close

कार्यकर्ताका अश्लील कमेन्टपछि एमाले नेतृ भन्छिन्: दिदीबहिनीलाई भन्न नमिल्ने कुरा अरू कसैलाई नभन्नु

टेकपाना टेकपाना

असोज ८, २०८२ १३:५५

कार्यकर्ताका अश्लील कमेन्टपछि एमाले नेतृ भन्छिन्: दिदीबहिनीलाई भन्न नमिल्ने कुरा अरू कसैलाई नभन्नु

काठमाडौँ । एमाले केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले पार्टीभित्रै महिलामाथि स्त्रीद्वेषी र अश्लील कमेन्ट हुने गरेको बताएकी छिन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत एक पोस्ट गर्दै उनले यस्ता आपत्तिजनक व्यवहार गर्नेहरू पार्टीकै जनवर्गीय संगठनका ‘राम्रै पदासिन’ नेताहरू रहेको दाबी गरिन् ।

“​स्त्रीद्वेशी , अश्लील कमेन्टहरू एमालेका जनवर्गीय संगठनका राम्रै पदासिनहरूले गर्नु भएको देखेको छु । ​तपाँईका दिदी-बहिनी, छोरी वा आफन्तहरूलाई यस्ता कुरा कसैले नलेखोस् , लेखे भने कारबाही होस्,” तिम्सिनाले लेखेकी छन् ।

उनले आफ्नो भनाइसँग असहमत हुनेहरूलाई सभ्य र राजनीतिक भाषामै आफ्ना कुरा राख्न चुनौती दिँदै त्यसको एक-एक जवाफ दिन तयार रहेको बताएकी छिन् । साथै, कारबाही हुनुपर्छ भन्ने लाग्नेहरूलाई पार्टी अनुशासन आयोग र संगठन विभागमा निवेदन दिन आग्रह गर्दै आफू बोलेका प्रत्येक शब्दको भागीदारी हुने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

आफू पनि एक मान्छे, कसैकी बहिनी र कसैकी दिदी भएको उल्लेख गर्दै सबैलाई आफ्नै दिदीबहिनीलाई भन्न नमिल्ने कुरा अरू कसैलाई पनि भन्न नहुने उनको निवेदन छ । 

नेतृ तिम्सिनाले केही महिनायता पार्टी अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्दै आफ्ना धारणा राखिरहेकी छिन् । पार्टीमा फरक मत राख्दा उनी ६ महिनासम्म केन्द्रीय सदस्य पदबाट निलम्बनमा परेकी थिइन् । पछिल्लो पटक जेनजी आन्दोलनमा ओलीले सत्ताको दुरुपयोग गरेको भन्दै तिम्सिना लगायतले ओलीले पार्टी अध्यक्षबाट समेत राजीनामा दिनुपर्ने माग राखेका छन् । 

पार्टीभित्र लोकतन्त्र र महिला अधिकारको वकालत गर्दा ओलीका कट्टर समर्थकहरूबाट अश्लील र स्त्रीद्वेषी कमेन्टको सामना गर्नुपरेको उनको बुझाइ छ ।

आफ्नो पार्टी प्रवेशको औचित्यमाथि प्रश्न उठाउनेहरूलाई जवाफ दिँदै तिम्सिनाले आफू कसैले गाडी किनिदिएर वा अन्य पेसामा सफल भएपछि पद-प्रतिष्ठाका लागि मात्रै राजनीतिमा नआएको तर्क गरिन् । “म पार्टी केन्द्रीय सदस्य कसैलाई गाडी किनिदिएर भएको होइन, अन्य पेसामा सफल भएपछि यसो पद-प्रतिष्ठा चाहिएर यता आइपुगेको पनि होइन,” उनले लेखेकी छन् ।


 

पछिल्लो अध्यावधिक: असोज ८, २०८२ १४:२९