैरानी पुर्‍याएको आरोप छ ।

अभियोग पत्रमा उल्लेख भएअनुसार, पाँडेको ईमेल अकाउन्टबाट जाहेरवालाको आईक्लाउड ईमेलमा निम्न किसिमको इमेल पठाइएको थियोः 

जसको श्लील अनुवाद यस्तो हुन्छः “म तिमीप्रति धेरै निराश र दु:खी छु । मैले तिमीलाई भेटेको, नजिकिएको र सम्बन्ध राखेकोमा पछुतो लागेको छ । तिम्रो व्यवहारले मलाई बारम्बार असहज बनायो र म अब कुनै सम्पर्क राख्न चाहन्नँ । कृपया अबदेखि मलाई सम्पर्क नगर्नु ।”

यसका साथै पाँडेले आफ्नो ह्वाट्सएपबाट पीडित महिलालाई पटक पटक कल गरी "Has ur husband left u ? Is that why ?" (तिम्रो श्रीमान्ले तिमीलाई छाडेका हुन् ? त्यसैले हो ?) लगायतका मेसेज समेत पठाएर दुःख हैरानी र अपमान गरेको अभियोग लगाइएको छ ।

पाँडेले प्रहरी समक्ष दिएको बयानमा जाहेरवालासँग आफ्नो श्रीमती मार्फत चिनजान भएको र पारिवारिक भेटघाट हुने गरेको बताएका छन् । उनले जाहेरवालाले आफूप्रति एकतर्फी आशक्ति राख्न खोजेको महसुस गरेको उल्लेख गरेका छन् । यस वर्षको असार २५ गते दाँतको अप्रेसनपछि पेनकिलर सेवन गरी आराम गरिरहेको अवस्थामा जाहेरवालाले बेलायतबाट ह्वाट्सएपमा अडियो कल गरी श्रीमती घरमा भए/नभएको सोधेको र भेट्न अनुरोध गरेको बताए ।

आफ्नो श्रीमती घरमा नभएको बुझेर मात्र जाहेरवालीले भेट्न बोलाउने गरेको व्यवहार मन नपरेपछि आफूले माथि उल्लिखित अश्लील शब्द प्रयोग गरी ह्वाट्सएप मेसेज पठाएको स्वीकारोक्ति उनले दिएका छन् । उनले आफ्नो ईमेल अरू कसैले प्रयोग नगर्ने र पेनकिलर खाएकाले सम्झन नसके पनि माथि उल्लिखित ईमेल आफूले नै पठाएको हुनुपर्ने उल्लेख गरेका छन् ।

प्रहरीले अनुसन्धानका क्रममा पाँडेको साथबाट सामसङ कम्पनीको मोबाइल फोन बरामद गरेको थियो । उक्त मोबाइलमा नेपाल टेलिकमको सिमकार्ड प्रयोग भएको पाइएको छ । प्रारम्भिक प्राविधिक प्रतिवेदनअनुसार, बरामद मोबाइलमा मेसेज पठाइएको ह्वाट्सएप र ईमेल गइन अवस्थामा रहेको पाइएको थियो ।

अदालतमा दायर भएको अभियोग पत्रमा पाँडेलाई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ (१) बमोजिम कसुर गरेको ठहर गर्दै सोही दफाअनुसार एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय माग गरिएको छ । यसका साथै पाँडेको साथबाट बरामद भएको मोबाइल लगायतका भौतिक प्रमाणहरू ऐनको दफा ५६ बमोजिम जफत गर्न र पीडितलाई ऐनको दफा ५८ क र ७६ बमोजिम मनासिब क्षतिपूर्ति भराउन तथा अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ बमोजिम पीडित राहत कोषमा क्षतिपूर्ति शुल्क भराउन पनि माग गरिएको छ ।

२०८२ भदौ १२ गते काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयले तयार पारेको अभियोगपत्र १३ गते शुक्रबार मात्रै अदालतमा दर्ता गरिएको थियो । जसलाई शुक्रबार नै न्यायाधीस ध्रुवराज कार्कीको इजलासमा पेसीमा राखिएको छ । 

बुधबार मात्रै पाँडेलाई साइबर ब्युरोले पक्राउ गरी थुनामा राखेको थियो । बिहीबार उनलाई जिल्ला अदालत काठमाडौँले ४ दिनका लागि थुनामा राख्ने अनुमति दिएको थियो ।

पछिल्लो अध्यावधिक: भदौ १३, २०८२ १४:५७