काठमाडौँ । एलन मस्कको कम्पनी टेस्लाले आफ्नो साइबरट्रक कतारमा बिक्री सुरु गरेको छ । कम्पनीले शुक्रबार एक्समा पोस्ट गर्दै यो जानकारी दिएको हो । यसअघि यस वर्षको सुरुवातमा टेस्ला साउदी अरेबियामा आधिकारिक रूपमा प्रवेश गरेको थियो ।
अमेरिकी र चिनियाँ बजारमा माग सुस्तिँदै जाँदा र प्रतिस्पर्धा तीव्र हुँदै जाँदा टेस्लाले अन्तर्राष्ट्रिय विस्तारलाई थप गति दिएको संकेत गरेको छ ।
टेस्लाले गत अप्रिलमा साउदी अरेबियामा साइबरट्रक र मोडेल–वाई सार्वजनिक गरेको थियो । त्यतिबेला कम्पनीले अनलाइन अर्डर, भौतिक शोरुम, सुपरचार्जर स्टेसन र सेवा केन्द्रमार्फत क्षेत्रीय बिक्रीलाई बढाउने गर्ने घोषणा गरेको थियो ।
टेस्ला पहिलोपटक २०१७ मा संयुक्त अरब इमिरेट्स (यूएई) बाट मध्यपूर्वमा प्रवेश गरेको थियो । अब कतारमा पनि टेस्लाको साइबरट्रक आधिकारिक रुपमा बिक्री सुरु भएको हो ।
कम्पनीले साइबरट्रकको क्षेत्रगत बिक्रीको आँकडा छुट्याएर सार्वजनिक गरेको छैन । तर गत मार्चमा अमेरिकी नियामकमा दर्ता गरिएको रिपोर्टअनुसार नोभेम्बर २०२३ देखि यस वर्षको सुरुवातसम्म करिब ४६ हजारभन्दा बढी साइबरट्रक उत्पादन भएको देखिन्छ ।
मध्यपूर्वमा टेस्लालाई चिनियाँ कम्पनी बीवाईडी, जिकर, दिपल र अमेरिकी प्रतिस्पर्धी लुसिडबाट कडा चुनौती रहने देखिन्छ । लुसिडलाई साउदी सार्वजनिक लगानी कोषले सहयोग गर्दै आएको छ ।
पछिल्लो अध्यावधिक: असोज १९, २०८२ १५:२५
