काठमाडौँ । अविरल वर्षाका कारण आएको बाढी र पहिरोले देशभरका विभिन्न प्रमुख सडक खण्डहरू अवरुद्ध भएका छन् । ट्राफिक प्रहरीले दिएको जानकारी अनुसार भक्तपुर, काठमाडौँ, ललितपुर, धादिङ, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, इलाम, संखुवासभा र रसुवाका मुख्य मार्गहरूमा सवारी आवागमन पूर्णरुपमा बन्द भएको छ ।
जल तथा मौसम विज्ञान विभागले असोज २० गतेसम्म भारी तथा अति भारी वर्षाको पूर्वानुमान गरेसँगै सम्भावित जोखिमलाई मध्यनजर गर्दै काठमाडौँ उपत्यकाबाट बाहिरिने र भित्रिने लामो दुरीका सवारीसाधनहरू बन्द गरिएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुहरूको सुरक्षाका लागि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट चल्ने लामो दुरीका सवारीसाधनका साथै उपत्यका भित्रिने/बाहिरिने सवारीसाधनको आवतजावत बन्द गरेको हो । साथै, मौसम अनुकूल नभएसम्मका लागि काठमाडौँ उपत्यकामै रहन सवारी चालक तथा यात्रुलाई अनुरोध गरिएको छ ।
अवरुद्ध प्रमुख सडकखण्डहरू:
-
भक्तपुर: सूर्यविनायक नगरपालिका ९ साँगास्थित झोलुङ्गे पुल नजिकै खसेको पहिरोले आवागमन बन्द ।
-
काठमाडौँ: सीतापाइला-धार्के सडकखण्ड अन्तर्गत नागार्जुन नगरपालिका ८ ठुलो खोलामा पहिरोका कारण सवारी अवरुद्ध ।
-
ललितपुर: कान्तिलोकपथ अन्तर्गत बागमती गाउँपालिका ३ टाकुचे र टिकाभैरवमा पहिरो खसेकाले आवातजावत ठप्प ।
-
धादिङ: पृथ्वी राजमार्ग अन्तर्गत बेनीघाट रोराङ गाउँपालिका ९ ज्यामिरेमा पहिरो खसेर सवारी आवागमन पूर्णरूपमा बन्द ।
-
चितवन: नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका ५ तुइन खोला पुल नजिकैको पहिरोले अवरुद्ध ।
-
मकवानपुर: इन्द्रसरोवर गाउँपालिका ३ सिस्नेरी बजारस्थित कुलेखानी सिस्नेरी दक्षिणकाली-काठमाडौँ सडकखण्डको डोडारे खोला पुलमा बाढी र हुमाने-फाखेल सडक खण्डमा विभिन्न स्थानमा पहिरोले आवागमन अवरुद्ध ।
-
काभ्रेपलाञ्चोक: बि.पि. राजमार्गमा पर्ने रोशी गाउँपालिका ११ माम्तीखोला र बुलढुंगामा पहिरो तथा मंगलटार खोलामा बाढीले सडक कटान गर्दा सवारी आवागमन रोकिएको ।
-
हेटौंडा-भैसे-नौबिसे सडक: अविरल वर्षाका कारण विभिन्न क्षेत्रमा खसेको पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध ।
-
सिन्धुपाल्चोक: अरनिको राजमार्ग अन्तर्गत भोटेकोशी गाउँपालिका ४ चारकिलोमा सडक भासिँदा तथा धुलिखेल खावा र ५४ किलोमा गएको पहिरोका कारण आवातजावत बन्द ।
-
इलाम: मेची करिडोर अन्तर्गत इलाम नगरपालिका-११ बेलासेमा माइखोला पुल क्षतिग्रस्त भएर सवारी आवागमन अवरुद्ध ।
-
संखुवासभा: कोशी राजमार्गमा पर्ने मकालु गाउँपालिका ३ एकुवा र भोटखोला गाउँपालिका ४ बरूणमा खसेको पहिरोका कारण सवारी साधन चल्न सकेका छैनन् ।
-
रसुवा: पासाङल्हामु राजमार्गमा पर्ने गोसाइकुण्ड गाउँपालिका २ स्थित घट्टेखोला, बालुवाखानी र तातोपानीमा पहिरोका कारण सवारी साधन चल्न सकेका छैनन् । साथै, गत असार २४ गते आएको बाढीले नेपाल र चीन नाका जोड्ने मितेरी पुलमा क्षति पुर्याएकाले सवारी आवागमन अवरुद्ध छ ।
यसैबिच, काठमाडौँ उपत्यकाभित्रको सवारी आवागमन भने सामान्य रहेको ट्राफिक प्रहरीले जनाएको छ । यात्रु तथा सवारी चालकहरूलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न र सुरक्षित रहनका लागि विशेष अनुरोध गरिएको छ ।
पछिल्लो अध्यावधिक: असोज १९, २०८२ ८:३२
