काठमाडौँ । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, बढ्दो भ्रष्टाचार, बेथिती र नेपाली राजनीतिज्ञका सन्तानको विलासी जीवनशैलीको विरोध गर्दै आन्दोलनमा उत्रिएको जेन-जीलाई नेपाली सेनाले संयमित भइदिन अनुरोध गरेको छ ।
मङ्गलबार एक विज्ञप्ति जारी गर्दै सेनाले आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको हो । सेनाले विद्यमान परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्दै संयमित हुन सम्पूर्ण युवा जनशक्ति र देशवासीमा अनुरोध गरेको छ ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, राष्ट्रिय एकताको रक्षा र नेपाली जनताको जिउधनको सुरक्षार्थ विषम परिस्थितिमा पनि नेपाली सेना प्रतिबद्ध रही आएको छ । नेपालमा हाल भइरहेको ‘जेनजी’ आन्दोलनका विकसित घटनाक्रमबारे नेपाली सेनाले विश्लेषण गरिरहेको छ ।”
आन्दोलनका क्रममा भएको मानवीय क्षतिप्रति दुःख प्रकट गर्दै सेनाले दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्नुका साथै शोक सन्तप्त परिवारजन प्रति हार्दिक समवेदना र सहानुभूति व्यक्त गरेको छ । विज्ञप्तिमा अगाडि भनिएको छ, “यस विषम परिस्थितिमा देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्त्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो ।” सेनाले आफ्नो विज्ञप्तिमार्फत देश र जनताको हित तथा सुरक्षामा सदैव समर्पित रहेको प्रतिबद्धतासमेत जनाएको छ।
पछिल्लो अध्यावधिक: भदौ २४, २०८२ १९:३९
