नेपालबाट फुटबल विश्वकप हेर्ने शुल्क गत सिजनभन्दा झन्डै दोब्बरले महँगो, भारतभन्दा १४ गुणा बढी !
जेठ २४, २०८३ २१:५३
काठमाडौँ । आउँदो बिहीबारदेखि फुटबलको महाकुम्भ ‘फिफा विश्वकप २०२६’ सुरु हुँदैछ । तर त्यसको प्रत्यक्ष प्रसारण हेर्ने शुल्क भने नेपालमा गत सिजनको तुलनामा झन्डै दोब्बरले बढेको छ । सन् २०२२ मा करसहित ५६५ रुपैयाँमा हेर्न पाएका नेपाली फुटबलप्रेमीले यस पटक ९९९ रुपैयाँ तिर्नुपर्ने भएको हो ।
सन् २०२२ को विश्वकपका लागि मिडिया हब प्रालिले भारतको भायकमसँग २० करोड २५ लाख रुपैयाँमा नेपालका लागि प्रसारण अधिकार खरिद गरेको थियो । उक्त कम्पनीका कार्यकारी निर्देशक सोम धिताल हुन् । उनकै अर्को कम्पनी एसप्रो मिडिया प्रालिले यस पटक फिफाबाट सोझै नेपालका लागि विशेष (एक्सक्लुसिभ) प्रसारण अधिकार खरिद गरेको छ ।
नेपालमा यस पटक विश्वकपको प्रसारण अधिकार पाएको एसप्रो मिडियाले टेलिभिजनका लागि हिमालय स्पोर्ट्स् र डिजिटल प्लेटफर्मका लागि डीगो एपसँग सहकार्य गरेको छ । यससँगै दर्शकका लागि तय गरिएको नयाँ शुल्कलाई चार वर्षअघि सम्पन्न कतार विश्वकप २०२२ को शुल्कसँग तुलना गरेर हेर्न थालिएको छ ।
चार वर्षअघि २०२२ को कतार विश्वकपका दौरान नेपालमा आधिकारिक रूपमा टेलिभिजनमा मात्र विश्वकप देखाउने व्यवस्था गरिएको थियो । तर, यस पटकको २०२६ विश्वकपका लागि शुल्क वृद्धि भई टेलिभिजनमा ९९९ रुपैयाँ पुर्याइएको छ । मोबाइल तथा डिजिटल माध्यममा खेल हेर्नका लागि दुई वटा विकल्प छन्; एउटा डिभाइसमा मात्र हेर्न ५४९ रुपैयाँ र दुई वटा डिभाइसमा (एक फोन र एक वेबसाइट) हेर्नका लागि ९९९ रुपैयाँ तोकिएको छ ।
चार वर्षको अन्तरालमा भएको यो मूल्य वृद्धिलाई लिएर दर्शकमा गुनासो बढिरहँदा सञ्चालकले भने बजारको बदलिँदो परिस्थितिलाई यसको मुख्य कारक देखाउन खोजेका छन् । नेपालमा चार वर्षअघिको तुलनामा शुल्क बढ्नुको मुख्य कारण प्रसारण लागतमा भएको वृद्धि रहेको प्रसारक पक्षको भनाइ छ । एसप्रो मिडियाका अध्यक्ष सोम धितालका अनुसार यस वर्षको विश्वकपका लागि रोयल्टी खरिद र प्रविधि व्यवस्थापनमा करिब ४५ देखि ५० करोड रुपैयाँ खर्च भएको छ ।
“सन् २०२२ को विश्वकपमा हामीले ५६५ रुपैयाँमा सबै खेल देखाएका थियौँ,” धितालले भने, “यस पटक टोलीहरूको सङ्ख्या बढी छ अनि खेल पनि बढी नै छन् र डलरको भाउ पनि बढेको छ । पछिल्लो समय विश्व राजनीतिका कारण हामीले प्रयोग गर्ने प्रविधिको शुल्क समेत बढेकाले ९९९ रुपैयाँ शुल्क कायम गर्नु परेको हो ।”
अहिले डलरको भाउ बढेर झन्डै १५३ देखि १५४ रुपैयाँ पुगिसकेकाले विदेश पठाउनुपर्ने रकममा ठुलो अन्तर आएको उनले जानकारी दिए । भारतको तुलनामा नेपालमा शुल्क बढी देखिनुमा बजारको आकार र विज्ञापन सङ्कलनको भिन्नता मुख्य कारण रहेको बताइएको छ ।
उता छिमेकी देश भारतको बजार मूल्यसँग सरसर्ती तुलना गर्दा नेपालमा तय गरिएको मूल्य टेलिभिजनका लागि कम्तीमा १४ गुणा महँगो छ भने ओटीटीमा केही सस्तो हुने देखिन्छ । भारतमा जी इन्टरटेन्मेन्टले ‘युनाइटेड८ स्पोर्ट्स’ टेलिभिजन च्यानल मार्फत मासिक न्यूनतम ७ देखि ११ भारु (११.२० देखि १७.६० नेरु) मा टेलिभिजनमा विश्वकप प्रसारण गर्दैछ ।
यद्यपि टेलिभिजन सेवा प्रदायकले आफ्नो अनुकूलतामा प्रत्येक ग्राहकबाट थप रकम लिन सक्ने बताइएको छ । भारतीय सञ्चारमाध्यम फाइनान्सियल एक्सप्रेसका अनुसार यो रकम उपभोक्तासम्म पुग्दा करसहित ४० देखि ४५ भारुसम्म (६४ देखि ७२ नेरु) हुन सक्छ ।
त्यस्तै, भारतमा ओटीटी प्लेटफर्म जी-फाइभ मार्फत समेत विश्वकपका खेलको प्रत्यक्ष प्रसारण हुनेछ । यसका लागि दुईवटा सब्स्क्रिप्सन प्लान सार्वजनिक भएका छन् । पहिलो प्लान अन्तर्गत दर्शकले तीन महिनाका लागि एकमुष्ट ७९९ भारु (१२७८ रुपैयाँ) तिर्नुपर्ने हुन्छ । यो शुल्क तिरेपछि सो प्लेटफर्मका अन्य सामग्री हेर्न सकिने भए तापनि बीच-बीचमा विज्ञापन भने हेर्नुपर्ने हुन्छ ।
त्यस्तै, अर्को ‘प्रिमियम एन्युअल प्लान’ (वार्षिक योजना) को शुल्क १,६९९ भारु (२,७१८.४० नेरु) तोकिएको छ । यो सब्स्क्रिप्सन लिएपछि ग्राहकले फोरके अल्ट्रा एचडी र डल्बी एटमसको सुविधा पाउनुका साथै प्रिमियम लाइब्रेरीमा पनि पहुँच पाउनेछन्। साथै, यस योजना अन्तर्गत एकै पटक चारवटा डिभाइसमा स्ट्रिम गर्न सकिन्छ ।
छिमेकी राष्ट्र भारतको बजारसँग तुलना गर्दा नेपालको शुल्क महँगो देखिए पनि त्यहाँको बजारको आकार फरक रहेको प्रसारकको तर्क छ । भारतको ठुलो जनसङ्ख्या र अर्बौँ रुपैयाँको विज्ञापन बजार भएकाले न्यूनतम शुल्कमा पनि लगानी उठाउन सम्भव हुन्छ ।
नेपालको बजारबारे स्पष्ट पार्दै धितालले भने, “हाम्रो विज्ञापन बजार निकै सानो छ । कूल ५ देखि ८ करोड रुपैयाँभन्दा बढीको विज्ञापन बजार देखिँदैन । यहाँ विज्ञापनको अवस्था निराशाजनक रहेकाले नाफा कमाउनेभन्दा पनि न्यूनतम लागत उठोस् र नेपाली दर्शकले फुटबल हेर्न पाऊन् भन्ने हाम्रो ध्येय हो ।” उनले घरेलु फ्रेन्चाइज नेपाल प्रिमियर लिग (एनपीएल) को प्रसारण शुल्क ३०० रुपैयाँ तोकिएको सन्दर्भमा विश्वकपको यो शुल्क बढी नभएको तर्क गरे ।
नेपालमा आलाकार्टा प्रणाली सुरु भएको सन्दर्भमा उपभोक्ता हितलाई आधार मानेर सामाजिक सञ्जाल प्रयोगकर्ताले आफ्नो धारणा राखिरहेका छन् । खासगरी विदेशी (भारतीय) च्यानलका लागि पहिले नै शुल्क बुझाइसकेको अवस्थामा विश्वकपका लागि छुट्टै शुल्क उठाउनु उपभोक्ताको हितमा नभएको उनीहरूको तर्क छ ।
तर, भारतमा जी इन्टरटेन्मेन्टले ल्याएको नयाँ टेलिभिजन च्यानल युनाइट-८ स्पोर्ट्स् भने हाल नेपालमा उपलब्ध च्यानलहरूको सूचीमा पर्दैन । यदि यसअघिदेखि नै नेपालमा प्रशारण भइरहेका कुनै भारतीय च्यानलमा विश्वकप लाइभ आउने भइदिएको भए सन्दर्भ अर्कै हुने थियो ।
समूह चरणका खेललाई लिएर पनि दर्शकमा अन्योलता रहेको पाइएको छ । यसलाई प्रष्ट पार्दै अध्यक्ष धितालले भने, “ग्रुप स्टेजमा चार दिन दुई वटा खेल सँगसँगै हुने छन् । डीगो एपमा मिलिहाल्छ । टेलिभिजनको सन्दर्भमा भने केही खेल हामी निःशुल्क हिमालय टेलिभिजनबाट देखाउन सक्छौँ । अरू खेल हिमालय स्पोर्ट्स च्यानलमै आउँछन् ।”
पछिल्लो अध्यावधिक: जेठ २४, २०८३ २१:५४
