close

काठमाडौँ उपत्यकामा निजी हेलिकोप्टरले निःशुल्क उद्धार सेवा दिने

टेकपाना टेकपाना

असोज १८, २०८२ २०:३४

एआई सिर्जित तस्बिर एआई सिर्जित तस्बिर

काठमाडौँ । वायुसेवा सञ्चालक संघ, नेपालले काठमाडौँ उपत्यकाभित्र हुने विपद्जन्य घटनामा निःशुल्क उद्धार सेवा उपलब्ध गराउने घोषणा गरेको छ । सरकारले हेलिकप्टर कम्पनीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएलगत्तै संघले यस्तो प्रतिबद्धता व्यक्त गरेको हो ।

वायुसेवा सञ्चालक संघका अध्यक्ष मनोज कार्कीले एक विज्ञप्ति जारी गर्दै संघमा आबद्ध हेलिकप्टर कम्पनीहरू उद्धार कार्यका लागि तयारी अवस्थामा रहेको जानकारी गराएका छन् । विज्ञप्तिमा भनिएको छ, “हाल देशका अधिकांश स्थानहरूमा अत्यधिक रुपमा वर्षा भइरहेको र वर्षातका कारण देशका विभिन्न भू-भागहरुमा बाढीपहिरो जस्ता विपद्जन्य अवस्थामा परेका आमनागरिकको उद्धार कार्यको लागि संघमा आबद्ध हेलिकप्टर कम्पनीहरू तयारी अवस्थामा रहेका व्यहोरा जानकारी गराउँदछौं ।”

संघले उद्धार कार्यको समन्वयलाई प्रभावकारी बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई समन्वय अधिकारी तोक्न समेत आग्रह गरेको छ । अध्यक्ष कार्कीले प्राधिकरणद्वारा तोकिने समन्वय अधिकारीको निर्देशन बमोजिम उद्धार कार्य गर्ने व्यहोरा समेत उक्त पत्रमार्फत जानकारी गराएका छन् ।

 

पछिल्लो अध्यावधिक: असोज १८, २०८२ २०:४१