‘सञ्चार मन्त्रालय जेनजीका लागि सबैभन्दा महत्त्वपूर्ण, डिजिटल रूपान्तरण गर्ने यो सही मौका हो’
असोज ३, २०८२ १४:२७
आज जेनजीलाई सम्बोधन गरेर केही कुरा लेख्न मन लाग्यो । हामी त इन्टरनेटसँग जोडिएको करिब ३० वर्ष बिताइसकेका पुराना मान्छे भयौँ । जुन बेला इन्टरनेट भनेको मोडेमको टिटिटिटि मात्र थियो । त्यसैबेलादेखि आईसीटीको विकासलाई नजिकबाट देख्दै आएका छौँ ।
आज त आर्टिफिसियल इन्टेलिजेन्सयुक्त मोबाइलको युग आएको छ । सूचना तथा सञ्चार प्रविधि अब केवल एउटा क्षेत्र मात्र होइन, हाम्रो भविष्यको मेरुदण्ड बनेको छ । यही कारणले सूचना, सञ्चार तथा प्रविधि मन्त्रालय आज जेनजीका लागि सबैभन्दा महत्त्वपूर्ण मन्त्रालय बनेको छ ।
याद गर्नुपर्छ- सोसल मिडिया बन्द गर्ने सूत्रधार यही मन्त्रालय नै थियो । तपाईँहरूको स्वरलाई रोक्ने, इन्टरनेटलाई अनलाइन-अफलाइन गर्ने शक्ति यहीसँग छ । तर अर्कोतर्फ, यही मन्त्रालयले डिजिटल पूर्वाधार अघि बढाउने र डिजिटल रूपान्तरण सम्भव बनाउने काम पनि गर्छ । इन्टरनेट अब विलासिता होइन; सेन्सरविहीन रूपमा सबैले पाउनुपर्ने आधारभूत अधिकार हो ।
दुर्भाग्यवश, विगतमा यो क्षेत्र राजनीतिक हस्तक्षेप, आ–आफ्ना मान्छे अनि क्रोन क्यापिटालिजम अर्थात् मिलेमतो पुँजीवादको शिकार भएको थियो । जसले सेवा र अवसर असमान तरिकाले बाँडिन्थे ।
तर अब समय फरक छ । यही मन्त्रालयले हाम्रो देशको डिजिटल भविष्य तय गर्नेछ । त्यसैले यस यात्रालाई सुरक्षित राख्ने, सुधार्ने र सही बाटोमा लैजाने जिम्मेवारी तपाईंहरूको काँधमा छ । किनभने प्रविधि बुझ्ने, चलाउने र बदल्ने शक्ति तपाईंहरूसँग नै छ ।
हामीले धेरै उतार–चढाव देख्यौँ । तर अब यो कथा तपाईंहरूले लेख्नुपर्नेछ । इन्टरनेट मात्र होइन- यो तपाईंहरूको भविष्य हो ।
(इन्टरनेट सेवा प्रदायक संघ (आईस्पान) का पूर्व अध्यक्ष एवं भायानेट कम्युनिकेसन्स सञ्चालक बोहोराले फेसबुकमा राखेको पोस्टमा आधारित)
पछिल्लो अध्यावधिक: असोज ३, २०८२ १४:२९
