close

मतदाता नामावली सङ्कलन गर्दै निर्वाचन आयोग, यसरी दिनुहोस् प्रि-रजिस्ट्रेसन आवेदन

टेकपाना टेकपाना

असोज ९, २०८२ २१:०

मतदाता नामावली सङ्कलन गर्दै निर्वाचन आयोग, यसरी दिनुहोस् प्रि-रजिस्ट्रेसन आवेदन

काठमाडौँ । निर्वाचन आयोगले आगामी निर्वाचनका लागि मतदाता नामावली सङ्कलन कार्य पुनः सञ्चालन गर्ने निर्णय गरेको छ । आगामी २१ फागुनमा हुने निर्वाचनका लागि ३० कात्तिकसम्म नाम दर्ता गर्न सक्नेगरी आवेदन खुला गरिएको हो ।

यसमा पूर्वमतदाता नामावलीमा नाम दर्ता भएका १६ वर्ष उमेर पूरा गरेका व्यक्तिहरूले आफ्नो नाम दर्ता गर्न सक्नेछन् । यस्तै, विवाह भई अन्यत्र गएका, बसाइँसराइ गरेका मतदाताले ठाउँसारी गर्न सक्ने र नाम तथा अन्य विवरणमा त्रुटि भएमा सच्याउन सक्ने छन् ।

प्रदेश निर्वाचन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा गएर सार्वजनिक बिदा बाहेक बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म नाम दर्ता गर्न सकिने जानकारी दिइएको छ । अनलाइनबाट प्रि-रजिस्ट्रेशन फाराम भरेर प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा जैविक (बायोमेट्रिक) विवरण उपलब्ध गराउनुपर्ने जनाइएको छ ।

यसरी दिनुहोस् प्रि-रजिस्ट्रेशन आवेदन

प्रि-रजिस्ट्रेशनका लागि सबैभन्दा पहिला applyvr.election.gov.np मा जानुहोस् । निर्वाचन आयोगले यो प्रणाली चाँडै नै सुरु गर्ने तयारी गरेको छ । यो प्रणाली सञ्चालनमा आउनासाथ त्यहाँ तपाईँले नयाँ दर्ता र नामावली अद्यावधिकको विकल्प पाउनुहुन्छ ।

यदि आफ्नो मतदाता नामावली विवरण सच्याउनुपर्ने छ भने नामावली अद्यावधिक को विकल्प रोज्नुहोस् । यदि अहिलेसम्म तपाईँले नामावली दर्ता गर्नुभएको छैन भने 'नयाँ दर्ता मा क्लिक गर्नुहोस् ।

अब त्यहाँ गएपछि तपाईँले मोबाइल नम्बर राख्नुपर्ने हुन्छ । मोबाइल नम्बर राखेपछि निर्वाचन आयोगको तर्फबाट ओटीपी प्राप्त गर्नुहुनेछ । अब ओटीपी राखेपछि देब्रेपट्टि देखिएको 'नयाँ दर्ता' मा जानुहोस् ।

त्यहाँ तपाईँले आफ्नो मतदान स्थल, नागरिकताको विवरण, नागरिकताको फोटो, राष्ट्रिय परिचयपत्र नम्बर, बायोमेट्रिक दिने स्थान र मिति छनोट गर्नुपर्ने हुन्छ ।

सबै जानकारी भरेर ‘दर्ता गर्नुहोस्’ मा क्लिक गरेपछि नौ अङ्कको सब्मिशन कोड प्राप्त हुन्छ । सो कोड लिएर सम्पर्क मितिको दिन आफूले उल्लेख गरेको प्रदेश/जिल्ला निर्वाचन कार्यालयमा जानुहोस् र बायोमेट्रिक दिनुहोस् ।

बायोमेट्रिकपछि आयोगले अन्तिम मतदाता नामावली स्वीकृत गरी प्रकाशन गर्नेछ । त्यसपछि आफ्नो मतदाता नामावली निर्वाचन आयोगको वेबसाइटमा हेर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: असोज ९, २०८२ २१:१८