close

विन्डोजका ८ उपयोगी फिचरहरू, जसले बनाउँछन् तपाईंको कामलाई सहज

टेकपाना टेकपाना

असोज ८, २०८२ ११:३४

विन्डोजका ८ उपयोगी फिचरहरू, जसले बनाउँछन् तपाईंको कामलाई सहज

काठमाडौँ । यदि तपाईँ वर्षौँदेखि विन्डोज कम्प्युटर प्रयोग गर्दै आउनुभएको छ भने पनि यस्ता धेरै फिचरहरू छन्, जुन तपाईँको नजरमा परेका छैनन् होला । विन्डोज ११ मा यस्ता केही बिल्ट-इन (built-in) फिचरहरू छन्, जसले तपाईँको उत्पादनशील क्षमता, व्यवस्थापन र दैनिक सहजतालाई निकै सुधार गर्न सक्छन् ।

यी फिचरहरू सेटिङमा लुकेका वा अन्य चर्चित एपहरूको छायामा परेका हुन सक्छन् । फाइल शेरिङदेखि लिएर मल्टिपल वर्कस्पेस बनाउनेसम्मका यी बिल्ट-इन टुलले तपाईँको कम्प्युटर प्रयोग गर्ने तरिकालाई नै बदलिदिन सक्छन् । यहाँ त्यस्तै ८ उपयोगी विन्डोज फिचरहरूको बारेमा चर्चा गर्दैछौँ ।

१. नियरबाई शेयरिङ (Nearby Sharing)

यदि तपाईँले नजिकैको कम्प्युटरमा फाइल पठाउनका लागि पेनड्राइभ वा ईमेलको झन्झट बेहोर्नुभएको छ भने नियरबाई शेयरिङ तपाईँको लागि निकै उपयोगी हुन सक्छ । यो फिचरले नजिकै रहेका दुई पीसीहरूबिच ताररहित रूपमा फाइलहरू आदान प्रदान गर्न मद्दत गर्छ । जसको लागि कुनै थर्ड-पार्टी (third-party) एप आवश्यक पर्दैन ।

यसले ब्लुटुथ र वाई-फाईको प्रयोग गरेर नजिकैका डिभाइसहरू पत्ता लगाउँछ र सिधै फाइल पठाउँछ । यसलाई प्रयोग गर्न दुवै कम्प्युटरमा नियरबाई शेयरिङ फिचर अन गर्नुहोस् र फाइलमा राइट-क्लिक गरी ‘शेयर’ अप्सन छान्नुहोस् । साना डकुमेन्ट, फोटो वा अन्य फाइलहरू छिटो पठाउन यो फिचर निकै सुविधाजनक छ । यद्यपि ठुला फाइलहरू पठाउन भने यो त्यति छिटो नहुन सक्छ ।

२. भर्चुअल डेस्कटप्स (Virtual Desktops)

यदि तपाईँले कहिल्यै अर्को स्क्रिन नकिनिकनै धेरै मनिटर भएको महसुस गर्न चाहनुभएको छ भने भर्चुअल डेस्कटप्सले तपाईँलाई त्यो सुविधा दिन सक्छ । यसले एउटै कम्प्युटरमा विभिन्न कामको लागि अलग-अलग वर्कस्पेस (workspace) प्रदान गर्दछ ।

तपाईँ एउटा डेस्कटप कामको लागि, अर्को व्यक्तिगत ब्राउजिङको लागि र तेस्रो अनुसन्धानका लागि छुट्याउन सक्नुहुन्छ । टास्क भ्यु (Task View) बटन वा Win + Ctrl + Left/Right Arrow किबोर्ड शर्टकट प्रयोग गरेर सजिलै एक डेस्कटपबाट अर्कोमा जान सकिन्छ । यसले तपाईँको डेस्कटपलाई विभिन्न प्रयोजनका एपहरूले भरिनबाट जोगाउँछ ।

३. स्न्याप लेआउट्स (Snap Layouts)

विन्डोजमा मल्टिटास्किङका लागि धेरै फिचरहरू छन् । तर स्न्याप लेआउट्स सबैभन्दा उत्कृष्टमध्येको एक हो । यदि तपाईँलाई स्क्रिनमा धेरै विन्डोजहरू मिलाउन गाह्रो हुन्छ भने यो फिचरले तपाईँको कामलाई निकै सजिलो बनाइदिन्छ ।

कुनै पनि विन्डोको म्याक्सिमाइज (maximize) बटनमा होभर (hover) गर्दा वा माउस लैजाँदा विभिन्न ग्रिड विकल्पहरू देखा पर्छन् । जसबाट तपाईँ आफ्नो विन्डोलाई स्क्रिनको आधा, चौथाइ वा तिहाइ भागमा तुरुन्तै मिलाउन सक्नुहुन्छ । Win + Arrow Keys प्रयोग गरेर किबोर्डबाटै यसलाई नियन्त्रण गर्न पनि सकिन्छ ।

४. कस्टमाइजेबल टचप्याड जेस्चर (Customizable Touchpad Gestures)

तपाईँले आफ्नो ल्यापटपको टचप्याड दैनिक प्रयोग गर्नुहुन्छ । तर यो तपाईँले सोचेभन्दा धेरै शक्तिशाली हुन सक्छ । Settings > Bluetooth & devices > Touchpad मा गएर तपाईँले आफ्नो आवश्यकता अनुसार जेस्चरहरूलाई पर्सनलाइज गर्न सक्नुहुन्छ ।

तीन वा चार औँलाले स्वाइप गर्दा एपहरू स्विच गर्ने, डेस्कटप देखाउने वा भर्चुअल डेस्कटपहरू एक्टिभ गर्ने जस्ता कामहरू गर्न सकिन्छ । त्यसैगरी तीन वा चार औँलाले ट्याप गर्दा नोटिफिकेसन सेन्टर खोल्ने, गीत बजाउने/रोक्ने वा विन्डोज सर्च सुरु गर्ने जस्ता कार्यहरू सेट गर्न सकिन्छ ।

५. ओसीआर (OCR - Optical Character Recognition)

यदि तपाईँले कुनै डकुमेन्ट, रसिद वा फोटोमा भएको टेक्स्टलाई टाइप नगरिकनै कपि गर्न चाहनुभएको छ भने विन्डोजमा रहेको ओसीआर फिचर निकै उपयोगी हुन सक्छ ।

यसका लागि स्निपिङ टुल (Snipping Tool) बाट टेक्स्टको स्क्रिनसट लिएर ओसीआर अप्सनमा क्लिक गर्नुहोस् वा फोटो एपमा कुनै इमेज खोलेर तलपट्टि देखिने टेक्स्ट एक्सन आइकनमा क्लिक गर्नुहोस् । विन्डोजले तुरुन्तै टेक्स्टलाई निकालेर दिन्छ, जसलाई तपाईँ जहाँसुकै पेस्ट गर्न सक्नुहुन्छ । यसले नेपाली, हिन्दी र स्पेनिस जस्ता भाषाहरूमा पनि सपोर्ट गर्छ ।

६. क्लिपबोर्ड हिस्ट्री (Clipboard History)

साधारणतया क्लिपबोर्डले तपाईँले पछिल्लो पटक कपि गरेको कुरा मात्र याद राख्छ । तर विन्डोजको क्लिपबोर्ड हिस्ट्रीले यो समस्या समाधान गर्छ । यसले तपाईँले हालसालै कपि गरेका टेक्स्ट, इमेज र लिङ्कहरूको सूची तयार पारेर राखेको हुन्छ ।

यसलाई अन गर्न Settings > System > Clipboard मा जानुहोस् र क्लिपबोर्ड हिस्ट्रीलाई इनेबल गर्नुहोस् । त्यसपछि Win + V थिच्दा तपाईँले कपि गरेका सबै कुराहरूको सूची देखा पर्छ, जहाँबाट आफूलाई चाहिएको कुरा पेस्ट गर्न सक्नुहुन्छ ।

७. डाइनामिक लक (Dynamic Lock)

डाइनामिक लक विन्डोजको एउटा सानो तर निकै उपयोगी फिचर हो । जसले तपाईँ आफ्नो कम्प्युटरबाट टाढा जाँदा त्यसलाई स्वचालित रूपमा लक गरिदिन्छ।

यसले तपाईँको फोनलाई एउटा रेफ्रेन्स पोइन्टको रूपमा प्रयोग गर्छ । जब तपाईँको फोन ब्लुटुथको रेन्जबाट बाहिर जान्छ, सिस्टमले तपाईँ टाढा गएको अनुमान गर्छ र कम्प्युटरलाई स्वतः लक गरिदिन्छ । यसलाई Settings > Accounts > Sign-in options भित्र गएर सक्रिय गर्न सकिन्छ ।

८. टास्कबार किबोर्ड शर्टकट (Taskbar Keyboard Shortcuts)

टास्कबारमा आफ्नो मनपर्ने एपहरू पिन गर्नु तिनीहरूलाई खोल्ने सबैभन्दा छिटो तरिका हो । तर तपाईँले ती आइकनहरूमा क्लिक नगरीकनै पनि एपहरू खोल्न सक्नुहुन्छ ।

Windows + [1–9] नम्बर की (key) थिच्दा टास्कबारमा रहेका क्रमशः पहिलो, दोस्रो, तेस्रो एप खुल्छन् वा पहिले नै खुलेको भए त्यो अगाडि आउँछ । Shift + Windows + [number key] ले सोही एपको नयाँ विन्डो खोल्छ भने Ctrl + Shift + Windows + [number key] ले त्यसलाई एडमिन प्रिभलेज (admin privileges) सहित खोल्छ ।

 

पछिल्लो अध्यावधिक: असोज ८, २०८२ ११:३४