काठमाडौँ । हमासको अपहरणमा परी गाजापट्टीमा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको भिडिओ फुटेज सार्वजनिक गर्ने तयारी भएको छ । बन्धक परिवार फोरम (होस्टेजेज एन्ड मिसिङ फ्यामिलिज फोरम) ले बुधबार एक वक्तव्यमार्फत आज बेलुकी उक्त फुटेज सार्वजनिक हुने जानकारी दिएको हो ।
इजरायली अनलाइन मिडिया ‘टाइम्स अफ इजरायल’ लगायतका विभिन्न माध्यमले परिवारको अनुमतिपछि आज नै विपिनको स्थिर तस्बिर सार्वजनिक गरेका छन् । उक्त तस्बिर विपिनको अपहरणपछिका केही हप्तामा खिचिएको करिब ३० सेकेन्डको भिडिओबाट लिइएको बताइएको छ । यही फुटेज आज इजरायली समय अनुसार बेलुका ७:५५ बजे (नेपाली समय अनुसार बेलुका करिब १०:४० बजे) जोशीको परिवारले सार्वजनिक गर्ने बताइएको छ ।
“आज हामी तपाईंहरूसँग साझा गर्दै गरेको गाजामा भेटिएको जीवनको संकेतले उनी जीवित रहेको हाम्रो दृढ विश्वासलाई अझ प्रबल बनाएको छ,” जोशी परिवारले फोरममार्फत जारी गरेको वक्तव्यमा उल्लेख छ ।
फोरमका अनुसार उक्त फुटेज इजरायली सेनाले प्राप्त गरी गुप्तचर अधिकारीमार्फत जोशीको परिवारलाई देखाएको थियो । जुन सन् २०२३ नोभेम्बर महिनामा खिचिएको अनुमान छ । विपिनको पछिल्लो अवस्था भने अज्ञात छ ।
कञ्चनपुरका विपिन ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषिसम्बन्धी अध्ययनका लागि इजरायल पुगेका थिए । सन् २०२३ अक्टोबर ७ मा हमास नेतृत्वको आक्रमणका क्रममा उनी अपहरणमा परेका थिए ।
विपिनलाई रिहा गर्न दबाब दिनका लागि उनकी आमा र बहिनी पुष्पा इजरायल र अमेरिका पुगिसकेका छन् । इजरायलमा उनीहरूले राष्ट्रपति, संसद्का अध्यक्ष लगायतलाई भेटेका थिए । तेल अविभस्थित ‘होस्टेज स्क्वायर’ मा विपिनको रिहाइको माग गर्दै बहिनी पुष्पाले सम्बोधन समेत गरेकी थिइन् ।
यस्तै केही दिनअघि उनीहरूले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा पुगेर महासचिव एन्टोनियो गुटेरेससँग भेट गरी विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए ।
This evening, the family of Bipin Joshi will release footage recovered by the IDF and shared with them by intelligence officials.
— Bring Them Home Now (@bringhomenow) October 8, 2025
The video, estimated to have been filmed in November 2023, shows Bipin in Hamas captivity. Bipin, a Nepali agricultural student, was taken captive… pic.twitter.com/9oKjWwR1bf
पछिल्लो अध्यावधिक: असोज २२, २०८२ १९:१९
