close

काठमाडौँमा डुबानको खतरा, आपतकालीन सेवाका लागि महानगरको हेल्पलाइन सेवा सुरु

टेकपाना टेकपाना

असोज १८, २०८२ १२:३७

काठमाडौँमा डुबानको खतरा, आपतकालीन सेवाका लागि महानगरको हेल्पलाइन सेवा सुरु

काठमाडौँ । गए रातिदेखि परेको अविरल वर्षाका कारण काठमाडौँका विभिन्न स्थानमा नदी कटान र सडक भासिने क्रम बढेको छ । विशेषगरी, सोल्टी मोडको पश्चिमतर्फ हनुमन्ते खोला (करखुसी खोला) नजिकको सडक भासिएको छ । जसले गर्दा छेउछाउका घरहरू जोखिममा परेका छन् । यसैबिच काठमाडौँ महानगरपालिकाका प्रतिनिधिहरूले सम्भावित जोखिमयुक्त स्थानहरूको अवलोकन गरिरहेका छन् ।

शनिबार बिहान करिब ९ बजे काठमाडौँ महानगरपालिका-१४ कोहिनुर हाउजिङ नजिकै करखुसी खोलाको किनारमा पहिरो जाँदा सडकको ठुलो भाग भासिएको छ । खोलाले घर नजिकै करिब पाँच फिट मात्र दूरी छाडेकाले थप क्षति हुन सक्ने खतरा बढेको छ ।

हाल महानगर प्रहरी बल र विपद् व्यवस्थापन विभागको समन्वयमा उक्त स्थानमा थप क्षति रोक्नका लागि बोरा र ग्राभेल प्रयोग गरी नदी कटान रोकथाम गर्ने प्रयास भइरहेको महानगरपालिकाले जनाएको छ ।

यदि कुनै बस्तीमा डुबानको समस्या उत्पन्न भएमा प्रभावित परिवारलाई नजिकैको सुरक्षित विद्यालयमा सार्ने महानगरको तयारी छ । महानगरले जोखिमयुक्त बस्तीका बासिन्दाहरूलाई उच्च सावधानी अपनाउन र सतर्क रहन विशेष अनुरोध गरेको छ ।

कुनै पनि विपद्जन्य समस्याका लागि तत्काल सम्पर्क गर्न सकिने हेल्पलाइन नम्बरहरू पनि महानगरपालिकाले सार्वजनिक गरेको छ । सर्वसाधारणले १६६००१०५५११, ०१५-९०१७६४, र ०१५९०१७६३ (केएमसी प्रहरी) मा सम्पर्क गरी जानकारी गराउन सक्नेछन् । महानगरपालिकाले महानगरवासीलाई सुरक्षित रहन र सतर्क रहन आग्रह गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज १८, २०८२ १४:४