सीप मेला २०८२ मा सीप सिक्न चाहनेका लागि काठमाडौँ महानगरपालिकाले खुलायो अनलाइन आवेदन
असोज २१, २०८२ १४:४७
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी सीप मेला २०८२ मा सहभागिता जनाउनका लागि अनलाइन आवेदन मागेको छ । महानगरले १२ असोजमा पहिलो पटक सूचना जारी गर्दै चालु आर्थिक वर्ष २०८२/८३ को स्वीकृत नीति तथा कार्यक्रम अन्तर्गत विभिन्न सीपमूलक तथा व्यावसायिक तालिमहरूमा सहभागी हुन आह्वान गरेको हो ।
महानगरको सामाजिक विकास विभागका अनुसार काठमाडौँमा अस्थायी बसोबास गर्ने व्यक्तिहरूले पनि फारम भर्न सक्नेछन् । तर तालिमका लागि भने महानगरका स्थायी बासिन्दालाई प्राथमिकतामा राखिने बताइएको छ ।
यस्तै सीप मेलामा १८ वर्षदेखि ५८ वर्ष उमेरसम्मका व्यक्तिहरूले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि बुझाएर फारम भर्न सक्नेछन् । काठमाडौँ महानगर क्षेत्रभित्र बसाइँसराई गरी आएको भए सो को प्रमाण पत्रको प्रतिलिपि समावेश गर्नुपर्ने जनाइएको छ । यहाँ क्लिक गरेर आवेदन फारम भर्न सक्नु हुनेछ ।
सीप मेला २०८१ मा तालिम लिन फारम भरेका तर अवसर नपाएका व्यक्तिले भने नयाँ फारम भर्न नपर्ने र पुरानै फारमबाट छनोट गरिने बताइएको छ । आवेदनबाट छनोट भएका व्यक्तिहरूले आफ्नो रुचिअनुसार छनोट गरेको विभिन्न क्षेत्रका सीपहरू सिक्न सक्नेछन् । महानगरले डिजिटल मार्केटिङ, एआई, रोबोटिक्स र आईओटी, मल्टिमिडिया, प्रोग्रामिङ, सीसीटीभी, मोबाइल, ल्यापटप, ईभी मर्मत लगायत विभिन्न सीपहरू सिकाउने जनाएको छ ।
पछिल्लो अध्यावधिक: असोज २१, २०८२ १४:४७
