close

प्रतिबन्धपछि एलन मस्कको एक्स र चिनियाँ मेसेजिङ एप विच्याट सरकारको सम्पर्कमा

टेकपाना टेकपाना

भदौ २०, २०८२ १३:२२

प्रतिबन्धपछि एलन मस्कको एक्स र चिनियाँ मेसेजिङ एप विच्याट सरकारको सम्पर्कमा

काठमाडौँ । धनाढ्य एलन मस्कको सामाजिक सञ्जाल ‘एक्स’ सूचीकरणका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको  सम्पर्कमा आएको छ ।  एक्सले सूचीकरणका लागि आवश्यक कागजातको सोधीखोजी गर्दै मन्त्रालयको आधिकारिक ईमेलमा पत्राचार गरेको हो ।

सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले एक्सले मन्त्रालयमा सूचीकरणका लागि के-के कागजत चाहिन्छ भनेर आधिकारिक ईमेलमार्फत पत्राचार गरेको जानकारी दिएका छन् । “एक्सले प्रतिबन्ध लागेपछि हामीलाई आधिकारिक माध्यममार्फत के-के कागजात र विवरण चाहिन्छ भनेर ईमेल पठाएको छ । म अहिले एक्सले पठाएको ईमेलकै रिप्लाई गर्दैछु । सूचीकरणका लागि चाहिने सबै विवरण पठाउँदैछौँ,” ठाकुरले टेकपानासँग भने । 

त्यसैगरी, चिनियाँ मेसेजिङ एप विच्याटले पनि सूचीकरणका लागि इच्छा देखाएर सम्पर्कमा आएको उनले बताए । विच्याटले भने सरकारले आधिकारिक रूपमा विवरणहरू पठाएको छैन । 

“विच्याटले पनि आफ्नो प्लेटफर्म सूचीकरणका लागि इन्ट्रेस्ट देखाएर हाम्रो सम्पर्कमा आएको छ । तर, उसले कुनै पनि विवरण वा कागजात पठाएको छैन,” ठाकुरले भने । 

यस्तै, हाम्रो पात्रोले पनि सूचीकरणका लागि अपुग भएका सबै कागजात मन्त्रालयमा पठाइसकेको उनले जानकारी दिए । हाम्रो पात्रोलाई पनि सञ्चार मन्त्रालयले बिहीबार प्रतिबन्धको सूचीमा राखेपछि कागजात पठाएको थियो । तर, कागजात अपुग भएको भन्दै मन्त्रालयले थप विवरण माग गरेकोमा हाम्रो पात्रोले सबै कागजात पठाइसकेको प्रवक्ता ठाकुरले जानकारी दिए ।

बिहीबार सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको अध्यक्षतामा बसेको बैठकले सूचीकरण नभएका २६ ओटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरी कार्यान्वयनका लागि नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको थियो । त्यसपछि प्राधिकरणले मोबाइल सेवा प्रदायक र इन्टरनेट कम्पनीहरूलाई प्रतिबन्धित प्लेटफर्ममा पहुँच बन्देज लगाउन निर्देशन दिएको हो । त्यसपछि क्रमैसँग फेसबुक, एक्स, इन्स्टाग्राम, युट्युबसहित २६ ओटा सामाजिक सञ्जाल नेपालमा चल्न छोडेका छन् ।    

सरकारले बन्द गरेका कुनै पनि सामाजिक सञ्जालले सूचीकरणको प्रक्रिया पूरा गरे तुरन्तै दूरसञ्चार प्राधिकरणमार्फत प्रतिबन्ध फुकुवा गर्ने जनाएको छ ।

 

पछिल्लो अध्यावधिक: भदौ २०, २०८२ १३:२२