close

उत्तर कोरियाली ह्याकरले चोरे झन्डै ३ खर्ब मूल्यको क्रिप्टो, आणविक हतियारमा खर्च हुने आशंका

टेकपाना टेकपाना

असोज २२, २०८२ १४:०

उत्तर कोरियाली ह्याकरले चोरे झन्डै ३ खर्ब मूल्यको क्रिप्टो, आणविक हतियारमा खर्च हुने आशंका

काठमाडौँ । उत्तर कोरियाका लागि काम गर्ने ह्याकरले सन् २०२५ मा मात्रै दुई अर्ब अमेरिकी डलर (करिब दुई खर्ब ८५ अर्ब रुपैयाँ)भन्दा बढीको क्रिप्टोकरेन्सी चोरेको एक अध्ययनले देखाएको छ । ब्लकचेन विश्लेषण गर्ने कम्पनी ‘एलिप्टिक’ले मङ्गलबार एक रिपोर्ट सार्वजनिक गर्दै यस्तो तथ्य खुलासा गरेको हो । 

यो एकै वर्षमा उत्तर कोरियाली ह्याकरले चोरेको अहिलेसम्मकै सबैभन्दा ठुलो रकम भएको बताइएको छ । एलिप्टिकका अनुसार यो वर्ष सकिन अझै तीन महिना बाँकी छँदा नै कीर्तिमान तोडिएको हो । 

यसअघि सन् २०२२ मा उनीहरूले एक अर्ब ३५ करोड डलर बराबरको क्रिप्टो चोरेका थिए । सन् २०१७ देखि हालसम्म उत्तर कोरियाले कम्तीमा छ अर्ब डलरको क्रिप्टो चोरेको अनुमान छ । तर वास्तविक आँकडा योभन्दा पनि बढी हुन सक्ने रिपोर्टमा उल्लेख छ ।

“साइबर चोरीलाई उत्तर कोरियासँग जोड्नु पूर्ण रूपमा वैज्ञानिक नहुने र कतिपय चोरीका घटना रिपोर्ट नै नहुने हुँदा वास्तविक रकम अझै धेरै हुन सक्छ,” एलिप्टिकले आफ्नो ब्लग पोस्टमा भनेको छ ।

अध्ययनले ह्याकरको रणनीतिमा आएको परिवर्तनलाई पनि उजागर गरेको छ । पहिले क्रिप्टो एक्सचेन्जलाई मुख्य निशाना बनाउने ह्याकरले अब ठुलो मात्रामा क्रिप्टो भएका ‘धनी व्यक्ति’लाई पनि निशाना बनाउन थालेका छन् ।

ह्याकिङको तरिकामा पनि परिवर्तन आएको छ । पहिले प्राविधिक कमजोरीको फाइदा उठाएर चोरी गरिन्थ्यो भने अहिले ‘सोसल इन्जिनियरिङ’ मार्फत व्यक्तिलाई धोका दिएर वा झुक्याएर उनीहरूको क्रिप्टोमा पहुँच बनाउने क्रम बढेको छ । “यसले क्रिप्टो सुरक्षामा प्राविधिकभन्दा पनि मानवीय पक्ष कमजोर बन्दै गएको देखाउँछ,” रिपोर्टमा भनिएको छ ।

उत्तर कोरियाली नेता किम जोङ उनको शासनले यो चोरीको रकम आफ्नो आणविक हतियार कार्यक्रममा लगानी गर्ने गरेको संयुक्त राष्ट्रसंघको आशंका छ । एलिप्टिकको यो तथ्याङ्क अन्य अन्तर्राष्ट्रिय संस्थाको अनुमानसँग पनि मेल खाएको टेकक्रन्चले उल्लेख गरेको छ । 

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले सन् २०१७ देखि २०२३ सम्ममा उत्तर कोरियाली ह्याकरले तीन अर्ब डलर चोरेको अनुमान गरेको थियो ।

यो वर्षको कीर्तिमानी चोरीमा क्रिप्टो एक्सचेन्ज ‘बाइबिट’ (Bybit) बाट भएको १.४ अर्ब डलरभन्दा बढीको चोरी मुख्य कारण हो । अमेरिकी अनुसन्धान ब्युरो (एफबीआई) ले उक्त चोरीमा उत्तर कोरियाको संलग्नता रहेको बताएको छ ।

यसअघि पनि उत्तर कोरियाली ह्याकर समूहले प्ले-टु-अर्न गेम ‘एक्सी इन्फिनिटी’बाट सन् २०२२ मा ६२ करोड ५० लाख डलर र क्रिप्टो एक्सचेन्ज ‘वजिरएक्स’ (WazirX) बाट यसै वर्ष २३ करोड ५० लाख डलर चोरेका थिए ।

पछिल्लो अध्यावधिक: असोज २२, २०८२ १४:०