मौसम पूर्वानुमानको खिल्ली उडाएपछि आलोचित ज्योतिषी हरिहर अधिकारीले मागे माफी
असोज १८, २०८२ ११:२९
काठमाडौँ । ज्योतिषी हरिहर अधिकारीले मौसम पूर्वानुमानसम्बन्धी आफ्नो विवादास्पद टिप्पणीका लागि माफी मागेका छन् । जल तथा मौसम विज्ञान विभागको आधिकारिक पूर्वानुमानलाई चुनौती दिँदै ज्योतिषीय आधारमा भविष्यवाणी गरेपछि सामाजिक सञ्जालमा उनी आलोचित बनेका थिए ।
सरकारको मौसम पूर्वानुमान महाशाखाले १८ देखि २० असोजसम्म भारी वर्षा हुने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको थियो । तर, अधिकारीले आफ्नो सामाजिक सञ्जालमा एक पोस्ट लेख्दै विभागको पूर्वानुमानमाथि शंका व्यक्त गरेका थिए ।
उनले लेखेका थिए, “मौसम विभागले भने अनुसार १७ गतेदेखि २० गतेसम्म भारी वर्षा हुने छ... तर अझैसम्मको अवस्थालाई हेर्दा मेरो शंका छ कि वर्षा सामान्य मात्र हुनेछ... ठूलो महा वर्षा, ठूलो क्षति हुने अवस्था देखिँदैन, ढुक्क हुनुहोस् ।”
उनले आफ्नो ज्योतिषीय तर्क प्रस्तुत गर्दै थपेका थिए, “पूर्णिमा आउँदैछ, त्यसैले कुनै ठूलो अनिष्ट हुँदैन ।” साथै उनले मौसम विभागको पूर्वानुमान गलत भए के हुने भन्दै प्रश्नसमेत गरेका थिए ।
वैज्ञानिक विषयलाई ज्योतिष र पूर्णिमा जस्ता आस्थाका विषयसँग जोडेर भ्रम फैलाएको र सरकारी निकायको चेतावनीलाई कमजोर बनाएको भन्दै उनको सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो । प्रयोगकर्ताहरूले उनलाई गैरजिम्मेवार भएको आरोप लगाउँदै ट्रोल गरेका थिए ।
आलोचना चुलिएपछि अधिकारीले आफ्नो पुरानो पोस्ट हटाएर नयाँ पोस्टमार्फत माफी मागेका छन् । उनले लेखेका छन्, “मौसम सम्बन्धी हिजो लेखिएको कुराप्रति क्षमाप्रार्थी छु । सबै जना आफ्ना-आफ्ना स्थानमा सुरक्षित रहनुहोस् ।”
उनले सुरुमा माफी मागेको स्टाटसमा “देशमा ठुलो अनिष्ट हुने योग अहिले मैले देखेको छैन” भन्ने वाक्यांश पनि लेखेका थिए । तर पछि त्यसलाई हटाएका थिए ।
पछिल्लो अध्यावधिक: असोज १८, २०८२ १२:२२
