अमेरिकी सरकार बन्दको प्रभाव: नासाका १५ हजार कर्मचारी बिदामा, आर्टेमिस र मंगल ग्रह मिसन ठप्प
असोज २२, २०८२ १०:३७
काठमाडौँ । अमेरिकी सरकारमा बजेट सम्झौता हुन नसक्दा विगत एक सातादेखि जारी सरकारी बन्द (Goverment Shutdown) ले अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको काम ठप्प भएको छ । बन्दका कारण नासाका १५ हजारभन्दा बढी कर्मचारीलाई बेतलबी बिदामा पठाइएको छ भने आर्टेमिस र मंगल ग्रह अन्वेषण जस्ता महत्त्वपूर्ण परियोजना रोकिएका छन् ।
अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) मा रहेका अन्तरिक्षयात्रीको सुरक्षा र स्टेसनको सञ्चालन सुनिश्चित गर्नका लागि अत्यावश्यक कर्मचारीले काम जारी राखेको विभिन्न अमेरिकी सञ्चार माध्यमले जनाएका छन् । नासाको आकस्मिक योजना अनुसार मानव जीवन र बहुमूल्य सम्पत्तिमा खतरा नआओस् भन्नका लागि अत्यावश्यक मानिएका कामलाई मात्र सञ्चालनको अनुमति दिइएको छ ।
यहीअन्तर्गत ह्युस्टनस्थित मिसन कन्ट्रोलका मुख्य कर्मचारीले आईएसएसको निरन्तर निगरानी, व्यवस्थापन र अन्तर्राष्ट्रिय साझेदारसँगको समन्वय गरिरहेका छन् । कोष पुनर्स्थापना नभएसम्म उनीहरूले तलब पाउने छैनन् । तर, अन्तरिक्षयात्रीको सुरक्षामा उनीहरूको भूमिकालाई महत्त्वपूर्ण मानिएको छ ।
सरकारी बन्दसँगै नासाका सम्पूर्ण गैर-आवश्यक गतिविधिमा रोक लगाइएको छ । ३० सेप्टेम्बर यता नासाले आफ्नो आधिकारिक वेबसाइट अपडेट गरेको छैन । नासाका सामाजिक सञ्जालमा पनि १ अक्टोबरपछि कुनै पोस्ट वा जानकारी आएको छैन । नासाको वेबसाइटमा अहिले ‘सरकारी बजेट अभावका कारण नासा हाल बन्द छ । थप जानकारीका लागि कर्मचारीले nasa.gov/shutdown हेर्न सक्नुहुन्छ ।’ भन्ने मेसेज देख्न सकिन्छ ।
यसका साथै अधिकांश वैज्ञानिक अनुसन्धान, नयाँ मिसनको विकास, शैक्षिक कार्यक्रम र आर्टेमिस चन्द्रमा कार्यक्रम जस्ता महत्वाकांक्षी योजना हाललाई स्थगित गरिएका छन् ।
आईएसएसको सञ्चालन नासा र रुसको रोस्कोसमोस, युरोपेली अन्तरिक्ष एजेन्सी (ईएसए), जापानको जाक्सा (JAXA) र क्यानडाको सीएसएबिचको साझेदारीमा निर्भर छ । यी अन्तर्राष्ट्रिय साझेदारको निरन्तर सहयोगले गर्दा बन्दको समयमा पनि स्टेसनको आधारभूत सञ्चालनमा निरन्तरता सम्भव भएको हो । तर, वाशिङ्गटनमा जारी राजनीतिक गतिरोध समाधान नभएसम्म नासाका अधिकांश वैज्ञानिक र इन्जिनियर काममा फर्कन पाउने छैनन् । यसले गर्दा अमेरिकी अन्तरिक्ष कार्यक्रमको समग्र प्रगतिमा बाधा पुगेको छ ।
पछिल्लो अध्यावधिक: असोज २२, २०८२ १०:३७
